महिला भलिबलका उदीयमान सात प्रतिभा
काठमाडौं : नेपाली खेलकुदमा पछिल्लो समय भलिबल खेलले निकै लोकप्रियता हासिल गरेको छ । हरेक महिनाजसो देशका विभिन्न भागमा भलिबल प्रतियोगिता आयोजना हुँदै आएका छन् । यस्ता प्रतियोगिताले थुप्रै प्रतिभावान् नयाँ खेलाडी पनि जन्माएको छ । पुरुषमा मात्र होइन, महिला भलिबलमा पनि थुप्रै नवप्रतिभाले आफ्नो क्षमता र योग्यताको प्रदर्शन गर्दै आएका छन् । पछिल्लो समय विभिन्न क्लब र टिमबाट खेल्दै आएका महिला भलिबल खेलाडीले आफ्नो सम्भावनालाई उजागर गरेका छन् । भलिबल खेलबाटै आफ्नो क्षमता र सम्भावनालाई उजागर गरेका केही उदीयमान खेलाडीले भावी दिनमा नेपालको भलिबल यात्रालाई अगाडि बढाउने विश्वास गरिएको छ ।
कामना विष्ट (स्पाइकर, नेपाल पुलिस क्लब)
जाजरकोटमा जन्मिएर महिला भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट आफ्नो लय समाउँदै गरेकी खेलाडी हुन्, कामना विष्ट । १७ वर्षीया कामनाले चार वर्षअघि खलंगाको त्रिभुवन उच्च माविबाट भलिबल खेलमा पाइला टेक्दै उज्ज्वल भविष्यको सपना सँगालेकी थिइन् । केही हदसम्म आफूलाई प्रमाणित गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफ्नो उदयको संकेत दिएकी कामनाले त्यसपछिका प्रतियोगितामार्फत महिला भलिबलमा थप उचाइ लिएकी छन् ।
टोलीमा ओपन स्पाइकरको अभावलाई पूर्ति गर्दै आएकी कामना महिला भलिबलमै आफ्नो भविष्य खोज्ने योजनामा छिन् । विद्यालयका आन्तरिक प्रतियोगिता हुँदै क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने क्रममा कामना गत वर्षदेखि पुलिस क्लबमा आबद्ध भएकी हुन् । एक वर्षको अवधिमै कामनाले शेरबहादुर खड्का स्मृति प्रतियोगिता, एनभीए कप, सातौं राष्ट्रिय खेलकुद, ढोरपाटन डबल लिगलगायतका ठूला प्रतियोगितामा आफ्नो क्षमता देखाइसकेकी छन् ।
प्लस टुको अध्ययन सकेपछि कामना भलिबलका साथै उच्च शिक्षालाई पनि सँगसँगै अगाडि बढाउने योजनामा छिन् । करारमा पुलिस क्लबमा आबद्ध भएर भलिबल खेलिरहेकी उनको लक्ष्य राष्ट्रिय टोलीको सदस्य बन्नु हो । छोटो अवधिमै कामनाले जुन गति लिएकी छन्, त्यसले उनका लागि छिट्टै राष्ट्रिय टोलीको ढोका खुल्ने संकेत दिएको छ ।
जानकी भण्डारी (लिफ्टर, त्रिभुवन आर्मी क्लब)
नेपाली सेनाको स्थायी जागिरे जानकी भलिबलमा आफ्नो भविष्य खोजिरहेकी छन् । डोटीमा जन्मिएकी उनी त्यहाँ हुने विद्यालयस्तरीय प्रतियोगितामा सहभागी भइरहन्थिन् । उनले भलिबल खेल्न आफैंले सिकिन् । सुरुमा आफूभन्दा ठूलाले खेलेको देखेर यो खेलप्रति उनको मन लोभिएको थियो । जानकी विद्यालय तहको शिक्षा पूरा गरेपछि नेपाली सेनामा भर्ती हुने तयारीमा जुटिन् । मेहनती र परि श्रमीलाई भाग्यले पनि साथ दिन्छ भनेझैं उनी सेनामा भर्ती हुन सफल पनि भइन् । यसबीचमा एक वर्ष आर्मीको ट्रेनिङ पनि गरिन् । उनले बन्दुक चलाउन सिकिरहँदा भलिबलसँग भने केही समय टाढिएकी थिइन् । सेनाको ट्रेनिङ पूरा गरेपछि उनी पुनः भलिबलमा फर्किइन् ।
