रियल मड्रिडका इस्कोलाई महँगो तलब दिएर भित्र्याउन चाहन्छ बार्सिलोना
काठमाडौंः बार्सिलोनाले केही नयाँ खेलाडी क्लबमा भित्र्याउन खोजिरहेको छ। खेलाडी स्थानान्तरण सुरु हुनु अघि नै क्लबले ल्याउन चाहेका खेलाडीहरुका बारेमा उनीहरुका एजेन्टसँग छलफल पनि अगाडि बढाइरहेका छन् धेरै क्लबले। यस्तै होडमा छ बार्सिलोना। उसले पनि केही राम्रा युवा खेलाडीलाई क्लबमा भित्र्याउने प्रयास सुरु गरेको छ। बार्सिलोनाको रोजाइमा परेका छन् स्पेनको राष्ट्रिय टिमका सदस्य तथा रियल मड्रिडका मिडफिल्डर इस्को।
बार्सिलोनालाई उसका सुपर स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसीले त झन् इस्कोलाई क्लबमा भित्र्याउनु पर्ने भन्दै व्यवस्थापनलाई कुरा अघि बढाउन सुझाव नै दिइसकेको स्पेनिस पत्रिकाहरुले दाबी गरेका छन्। इस्कोको रियल मड्रिडसँगको सम्झौता सन् २०१८ सम्म छ। उनले यो सिजन रियल मड्रिडका लागि जम्मा १३ खेलमा मात्रै स्थान पाएका छन्। म्यानचेस्टर सिटीले समेत भित्र्याउन चाहेका इस्कोलाई बार्सिलोनाले पनि राम्रोसँग नियालिरहेको छ।
स्पेनिस पत्रिका डायरियो गोलका अनुसार इस्को र बार्सिलोनाबीच गोप्यरुपमा कुराकानी गरिरहेका छन्। पत्रिकाका अनुसार इस्कोले क्लब व्यवस्थापनलाई सिजनको अन्तिममा रियल मड्रिड छोड्ने बताइसकेका छन्।
मेसीले बार्सिलोनालाई खेलाडी अनुबन्ध गर्दा इस्कोलाई क्लबमा भित्र्याउँदा मिडफिल्ड अझै सशक्त र बलियो बन्ने बताएका छन्। बार्सिलोनाले इस्कोलाई वार्षिक १७ मिलियन पाउन्ड स्टर्लिङ पारिश्रमिक दिने गरी पाँच वर्षको सम्झौताका लागि प्रस्ताव गरेको दाबी गरिएको छ।