काबेली करिडोर मुआब्जा विवाद साम्य

काबेली करिडोर मुआब्जा विवाद साम्य

इलामः पूर्वी पहाडमा उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोड्ने १३२ केभीको एक मात्र प्रसारण लाइन काबेली करिडोर निर्माणका क्रममा इलामको सिद्धिथुम्का पञ्चमीमा भएको मुआब्जा विवाद साम्य भएको छ । सिद्धिथुम्काको पञ्चमीमा मुआब्जाका विषयमा भएको विवाद साम्य भएको आयोजनाले जनाएको छ । विवाद मिलाउन गठित समितिको सिफारिसअनुसार त्यहाँका ३० प्रतिशत मानिसले मुआब्जा बुझेको र अन्यले पनि बुझ्ने क्रममा रहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

स्थानीयबासीको अवरोध हट्ने संकेत मिले पनि प्राविधिक र अन्य अवरोधले निर्माणले गति लिन सकेको छैन । म्याद थप गरेर १७ मार्च २०१७ मा सक्नुपर्ने आयोजनाको दोस्रो र तेस्रो खण्डमा टावर खडा गर्ने र लाइन टाँग्ने कार्य भइरहेको छ ।

आयोजनाको फिदिम जोरसाल खण्डमा जग्गा विवादकै कारण १४ वटा टावर निर्माणको काम अगाडि बढ्न सकेको छैन । यहाँको काम अगाडि बढाउन नयाँ अलाइनमेन्टअनुसार स्वीकृति लिन लागिएको उनले जानकारी दिए । यस्तै आयोजनाको दोस्रो खण्डको एक नम्बर र ३८ नम्बर टावरको निर्माणमा प्राविधिक समस्या आएपछि कुन प्रक्रियामा निर्माण गर्ने टुंगो लाग्न सकेको छैन । यसलाई स्वीकृति लिएर समस्या समाधान गर्ने पहल भइरहेको आयोजना प्रमुख द्विवेदीले जानकारी दीए ।

आयोजनाको पहिलो खण्ड पाडाजुगीदेखि इलाम गोदकसम्म निर्माण सम्पन्न भई प्रसारण लाइन चालू भएको डेढ वर्ष विते पनि दोस्रो र तेस्रो खण्डको एक सय ६३ वटा टावरमध्ये ७२ वटा टावर मात्र हालसम्म खडा भइसकेको आयोजना प्रमुख द्विवेदीले जानकारी दिए । त्यस क्षेत्रमा एक सय २१ वटा टावर निर्माणका लागि जग खनिसकिएको र एक सय १६ टावर निर्माणका लागि फाउन्डेसन निर्माण भएको उनले जानकारी दिए ।

सन् २०११ मा निर्माण सुरु भएको आयोजनाको लगानी दुई अर्ब ५८ करोड रुपैयाँ छ । प्रसारण लाइन निर्माणमा भएको ढिलाइले पूर्वमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणमा जोड्न समस्या भएको छ । प्रसारण लाइन निर्माणमा ढिलाइले पछिल्लो पटक निर्माण सम्पन्न भएको ‘हेवा ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले पूरै क्षमता १५ मेगावाट विद्युत् उत्पादन गर्न काबेली करिडोर प्रसारण आयोजना निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

ग्रामीण विद्युतीकरणको काम सुरु भएन

प्रसारण लाइनको तलमाथि अढाइ-अढाइ किलोमिटर ग्रामीण विद्युतीकरणसमेत ठेक्का लाग्न सकेको छैन । प्रसारण लाइनको दायाँबायाँ अढाई किलोमिटर क्षेत्रमा विद्युतीकरण गर्नुपर्नेमा हालसम्म काम अगाडि बढेको छैन । उक्त कार्यको ठेक्का स्वीकृति र आशयपत्र निकाल्ने काम अन्तिम चरणमा पुगेकोे छ । करिब २७ करोड लागतमा चुलाचुलीदेखि चमैतासम्म विद्युतीकरणको काम हुने भएको छ । त्यसपछि अर्को चरणमा काम अगाडि बढाउने तयारी भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.