किन रिसाए रोनाल्डो?
काठमाडौंः पोर्चुगिस् कप्तान क्रिष्टियानो रोनाल्डो रियल मड्रिडका स्टार खेलाडी हुन्। क्लबमा सवैभन्दा धेरै पारिश्रमिक बुझ्ने रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता पनि हुन्। त्यतिमात्रै होइन, रोनाल्डोले लगातार ११ सिजन लिगमा २० भन्दा बढी गोल गर्दै आएका छन्। रियल मड्रिड आए यता नै उनले लगातार सात सिजन ला लिगामा २० भन्दा बढी गोल गरेका छन्। यो सिजन पनि रोनाल्डोले अहिलेसम्म १९ गोल गरिसकेका छन्।
शनिबार राति ला लिगा अन्तर्गत एथ्लेटिक विल्बाओ क्लबसँग भएको खेलमा रोनाल्डो दुई गोलका लागि अबसर मिलाइदिएका थिए। एथ्लेटिकलाई २–१ गोल अन्तरले पराजित गर्ने क्रममा रोनाल्डोले खेलको २५ औं मिनेटमा करिम बेन्जिमा र ६८ औं मिनेटमा कासिमिरोलाई गोलका लागि पास उपलब्ध गराएका थिए। केही गोल गर्ने मौकाबाट चुकेपनि रोनाल्डोले एथ्लेटिक क्लबविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए।
तर, खेलको ७९ औं मिनेटमा प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई मैदानबाट बाहिर निकाले। उनको स्थानमा प्रशिक्षक जिदानले इस्कोलाई मैदान छिराएपछि रोनाल्डो निराश मुद्रामा मैदानबाट बाहिरिएका थिए। त्यतिमात्रै होइन उनले मैदान बाहिरिँदा प्रशिक्षक जिदान र मैदान प्रवेश गर्न लागेका इस्कोसँग हात मिलाउँदा उनको अनुहारमा समेत राम्रोसँग हेरेनन् । रोनाल्डोलाई अाफूलार्इ रिप्लेस गर्दा मलाई नै किन? भनेर रिसाएको स्पेनिस पत्रिका मार्काले उल्लेख गरेको छ।
त्यसो त रोनाल्डोलाई अर्को खेलाडीले खेलको बीचमा प्रतिस्थापन गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि केही खेलमा प्रशिक्षक जिदानले रोनाल्डोलाई खेलको बीचमै निकाल्ने गरेका थिए। रोनाल्डोलाई खेल सकिनु अघि नै रिप्लेस गर्दा रोनाल्डो प्रशिक्षकसँग रिसाउने गरेका थिए। सबैभन्दा उत्कृष्ट र महत्वपूर्ण भूमिका खेल्न सक्ने रोनाल्डोलाई खेल दौरानकै बीचमा मैदानबाट निकाल्दा समर्थकहरुले प्रशिक्षकको आलोचना गर्दै आएका छन्।
जारी सिजन ला लिगामा धेरै गोल गर्नेको सूचीमा रोनाल्डो तेस्रो स्थानमा छन्। रोनाल्डोले अहिलेसम्म १९ गोल गरेका छन् भने बार्सिलोनाका लुइस स्वारेजले २१ तथा लियोनल मेसीले २३ गोल गरेका छन्।