अहिले जानकी आर्मीको भलिबल टोलीकी महत्वपूर्ण सदस्य छिन् । टोलीमा उनले लिफ्टरको भूमिका निर्वाह गरिरहेकी छिन् । उनले तीजको उपलक्ष्यमा पोखरामा आयोजना भएको खुला राष्ट्रिय भलिबल प्रतियोगिता, एनभीए कप, शेरबहादुर खड्का स्मृति प्रतियोगिता, सातौं राष्ट्रिय खेलकुदका साथै दुई पटक ढोरपाटन लिगमा समेत सहभागिता जनाइसकेकी छन् । नेपालको राष्ट्रिय टोलीमा उच्च कदका लिफ्टर नभएको अवस्थामा साढे पाँच फिट उचाइकी जानकीले राष्ट्रिय टोलीमा स्थान पाउने प्रबल सम्भावना छ । बललाई सरल रूपमा उठाउनुका साथै विपक्षीको शक्तिशाली प्रहारलाई ब्लकसमेत गर्न सक्ने क्षमताले उनी चाँडै नै राष्ट्रिय टोलीको सदस्य बन्न सक्ने देखिन्छ ।
पुनम चन्द (स्पाइकर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ)
पछिल्ला दिनमा भएका प्रतियोगिताहरूमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले सोचे अनुरूपको प्रदर्शन गर्न नसके पनि व्यक्तिगत रूपमा खेलाडीले भने आफूलाई प्रमाणित गर्न पछि परेका छैनन् । महेन्द्रनगरमा जन्मिएकी पुनम चन्द आफ्नो शिक्षा र खेललाई बुटवलको एभरेस्ट स्कुलबाट अगाडि बढाइरहेकी छिन् । उनले छोटो समयमै आफूलाई महिला भलिबलमा स्थापित गरेकी छन् ।
भलिबल खेल्न सुरु गरेको एक वर्षको अवधिमै पश्चिमाञ्चलको पहिलो सेटमा पर्न सफल पुनमले गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चलललाई कांस्य पदक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरिन् । भर्खर १५ वर्षमा पाइला टेकेकी पुनमले अहिले पश्मिाञ्चलको सेमी स्पाइकको भूमिका निर्वाह गरिरहेकी छन् । बुवा कबड्डीका खेलाडी भएका कारण उनलाई खेलकुदमा लाग्न समस्या परेन । परिवारकै सहयोगमा उनले खेलकुदलाई अगाडि बढाइरहेकी छन् । कक्षा ११ मा अध्ययनरत उनी पढाइसँगै भलिबललाई सँगसँगै अगाडि बढाउने योजनामा छिन् ।
तारा भण्डारी (स्पाइकर, ढोरपाटन स्पोर्ट्स क्लब)
२१ वर्षीया तारा भण्डारी बागलुङ बुर्तिवाङमा जन्मिएकी हुन् । त्यहीँको शिवालय उच्च माविमा कक्षा ६ पढ्दादेखि नै भलिबल खेल्न थालेकी उनले अहिलेसम्म थुप्रै प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् । सानै उमेरदेखि भलिबल खेल्दै आएकी ताराले ढोरपाटन भलिबल लिगमा आयोजक टोलीको कमान्ड सम्हालेकी थिइन् ।
एक महिनाअघि सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्दै कांस्य पदक जित्न सफल ताराले पहिलो पटक ढोरपाटनबाट खेलेकी हुन् ।
यसअघि खेलेका सबै प्रतियोगिता पश्चिमाञ्चलबाट खेलेकी उनी भलिबलकी प्रतिभावान् खेलाडीमा गनिन्छिन् । २०६९ सालमा राष्ट्रपति रनिङ सिल्ड खेलेकी उनले पोखरामा आयोजना भएको भलिबल, एनभीए कपलगायतका प्रतियोगितामा पश्चिमाञ्चलको जर्सी लगाएर खेलिन् । उनले ढोरपाटनलाई दोस्रो चरणमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।
मनीषा खाँड (स्पाइकर, त्रिभुवन आर्मी क्लब)
स्याङ्जा वालिङकी २१ वर्षीया मनीषा खाँडले नेपालकै चर्चित भलिबल खेलाडी बन्छु भनेर सायदै सोचेकी थिइनन् । विद्यालय जीवनको अधिकांश समय भलिबल उनको रोजाइको खेल बनेन । तर विद्यालयलाई बाईबाई गरेपछि भने उनले भलिबल खेल्न पाइन् । पाँच फिट सात इन्च अग्ली मनीषा आफ्नो उचाइकै कारण खड्काकाली माविको टोलीमा पर्न सफल भएकी थिइन् । उनले सो टोलीबाट राष्ट्रपति कप प्रतियोगिता खेलिन् ।
