नेपाललार्इ भलिबलमा ऐतिहासिक पदक
काठमाडौं : नेपाली भलिबलले पहिलो अन्तर्राष्ट्रिय पदक पक्का गरेको छ । माल्दिभ्समा जारी एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाली पुरुष भलिबल टोलीले कम्तीमा कांस्य पदक पक्का गरेको छ, जुन नेपाली महिला र पुरुष भलिबल टोलीले एभीसी र अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ) बाट आयोजित तथा मान्यता प्राप्त प्रतियोगितामा जितेको पहिलो पदक हो ।
प्रतियोगिताअन्तर्गत आइतबार आयोजक माल्दिभ्स किर्गिस्तानसँग पराजित भएसँगै चार टोली सम्मिलित प्रतियोगितामा नेपालको कांस्य पदक पक्का बनेको हो । सन् १९७६ मा पाकिस्तानमा भएको काइदेआजम भलिबल प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको नेपाली भलिबलले यसअघि एभीसी र फिभको प्रतियोगितामा पदक जित्न सकेको थिएन । कम्तीमा नेपाली भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाली पुरुष भलिबलले कुनै पनि पदक जित्न सकेन ।
नेपाली महिला भलिबलले भने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तीन पटक कांस्य पदक जितेको छ । नेपाली महिला टोलीले नेपालमै भएको आठौं, श्रीलंकामा भएको १०औं र भारतमा गत वर्ष भएको १२औं साग खेलकुदमा कांस्य पदक जितेको थियो । यद्यपि साग खेलकुदलाई एभीसी र फिभले मान्यता दिएको छैन ।
नेपालले मंगलबार किर्गिस्तानसँग सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्दै छ । किर्गिस्तानलाई पराजित गरेको अवस्थामा नेपालले जारी प्रतियोगितामा तुर्कमिनिस्तानविरुद्ध फाइनल खेल्नेछ । तुर्कमिनिस्तान प्रतियोगिताको तीनवटै खेलमा जित हात पार्दै यस अघि नै फाइनलमा पुगिसकेको छ । नेपालले एक तथा किर्गिस्तानले दुई खेलमा जित हात पारेको छ । सोमबार किर्गिस्तानविरुद्ध नै भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भने नेपाल पराजित भएको छ ।
नेपाल किर्गिस्तानसँग ३-१ को सेटमा पराजित हुन पुग्यो । नेपाल किर्गिस्तानविरुद्ध २५-२०, १३-२५, १५-२५, ११-२५ ले पराजित हुन पुग्यो । नेपाल खेलमा पहिलो सेट जितेर पनि पराजित हुन पुग्यो । पहिलो सेट पछि नेपालले लगातार तीन सेट गुमाएको थियो ।