क्विन्टनको ब्याटिङले दक्षिण अफ्रिकालाई राहत
ह्यामिल्टन : घरेलु टोली न्युजिल्यान्ड विरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका पहिलो पालीमा तीन सय १४ रनमा समेटिएको छ । ह्यामिल्टनमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले पहिलो दिन ४१ ओभर खेल्दै चार विकेट गुमाएर एक सय २३ रन जोडेको थियो । पहिलो दिन कप्तान फाफ डु प्लेसिस ३३ र तेम्बा बाभुरा १३ रनमा अविजित थिए ।
दोस्रो दिन आइतबार डु प्लेसिस ५३ रनको अर्धशतकीय पाली खेल्दै पेभेलियन फर्किए भने तेम्बाले २९ रन जोडे । दक्षिण अफ्रिकालाई सम्मानजनक योगफलतर्फ डोर्याउन विकेटकिपर ब्याट्सम्यान क्विन्टन डी कोकले सर्वाधिक ९० रनको महत्वपूर्ण पाली खेले । टोली अप्ठ्यारो स्थितिमा रहेको बेला जिम्मेवारीपूर्ण ब्याटिङ गरेका उनले एक सय ११ बलको सामना गरी दुई छक्का र ११ वटा चौका प्रहार गरे ।
यसैगरी भेर्नन फिलान्डरले ११ रन बनाए भने केशव महाराजले नौ र कासिगो रबाडाले ३४ रन बनाए । मोर्ने मोर्केल व्यक्तिगत नौ रनमा अविजित रहे । वर्षाले बिथोलेपछि पहिलो दिन ४१ ओभरको खेलमात्र सम्भव भएको थियो । पहिलो दिन हसिम अमलाले ५० रन बनाए । यसैगरी जेपी डुम्नीले २० र डिन एल्गर पाँच रनमा पेभेलियन फर्किएका थिए ।
न्युजिल्यान्डका बलर म्याट हेनरीले चार विकेट लिए । यसैगरी नील वाग्नरले तीन, कोलिन डे ग्रान्डहोमले दुई र मिचेल सान्टनरले एक विकेट बाँडे । आइतबार नै आफ्नो पहिलो पाली सुरु गरेको घरेलु टोलीले कुनै पनि विकेट नगुमाई ६७ रन जोडेको छ । न्युजिल्यान्डका टम लाथम ४२ र जित राभल २५ रनमा अविजित रहेका छन् ।
तीन टेस्ट खेलको शृंखलाअन्तर्गत पहिलो खेल बराबरीमा सकिएको थियो । वेलिङ्टनमा भएको दोस्रो टेस्टमा दक्षिण अफ्रिका आठ विकेटले विजयी भएपछि घरेलु टोली यतिबेला शृंखला जोगाउन जित्नै पर्ने दबाबमा छ । न्युजिल्यान्ड भ्रमणमा दक्षिण अफ्रिकाले एक टीट्वेन्टी र पाँचवटा एकदिवसीय खेल पनि खेलेको थियो ।