इटहरीलाई स्पोर्ट्स सिटी बनाइने

इटहरीलाई स्पोर्ट्स सिटी बनाइने

इटहरी : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले इटहरीलाई स्पोर्ट्स सिटी बनाउने घोषणा गरेका छन् । इटहरीमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको बारेमा जानकारी दिन अन्तर्राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दोले आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव विष्टले पछिल्लो समय इटहरीमा खेलकुद गतिविधि बाक्लिएको धारणा व्यक्त गर्दै पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइने बताए । उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितालाई ध्यानमा राखी पूर्वाधार विकासको कार्य भइरहेको बताए ।

उनले तेक्वान्दोको निर्माणाधीन कभर्डहलको काम आगामी ६ महिनाभित्र पूरा भइसक्ने बताए । 'करिब एक वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता नै आयोजना गर्न मिल्ने गरी कभर्डहलको काम पूरा गरिनेछ', उनले भने । यसैगरी पाँच करोड रुपैयाँको लगानीमा ब्याडमिन्टन हलसमेत निर्माण गरिने जानकारी पनि विष्टले दिए । यसैगरी उनले इटहरी रंगशालामा निर्माणाधीन ज्येष्ठ नागरिकको खेलकुद भवनलाई पनि ६ महिनाभित्र पूरा गरिसक्ने बताए ।

यसैगरी इटहरी रंगशालामा चार-पाँच करोड रुपैयाँको लागतमा प्यारापिट निर्माण गर्ने काम भइरहेको बताए । तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितासम्म प्याराफिटको अधिकांश भाग निर्माण गरिसक्ने योजना रहेको जानकारी उनले दिए । उनले उक्त प्रतियोगिता पूर्वाञ्चलमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो खेल प्रतियोगिता रहेको बताए ।


'२०-२२ देशका खेलाडी इटहरीमा आउनु भनेको हाम्रा लागि गौरव र अवसरको कुरा हो', उनले भने, 'प्रतियोगिताका लागि राखेपले स्थानीय स्तरका निजी तथा सरकारी क्षेत्रसँग समन्वय गरेर अघि बढ्नेछ ।' आईओएफटीसीले नेपालमा २० करोड रुपैयाँको लागतमा तेक्वान्दो भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी पनि सदस्यसचिव विष्टले दिए । प्रतियोगिताको विषयमा जानकारी दिँदै आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले प्रतियोगिताको सफलताका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।

'अदालतको निर्णयको सम्मान हुन्छ'

नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राखेको राखेपका सदस्यसचिव केशवकुमार विष्टले बताए । उनले एनओसी विवादलाई राखेपले गम्भीरतापूर्वक अध्ययन गरेर अघि बढ्ने जानकारी दिए । युवा तथा खेलकुद मन्त्रालयले एनओसीको क्रियाकलाप निर्वाध रूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्ने जिम्मेवारी सदस्यसचिव विष्टलाई दिएपछि उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'दुवै पक्षका कुरा सुनेर र अदालतको निर्णयलाई सम्मान गरेर हामी अघि बढ्नेछौं', उनले भने । सर्वोच्च अदालतबाट मान्यता प्राप्त रुक्मशमशेर राणा नेतृत्वको टोली केही दिनअघि ललितपुरको सातदोबाटोस्थित एनओसी मुख्यालयमा प्रवेश गरेपछि ६ वर्षदेखि चल्दै आएको एनओसी विवादले नयाँ मोड लिएको थियो। राणा नेतृत्वको टोलीले प्रहरी प्रशासनको सहयोगमा कार्यालयमा प्रवेश गरेर काम थालेपछि जीवनराम श्रेष्ठ नेतृत्वको अर्को कमिटीले त्यसको विरोध गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.