राममन्दिर विवाद : सर्वोच्चले भन्यो, अदालत बाहिर मिलाउनू
लखनउ : भारतको सर्वोच्च अदालतले अयोध्यामा मस्जिद रहेको ठाउँमा रामको मन्दिर बनाउने प्रस्तावमा भइरहेको विवाद अदालतभन्दा बाहिरबाट मिलाउन आग्रह गरेको छ ।
अदालतले रामजन्मभूमिका तर्फबाट मुद्दा लडिरहेका भारतीय जनता पार्टी (भाजपा) नेता सुब्रह्मण्यम स्वामीलाई मंगलबार यस्तो बताएको हो । आवश्यक परेमा अदालत पनि सहयोग गर्न तयार रहेको स्पष्ट पारेको छ । अदालतको सुझाव सरकारले स्वागत गरेको छ ।
मस्जिदको ठाउँमा मन्दिर बनाउने विषय निकै संवेदनशील र भावनात्मक विषय भएको भन्दै अदालतले अदालती प्रक्रियाबाट नभई आपसी छलफल र वार्ताबाट समाधान निकाल्न आग्रह गरेको हो । ‘यो एउटा संवेदनशील र धार्मिक विषय हो, पहिला दुवै पक्ष सँगसँगै बस्नुस् अनि समस्याको समाधान निकाल्नुस्’, अदालतले भनेको छ ।
अदालतको निर्णय आइसकेपछि मान्न दुवै पक्ष बाध्य हुनुपर्ने भएकाले धार्मिक विषय मिलाएरै जानु हितमा भएको अदालतको भनाइ छ । दुवै पक्षले गरेको सहमतिको जानकारी ३१ मार्चभित्र अदालतलाई उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ ।
स्वामीले रामजन्मभूमि अन्यत्र सार्न नमिल्ने सरयू नदीको किनारमा राम मन्दिर गराइनु उचित भएको बताएका छन् । नमाज अन्यत्र पढ्न मिल्ने भएकाले त्योभन्दा अन्यत्र निर्माण गर्न उचित हुने तर्क राख्दै आएका छन् । अल इन्डिया पर्सनल ल बोर्डले भने वार्ता गर्ने समय बितिसकेको बताएको छ ।
राम जन्मभूमि र बाबरी मस्जिद विवाद मिलाउन गरिएको यो एघारौं प्रयास हो । सन् १९८६ देखि पटक पटक यस्ता प्रयास भइरहेका छन् ।
हिन्दु धर्मावलम्बीका देवता रामको जन्मभूमि अयोध्यामा रहेको राममन्दिर रहेको ठाउँमा मस्जिद बनाएको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । मन्दिर बनाउने कि मस्जिद बनाउने भन्ने विवादले उग्ररूप लिँदा धेरैको ज्यान गएको थियो ।
१३१ वर्षदेखि यस विषयमा विवाद हुँदै आएको छ । यो विवादलाई सल्ट्याउन ६ जना प्रधानमन्त्री राजीव गान्धी, विपी सिंह, चन्द्रशेखर, नरसिंह राव, अटलविहारी बाजपेयी र मनमोहन सिंहका पालामा पनि वार्ता भएको थियो । पूर्वराष्ट्रपति आर वेंकटरमन, चन्द्रा स्वामी, शंकराचार्य जयेन्द्र सरस्वती, राम जन्मभूमिका प्रमुख पुजारी सत्येन्द्र दास एवं मुस्लिम पर्सनल ल बोर्डका पूर्वअध्यक्ष अली मियाँ, वर्तमान अध्यक्ष राबे हसन नदवी, मौलाना कल्बे सादिक, न्यायाधीश पलोक बसुको नेतृत्वमा वार्ता भएका थिए ।
सन् २०१० को अगस्तमा पनि इलाहाबाद उच्च न्यायालयले दुवै पक्षलाई सम्झौतामा पुग्न सल्लाह दिएको थियो । अयोध्यास्थित राम जन्मभूमिका मुख्य पुजारी सत्येन्द्र दासले भने, ‘हामी चाहन्छौं दुवै पक्षले सर्वोच्च अदालतको आदेश मान्नुपर्छ । हामीले विगतमा सर्वोच्च अदालतलाई १० हजार व्यक्तिको हस्ताक्षर बुझाइसकेका छौं । रामलीला भएको ठाउँमा राममन्दिर बनाइनेछ भने कुबेरटिलाका दक्षिणतर्फ मस्जिद बनाऔं ।’
बाबरी मस्जिदका लागि पैरवी गरिरहेका सबैभन्दा पाका व्यक्ति हासिम अन्सारीले हनुमानगढीका महन्त ज्ञान दाससँग मन्दिर र मस्जिद दुवै बनाउनुपर्ने बताएका थिए । बाबरी मस्जिद एक्सन कमिटीका जफरयाब जिलानीले अदालतको निर्णयको सम्मान गर्दै विचार गर्न सकिने बताएका छन् ।
सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा वादी प्रतिवादी पक्षका सबै एकमत हुन सहज देखिँदैन । उक्त मुद्दामा मन्दिर पक्षका तर्फबाट निर्मोही अखडा, रामलला विराजमान, विश्व हिन्दू परिषद्, हिन्दू महासभा, राजेन्द्र सिंह छन् भने मस्जिद पक्षबाट उत्तर प्रदेश सुन्नी सेन्ट्रल वक्फ बोर्ड, हाजी महबुब, इकबाल अन्सारी, मोहम्मद फारुक र मौलाना महफुजुर्रहमान छन् ।