मेस्सीको दुर्इ गोलमा बार्सिलोनाको सानदार जित

काठमाडौं : स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको बार्सिलोनाले भ्यालेन्सियामाथि सानदार जित निकालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ४-२ को जित निकाल्यो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेस्सीले दुई गरे । त्यसैगरी लुइस स्वारेज र आन्द्रे गोमेजले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने भ्यालेन्सिया लिएको थियो । २९ औं मिनेटमा मंगलाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि ३५ औं मिनेटमा स्वारेजले गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
पहिलो हाफ सकिनै लाग्दा भ्यालेन्सिया १० खेलाडीमा सिमित हुन पुगेको पुग्यो । ४४ औं मिनेटमा मंगला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि ४५ औं मिनेटमा पाएको पेनाल्टीमा मेस्सीले पहिलो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यस लगतै इन्जुरी समयमा भ्यालेन्सियाका लागि एल-हाड्डाडीले गोल गर्दै खेललाई पुन बराबरीमा पुर्याए ।
बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ५२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ३-२ को अग्रता लियो । ८९ औं मिनेटमा गोमेजले गोल गर्दै बार्सिलोनाका लागि ४-२ को जित सुनिश्चित गरिदिए ।
यो जितसँगै बार्सिलोनाको २८ खेलबाट ६३ अंक भएको छ । २७ खेल खेलेको शीर्ष स्थानको रियल मड्रिडको ६५ अंक छ ।
प्रतिक्रिया दिनुहोस !
