पहिलो दिनमै अस्ट्रेलिया अलआउट
धर्मशाला : घरेलु टोली भारतविरुद्धको चौथो तथा निर्णायक टेस्टमा अस्ट्रेलिया पहिलो दिनमै अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङमा ओर्लिएको पाहुना टोली अस्ट्रेलियाले ८८ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै तीन सय रनमा समेटियो । अस्ट्रेलियालाई पहिलो दिनमै धराशयी बनाउन कुलदीप यादवले चार विकेट लिए । अस्ट्रेलियन पालीमा कप्तान स्टिभ स्मिथले शतक प्रहार गरे । यस्तै ओपनर डेभिड वार्नर र विकेटकिपर ब्याट्सम्यान म्याथ्यु वेडले अर्धशतकीय पाली खेले ।
टेस्ट क्रिकेटमा आफ्नो २०औं शतक पूरा गरेका स्मिथले भारतीय स्पिन आक्रमणलाई निस्तेज पार्दै लगातार क्रिजमा टिकेका थिए । एक सय ७३ बल खेलेका उनले १४ चौका प्रहार गरेका थिए । उनलाई भारतीय स्पिनर रविचन्द्रन आश्विनले अजिक्या राहनेबाट क्याच आउट गराएका थिए । यस्तै आक्रमक पालि खेलेका ओपनर वार्नर छिटो पेभेलियन फर्कंदा पनि अस्ट्रेलियाले विशाल योगफल बनाउन सकेन । वार्नरले ८७ बलमा आठ चौका र एक छक्का प्रहार गरेका थिए । यस्तै म्याथ्यु वेडले ५७ रनको अर्धशतकीय पाली खेले ।
अस्ट्रेलियाका लागि प्याट कुमिन्सले २१, नाथन लायन १३, स्टिभ ओकिफी र पिटर ह्यान्ड्स कम्बले समान आठआठ रन बनाए । यस्तै ओपनर म्याट रनसो एक रनमै उमेश यादवको सिकार बने । अस्ट्रेलियाले स्कोर बोर्डमा १० रन जोडेको अवस्थामा रनसोलाई गुमाएको थियो । पहिलो सत्रमा एक सय ३१ रन बनाएको अस्ट्रेलियालाई कुलदीप यादवले आफ्नो गुगलीमा फसाएका थिए । भारतका उमेश यादवले दुई तथा भुवनेश्वर कुमार, आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिए । शनिबार नै आफ्नो पहिलो पालि सुरु गरेको भारतले एक ओभर खेल्दै खाता खोल्न सकेको छैन ।
यी दुईबीचको पहिलो टेस्ट अस्ट्रेलियाले तीन सय ३३ रन जितेको थियो । यस्तै दोस्रो टेस्ट भारतले ७५ रनले जित्दा तेस्रो टेस्ट बराबरीमा समाप्त भएको थियो ।