ब्राजिलसँग केही लागेन उरुग्वेको
साओ पाउलो : विश्वकप फुटबलको शुक्रबार बिहान खेलिएको दक्षिण अमेरिकी क्षेत्रको छनोट खेलमा दुई प्रभावशाली टोली ब्राजिल र अर्जेन्टिनाले सफलता हात पारेका छन् । ब्राजिलले बलियो प्रतिद्वन्द्वी उरुग्वेलाई उसैको घरेलु मैदानमा ४-१ गोलको फराकिलोअन्तरले हरायो । अर्जेन्टिनाले भने घरेलु मैदानमा खेलिएको खेलमा अर्को शक्तिशाली टोली चिलीमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो ।
सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिलको सजिलो जितमा मिडफिल्डर पाउलिन्होले ह्याट्रिक गरे । अर्को एक गोल स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार खेलाडी नेमारले गरेका थिए । खेलमा अग्रता भने घरेलु टोली उरुग्वेले लिएको थियो । उरुग्वेका लागि एडिन्सन काभानीले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । विश्वकपको छनोट खेलमा कुनै पनि टोलीले ब्राजिलविरुद्घ गोल गरेको सेप्टेम्बरयता यो पहिलो पटक हो ।
तर उरुग्वेको त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । निर्धारित समयको १८औं मिनेटमै पाउलिन्होले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पाउलिन्होको सोही गोलका कारण पहिलो हाफको खेल १-१ को बराबरीमा सकिएको थियो । तर खेलको दोस्रो हाफमा घरेलु टोलीमाथि ब्राजिल पूर्णरूपमा हाबी भएको थियो । ५१औं मिनेटमा पाउलिन्होले नै दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका थिए ।
यसैगरी ७४औं मिनेटमा नेमारले ब्राजिललाई ३-१ को बलियो स्थितिमा पुर्याएका थिए । नेमारले कुनै पनि प्रतियोगितामा उरुग्वेविरुद्घ गरेको यो नै पहिलो गोल हो । दोस्रो हाफको इन्जुरी समयमा पाउलिन्होले ह्याट्रिक पूरा गरेका थिए । यो खेल उरुग्वेको ऐतिहासिक मोन्टेभिडियो रंगशालामा खेलिएको थियो । यही रंगशालामा सन् १९३० मा आयोजित पहिलो विश्वकपको फाइनल खेल पनि खेलिएको थियो । विश्वकप छनोटमा ब्राजिलले हासिल गरेको यो लगातार सातौं जित हो । गत सेप्टेम्बरमा टिटेले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता विश्वकप छनोटमा ब्राजिलले एक अंकमात्र गुमाएको छ ।
कुल १० टोली सम्मिलित दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा सबै टोलीले १३÷१३ खेल खेलिसकेका छन् । तालिकामा ३० अंकसहित ब्राजिल पहिलो स्थानमा छ । नौ खेलमा जित हात पारेको ब्राजिलले तीन खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ । तालिकामा २३ अंकसहित उरुग्वे दोस्रो स्थानमा छ । उरुग्वेले सात खेलमा जित, दुईमा बराबरी र चार खेलमा हारको नतिजा निकालेको छ ।
दुईपटकको विश्वकप विजेता अर्जेन्टिना २२ अंकसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । अर्जेन्टिनाले ६ खेलमा जित, चारमा बराबरी र तीन खेलमा हारको नतिजा निकालेको छ । २१ अंकसहित कोलम्बिया चौथो स्थानमा छ । यसैगरी २० अंकसहित इक्वेडर पाँचौं, समान अंक भएको चिली छैटौं, १८ अंकसहित पाराग्वे सातौं, १५ अंकसहित पेरु आठौं, सात अंकसहित बोलिभिया नवौं र ६ अंकसहित भेनेजुएला १०औं स्थानमा छन् ।
दक्षिण अमेरिकी क्षेत्रको छनोट प्रतियोगितामा सहभागी १० वटै टोलीले एकअर्कासँग 'होम एन्ड अवे' का आधारमा दुईदुई खेल खेल्नु पर्नेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित खेल सकिएपछि अंकतालिकाको पहिलोदेखि चौथो स्थान हासिल गर्ने टोली सीधै सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछन् । तालिकाको पाँचौं स्थान हासिल गर्ने टोलीले भने विश्वकपमा छनोट हुन 'प्ले अफ' खेल्नुपर्ने हुन्छ ।
जारी छनोट प्रतियोगितामा अब सबै टोलीले पाँच÷पाँच खेलमात्र खेल्न बाँकी छ । आगामी मंगलबार खेलिने खेलपछि ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट सन् २०१८ को विश्वकपमा छनोट हुने पहिलो टोली बन्ने सम्भावना छ । तर त्यसका लागि मंगलबार हुने खेलमा ब्राजिलले पराग्वेलाई हराउनु पर्नेछ भने इक्वेडर र चिली आआफ्नो खेलमा पराजित हुनु पर्नेछ । मंगलबारको अन्य खेलमा बोलिभियाले अर्जेन्टिना, इक्वेडरले कोलम्बिया, चिलीले भेनेजुएला र पेरुले उरुग्वेको सामना गर्नेछन् ।
शुक्रबार बिहान भएको चिलीविरुद्घको खेलमा अर्जेन्टिनाका लागि भने एकमात्र गोल बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले १५औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । सोही दिन भएको अर्को खेलमा कोलम्बियाले घरेलु मैदानमा बोलिभियालाई १-० गोलले हरायो भने पाराग्वेले पनि घरेलु मैदानकै फाइदा उठाउँदै इक्वेडरमाथि २-१ गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्यो । घरेलु टोली भेनेजुएला र पेरुले भने २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
यसैगरी विश्वकप छनोटअन्तर्गत बिहीबार राति खेलिएको एसियाली क्षेत्रको छनोट खेलमा चीनले बलियो प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १-० गोलले हरायो । उक्त जितसँगै चीनले सन् २०१८ को विश्वकपमा छनोट हुने सम्भावना पनि जीवितै राखेको छ । घरेलु मैदानमा भएको खेलमा चीनका लागि निर्धारित समयको ३४औं मिनेटमा दाबाओ युले निर्णायक गोल गरेका थिए ।
गत अक्टोबरमा मार्सेलो लिप्पीले प्रशिक्षकको जिम्मेवारी सम्हालेयता चीनले हासिल गरेको यो सबैभन्दा महत्वपूर्ण जित हो । समूह 'ए' अन्तर्गतकै अन्य छनोट खेलमा सिरियाले उज्बेकिस्तानलाई १-० र इरानले पनि कतारलाई १-० गोलले नै हराए । एसियाली क्षेत्रको समूह 'बी' अन्तर्गतको छनोट खेलमा घरेलु टोली इराकले अस्ट्रेलियालाई १-१ गोलको बराबरीमा रोक्यो भने साउदी अरेबियाले थाइल्यान्डलाई उसैको मैदानमा ३-० गोलले पाखा लगायो । जापानले पनि संयुक्त अरब इमिरेट्स (यूएई) लाई उसैको मैदानमा २-० गोलले पराजित गर्यो ।
विश्वकप छनोट नतिजा
ब्राजिल ४ उरुग्वे १
अर्जेन्टिना १ चिली ०
कोलम्बिया १ बोलिभिया ०
पाराग्वे २ इक्वेडर १
भेनेजुएला २ पेरु २