बलियो फिलिपिन्सलाई जिल्याउने तयारी
काठमाडौः नेपालले एसिया कप छनोट खेल्न पाउनु आफैंमा अप्रत्याशित अवसर हो । विश्व कप छनोट र एसिया कप छनोटका लागि भारतसँग खेलिएको प्रारम्भिक छनोट खेलबाट बाहिरिए पनि नेपालले अन्तिममा सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप फुटबल प्रतियोगिताको छनोट खेल खेल्ने मौका पाएको छ । छनोट खेलको समूह ‘एफ' मा परेको नेपालले पहिलो खेल चैत १५ गते फिलिपिन्ससँग उसैको मैदानमा खेल्नेछ । होम एन्ड अवेका आधारमा खेलिने छनोट खेलमा नेपाल, फिलिपिन्स, यमन र ताजकिस्तान छन् ।
तीन सातादेखि अभ्यासलाई चुस्त बनाएको नेपाली टोली अहिले दिनको एकपटक हल्का तयारी गरिरहेको छ । फिलिपिन्ससँगको पहिलो लेग खेलका लागि खेलाडी मानसिक र शारीरिक रूपले तयार रहेको टोलीका सहायक प्रशिक्षक राजुकाजी शाक्यले बताए । ‘एसिया कप छनोट खेल्न पाउनु टोलीका लागि ‘सरप्राइज' नै हो । गुमिसकेको अवसर पाउँदा टोलीका सबै खेलाडी उत्साहित भएका छन् । यसले सिंगो नेपाली फुटबललाई नयाँ अवसर दिएको छ । यस अवसरलाई हामीले जसरी पनि सदुपयोग गर्नुपर्छ,' शाक्यले भने ।
शाक्यले फिलिपिन्स नेपालभन्दा बलियो रहे पनि उसलाई कडा टक्कर दिएर फर्कने बताए । ‘फिफा वरीयतामा फिलिपिन्स हामीभन्दा धेरै माथि भएकोले उसले राम्रो खेल्छ भन्ने सोच्नुपर्छ । तर नेपाली खेलाडीको प्रदर्शनमा पछिल्लो समय बेजोड सुधार भएको छ । हामीले राम्रो तयारी र मेहनेत गरेका छौं । नेपाली फुटबलले पछिल्ला दिनमा हात पारेको सफलताले पनि खेलाडीको आत्मबल बलियो भएको छ । हरेक खेलमा खेलाडीले गोल गरिरहेका छन् । फिलिपिन्स बलियो भनिरहँदा हामीले आफूलाई कम आँकेका छैनौं । ठूलो प्रतियोगिता खेल्नु र बलियो टोलीसँग भिड्नु आफैंमा चुनौती हुन्छ । तर पनि हामी यसपटक वारपारको लडाइँ लड्ने छौं ।
फिलिपिन्सलाई हराएर फर्कने लक्ष्य लिएका छौं,' शाक्यले थपे । शाक्यले रोहित चन्दको आगमनले टोलीलाई थप बलियो बनाएकोले युवा खेलाडीबाट नेपालले धेरै आशा गरेको बताए । नेपाल यसअघि एसिया कप छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो । विश्व कप र एसिया कपका लागि भारतसँग खेलिएको दुई लेगको खेलमा नेपाल समग्रमा २-० गोलले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको थियो । तर मलेसियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेपछि नेपालले एसिया कप छनोटको तेस्रो चरणमा खेल्ने अवसर पाएको हो । त्यसको साथै तेस्रो चरणको छनोटमा सहभागी ग्वाम नखेल्ने भएपछि पनि नेपाललाई अवसर दिइएको थियो ।
सोलिडारिटी कपको फाइनल पुगेको मकाउले पनि कुबेतको सट्टा छनोट खेल्ने अवसर पाएको छ । छनोट खेलमा सहभागी २४ टोलीलाई फिफा वरीयताको आधारमा ६ समूहमा विभाजन गरिएको हो । समूह चरणको खेलपछि समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा प्रतिस्पर्धा गर्नेछन् । माल्दिभ्ससँग नेपालले दोस्रो खेल नोभेम्बर १४ तारिखमा आफ्नै घरेलु मैदानमा खेल्नेछ । नेपाल र फिलिपिन्सबीच हालसम्म चारवटा भिडन्त भएका छन्, जसमा नेपालले एक जित र तीन हारको नतिजा आत्मसात गरेको छ । भूकम्पपछि दशरथ रंगशालाको अवस्था जीर्ण रहेकाले नेपालको होम खेल हल्चोकस्थित एपीएफको मैदानमा खेलिनेछ । छनोट खेल सन् २०१८ सम्म चल्नेछ ।
फिलिपिन्ससँगको पहिलो लेग खेलका लागि नेपालले विराज महर्जनको कप्तानीमा २० सदस्यीय टोलीको घोषणा गरिसकेको छ । जापानी प्रशिक्षक ग्योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षक उज्ज्वल डंगोल सम्मिलित टोलीले अन्तिम खेलाडी छनोट गरेको हो । छनोट भएको टोलीमा तीन गोलरक्षक, सात डिफेन्डर, ६ मिडफिल्डर र चार स्ट्राइकर छन् । यसपटक अनिल गुरुङलाई टोलीमा राखिएको छैन । घाइते भएका कारण नियमित स्ट्राइकर नवयुग श्रेष्ठलाई पनि टोलीमा समावेश गरिएको छैन ।
यसपटक टोलीमा रोहित चन्द, जितेन्द्र कार्की, रञ्जन विष्ट र कर्ण लिम्बूले पुनरागमन गरेका छन् । टोलीमा गोलरक्षक किरण लिम्बू, विशाल श्रेष्ठ र विकेश कुथू तथा डिफेन्डर विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रञ्जित धिमाल र जितेन्द्र कार्की रहेका छन् । यसैगरी मिडफिल्डरमा रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट र सुजल श्रेष्ठ रहेका छन् । स्ट्राइकरमा विमल घर्तीमगर, रञ्जन विष्ट, भरत खवास र कर्ण लिम्बू छन् । कर्णले नवयुग र अनिलको स्थान लिने अनुमान गरिएको छ ।
फिफा वरीयता
नेपालः १७०
फिलिपिन्सः १२४
नेपालविरुद्ध फिलिपिन्स
सन् १९८२ किङ्स कपः १-० गोलले विजयी ।
सन् २०११ मैत्रीपूर्ण खेलः ०-४ गोलले पराजित ।
सन् २०१४ मैत्रीपूर्ण खेलः ०-३ गोलले पराजित ।
सन् २०१४ मैत्रीपूर्ण खेलः ०-३ गोलले पराजित ।