‘एयरक्राफ्ट पार्किङ वे ' सञ्चालनमा

‘एयरक्राफ्ट पार्किङ वे ' सञ्चालनमा

काठमाडौः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ६ महिनादेखि बन्द चार नम्बरको ‘एयरक्राफ्ट पार्किङ वे' सञ्चालनमा आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयका सिभिल इन्जिनियर प्रमुख मुरारी भण्डारीले चैत ७ गतेदेखि चार नम्बरको ‘एयरक्राफ्ट पार्किङ वे' अस्थायी रूपमा सञ्चालनमा आएको जानकारी दिए ।

सन् १९८० को दशकमा निर्माण भएको पार्किङ वेमा करिब १० वर्षदेखि नै समस्या आइरहेको थियो । विमानस्थल कार्यालयले भने करिब ६ महिना अगाडिबाट पार्किङ वेमा समस्या देखिन थालेपछि बन्द गराएर काम थालेको जानकारी दिएको थियो । मर्मतका लागि मात्रै पाँच करोडभन्दा बढी रकम खर्च भएको भण्डारीले जानकारी दिए ।

‘पार्किङ वे पुरानो पनि भइसकेको थियो', भण्डारीले भने, ‘निर्माण भएको समयमा अहिलेजस्ता ठूला जहाज थिएनन् । ठूला जहाज आउन थालेपछि समस्या आएका हो ।' ओभरलोडकै कारण पार्किङ वेमा बारम्बार समस्या आएपछि बन्द गरेर निर्माण थालिएको थियो । रातको समयमा मात्रै काम गर्नुपर्ने भएकाले पनि मर्मतमा केही ढिला भएको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ वे नौ वटा छन् ।

मर्मतको केही काम अझै बाँकी रहेको उनले जानकारी दिए । अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । मार्च २६ गतेबाट पूर्णरूपमा सञ्चालनमा आउने भण्डारीको भनाइ छ । विमानस्थलले तय गरेको समर उडान तालिकामा पार्किङ नम्बर चारमा पनि जहाज पार्किङ गर्ने गरी तयारी भइरहेको छ । मर्मत भएको पार्किङ वेमा तत्काल कुनै समस्या नआउने उनको दाबी छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय एयरक्राफ्ट पार्किङ वे नौ वटा छन् । चार नम्बरको पार्किङ वे सञ्चालनमा आएसँगै पार्किङ वे पूर्णरूपमा काम गर्ने विमानस्थल कार्यालयका प्रवक्ता पे्रमनाथ ठाकुरले जानकारी दिए । लामो समयदेखि चार नम्बर पार्किङ वे बन्द हुँदा विमान पार्किङको समस्याले जहाज कतिपय अवस्थामा आधा घन्टासम्म आकाशमै होल्ड गर्नुपर्ने अवस्था थियो । अझै पनि विमानस्थलमा दिउँसोको समयमा पार्किङको समस्या यथावत छ । विमानस्थलमा अहिले २६ भन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीका जहाजले उडान भर्दै आएका छन् ।

विमानस्थलमा रहेका नौ वटा पार्किङ वेमध्ये तीन वटा वाइडबडी जहाज र ६ वटा न्यारोबडी जहाज पार्किङका लागि छुट्टयाइएको छ । ‘नौ वटा पार्किङ वेमा अहिले सेवा दिइरहेका जहाज व्यवस्थापन गर्न अझै सहज छैन', उनले भने, ‘अन्यलाई दिउँसोको समयमा पार्किङ गर्दै उडान स्लट उपलब्ध गराउन सक्ने अवस्था छैन ।' यस्तो अवस्थामा विमानस्थलले मौसम खराबी भन्दै विमानस्थलको बचाउ गर्दै आएको छ । अब लामोसयमदेखि बन्द रहेको पार्किङ वे सञ्चालमा आएपछि केही सहज हुनसक्ने बताइएको छ । बिहान र बेलुकाको समयमा समस्या छैन । तर, पिक समय बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकाको ८ बजेदेखि ११ बजेसम्म समस्या पर्ने ठाकुरले बताए ।

चार वटा पाइपलाइनमा

जहाज पार्किङ समस्या समाधान गर्न सरकारले चार वटा पार्किङ वे निर्माणका लागि तीव्रता दिएको छ । इन्जिनियर भण्डारीका अनुसार अहिलेको पार्किङ वेको दक्षिणतर्फ दुई वटा र पूर्वतर्फ दुई वटा पार्किङ वे निर्माण भइरहेका छन् । पूर्वतर्फको पार्किङ वे आगामी आर्थिक वर्षभित्र नै सम्पन्न हुने अवस्थामा छ । दक्षिणतर्फका दुई वटा पार्किङ वे निर्माण सम्पन्न हुन अझै दुई वर्ष लाग्ने भण्डारीले जानकारी दिए । अहिले सञ्चालनमा रहेका नौ वटा र निर्माणाधीन प्रक्रियाका रहेका चार वटै पार्किङ वे सञ्चालनमा आउनासाथ जहाज आकाशमै होल्ड गर्नुपर्ने समस्या समाधान हुने प्रवक्ता ठाकुरको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.