एसएलसीपछि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरुञ्जेल उनी भलिबलबाट टाढा रहिन् । तर दुई वर्षअघि नेपाली सेनाको स्थायी जागिरे भएपछि उनले नसोचेको क्षेत्रमा पाइला हालिन् । उनी विगत एक वर्षदेखि आर्मीको टोलीमा रहेर कप्तानका साथै क्विक स्पाइकको भूमिका निर्वाह गर्दै आएकी छन् । भलिबलबाट टाढा हुन सकिन्छ त भन्ने प्रश्नमा मनीषा भन्छिन्, ‘सानो हुँदा कहिले नसोचेको क्षेत्रमा लागेकी छु । अहिले भलिबल मेरो जीवनको अभिन्न अंग बनिसकेको छ । यसबाट टाढा हुने कल्पनासम्म गर्न सक्दिनँ ।'
पनामिका राई (स्पाइकर, न्यु डायमन्ड एकेडेमी)
पनामिका राई, भलिबल प्रशिक्षक कुमार राईको छोरी भएकैले भलिबल खेलमा लागेकी हुन् । अन्यथा उनको उचाइले भलिबल खेलाडी बन्न दिने थिएन । होचो कदकी भए पनि पनामिकाले सेकेन्ड स्पाइकरका रूपमा न्यु डायमन्ड एकेडेमीलाई शिखरमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । १७ वर्षीया पनामिकाले ३ कक्षा पढ्दादेखि नै भलिबल खेल्न थालेकी हुन् । सानै उमेरमा भलिबल सिक्ने अवसर पाएकी उनी विगत ६ वर्षदेखि लगातार टोलीको महत्वपूर्ण सदस्य रहँदै आएकी छन् । कदमा केही होचो भए पनि उनको मेहनत र परि श्रमले टोलीलाई भने उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
पनामिकाले सेकेन्ड स्पाइकरका रूपमा टोलीकी अर्की सदस्य प्रतिभा मालीलाई डटेर साथ दिँदै आएकी छन् । जसका कारण न्यु डायमन्डले नेपाली महिला भलिबलमा दबदबा कायम राख्दै आएको विभागीय टोलीलाई हरेक पटक चुनौती दिइरहेको छ । उनकै प्रेरणामा न्यु डायमन्डले तीजको अवसरमा पोखराको लामाचौरमा आयोजना हुँदै आएको खुला भलिबल प्रतियोगितामा ह्याट्रिक गर्न सफल भयो भने नेपाल भलिबल संघको आयोजनामा भएको एनभीए कपमा दुई पटक च्याम्पियन हुनुका साथै सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चल विकास क्षेत्रले रजत पदक जित्न सफल भयो ।
निरुता ठगुन्ना (स्पाइकर, त्रिभुवन आर्मी क्लब)
नेपाली सेनामा महिला भलिबल सुरु भएको धेरै समय भएको छैन । करिब तीन वर्षअघि सुरु भएकाले महिला भलिबलमा नेपाली सेना अन्य विभागीय टोलीभन्दा कमजोर छ । सबै नयाँ खेलाडीबाट सुरु भएको टोलीले पछिल्लो समय भने महिला भलिबलमा ठूलै सम्भावनालाई उजागर गरेको छ । नयाँ टोली भए पनि थुप्रै प्रतिभावान् खेलाडीको प्रवेशसँगै आर्मी क्लब महिला भलिबलमा छुट्टै छाप छोड्न सफल भएको छ।
आर्मी क्लबकै एक प्रमुख खेलाडी हुन्, निरुता ठगुन्ना । सुदूरपश्चिमाञ्चलको दार्चुलाकी १८ वर्षीया निरुताले आर्मी टिममा ओपन स्पाइकको भूमिका निर्वाह गर्दै आएकी छन् । उनकै प्रेरणामा पछिल्लो समय आर्मीले महिला भलिबलमा गर्विलो प्रदर्शन गर्दै आएको छ । निरुताले पनि रेजिङ र डिगिङ थालेको धेरै भएको छैन । सानै उमेरदेखि विद्यालयका पुरुष सहपाठीले खेलेको देखकी उनले आफू नौ कक्षामा हुँदा पहिलो पटक भलिबल खेलिन् ।
धुलिगढाको जनहित माविको टोलीबाट विभिन्न विद्यालयस्तरीय प्रतियोगिताका साथै राष्ट्रपति रनिङ सिल्डमा आफ्नो कला देखाइन् । त्यसपछि ओपन स्पाइकर निरुताले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट विभिन्न प्रतियोगितामा सहभागिता जनाइन् । करारमा नेपाली सेनामा आबद्ध भएकी निरुताले गत भदौमा पोखराको लामाचौरमा सम्पन्न प्रतियोगितादेखि पहिलो रोजाइको खेलाडीका रूपमा टोलीमा स्थान बनाउँदै आएकी छन्।