आदित्यनाथले लगाए सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

आदित्यनाथले लगाए सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

लखनउ : उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले मन्त्रिपरिषद्को कार्यविभाजनसँगै बुधबार थुप्रै महत्वपूर्ण निर्णय गरेका छन्।

सरकारी भवनमा पान, सुर्ती सेवनमा प्रतिबन्ध लगाउन आदेश दिएका छन्। उत्तर प्रदेशको सचिवालय पुगेका योगीले कुनै पनि कर्मचारीले सरकारी भवनमा गुटखा, पान तमाखु सेवन नगर्न आदेश दिएका छन्।

यसैगरी सरकारी भवनमा प्लास्टिकको प्रयोग रोक्न आदेश दिएका छन्। सम्बन्धित अधिकारीले बुधबार नै उक्त आदेश लागू गराउन सुरु गरिसकेका छन्।

उत्तर प्रदेशको सचिवालय निरीक्षणका क्रममा आदित्यनाथले भित्ता र भुइँमा ती चिज देखेपछि यस्तो आदेश दिएका हुन्। उनले सरकारी अधिकारीलाई भने, ‘काम गर्ने संस्कृति बदल्नुहोस्। मैले नियमित परीक्षण गर्नेछु। पान र सुर्तीको खाएर फोहर भएको देख्नु नपरोस्।’

उनले कार्यालय सफा राख्नुपर्नेमा जोड दिएका छन्। उनले आफूकहाँ आइपुगेका सबै फाइल पढ्न सहसचिवहरूलाई आदेश दिएका छन्। एक साताभित्र ती फाइल हेरेर जरुरी काम तत्काल गर्न र अनावश्यक फाइल अलग गर्नुपर्ने बताए। सबै फाइललाई अनलाइनबाटै काम गर्ने व्यवस्था मिलाउन पनि निर्देश दिए।

मुख्यमन्त्री योगीको आदेश तत्काल आफ्नो जिल्लामा सुरु गरेको बरेलीका डिस्ट्रिक्ट मेजिस्ट्रेट सुरेन्द्र सिंहले जानकारी दिएका छन्। मंगलबार नै योगीले राज्यका प्रत्येक थाना र चौकीलाई स्वच्छ राख्न आदेश दिएका थिए।

बधशाला बन्द
मुख्यमन्त्री योगीले अवैध बधशाला बन्द गर्ने योजना तयार गर्न निर्देश दिएका छन्। गाई तस्करीमा पूरै रोक लगाउन उनले प्रहरी प्रशासनलाई आदेश दिएका छन्। पशु तस्करीमा शून्य सहनशीलता अपनाउनुपर्नेमा उनले जोड दिए। अवैध बधशाला बन्द गर्न उत्तर प्रदेश प्रहरीले सोमबारदेखि नै काम थालिसकेको छ। मेरठ जिल्लामा पूर्वमन्त्री हाजी याकुब कुरैशी एवं पूर्वसांसद शाहिद अखलाकका मासु उद्योगमा पनि प्रहरीले छापा मारेको छ।

भारतीय जनता पार्टी (भाजपा)ले निर्वाचन घोषणापत्रमा अवैध बधशाला बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। प्रहरीले कारबाही सुरु गरेपछि तस्करले चौपाया बाटोमै छोडेर भागेका छन्। पश्चिम बंगालतर्फ तस्करी गर्दै गरेका चौपायासहितका मोटर वाराणसीको बडागांव र चन्दौलीको अलीनगरमा छोडेर भागेका छन्। यसैगरी इलाहाबाद (प्रयाग), आजमगढ, गाजियाबादमा १५ वटा, वाराणसी, कानपुर र अलीगढमा पनि कैयौं बधशाला बन्द गरिएका छन्।

महिलाको सुरक्षाका निम्ति दल गठन
यसका साथै विभिन्न जिल्लामा महिलाको सुरक्षाका लागि रोमियो दल पनि गठन गरिएको छ। महिलामाथि हुने दुव्र्यवहार रोक्न उत्तर प्रदेशमा ११ जिल्लामा एन्टी रोमियो दल गठन गरिएको हो। लखनउ जोनका प्रहरी महानिरीक्षक ए. सतीश गणेशले आफ्नो जोनका ११ जिल्लामा एक महिने विशेष अभियान सुरु गरिसकेको जानकारी दिएका छन्। शैक्षिक संस्था, सार्वजनिक संस्थाका वरपर यस्तो दस्ता देखिन थालेको छ।

कार्यविभाजन
योगी आदित्‍यनाथले आफ्नो मन्त्रिमण्डलका सदस्यको कार्य विभाजन गरेका छन्। गृह मन्त्रालय मुख्यमन्त्री योगीले आफूसँगै राखेका छन्। आवास एवं शहरी नियोजन, राजस्व, खाद्य एवं रसद, नागरिक आपूर्ति, खाद्य सुरक्षा एवं औषधि प्रशासन, कारागार, सामान्य प्रशासन, सचिवालय प्रशासन, सतर्कता, नियुक्ति, सूचना, निर्वाचन, संस्थागत वित्त, नियोजन, राज्य सम्पत्ति, नगर भूमि विभाग पनि आफूसँगै राखेका छन्।

उपमुख्यमन्त्री केशवप्रसाद मौर्य- लोक निर्माण, खाद्य प्रसंस्करण, मनोरञ्जन कर, सार्वजनिक उद्यम विभाग।
उपमुख्यमन्त्री दिनेश शर्मा- माध्यमिक एवं उच्च शिक्षा, विज्ञान एवं प्रौद्योगिकी, इलेक्ट्रोनिक्स, सूचना प्रौद्योगिकी विभाग।
स्‍वाती सिंह- महिला कल्‍याण मन्त्रालय
चेतन चौहान- खेल मन्त्रालय
रीता बहुगुणा जोशी- माध्‍यमिक शिक्षामन्त्री,
सिद्धार्थनाथ सिंह- कृषि मन्त्रालय। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.