चौधरी समूहको नेपालमा ५० अर्ब लगानी थपिँदै

चौधरी समूहको नेपालमा ५० अर्ब लगानी थपिँदै

काठमाडौंः चर्चित व्यावसायिक घराना चौधरी समूहले तीन वर्षभित्र नेपालमा ५० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । समूहले हस्पिटालिटी, चाउचाउ, सिमेन्ट, बियर, जलविद्युत्, हाउजिङ, उद्योग पार्कलगायतमा ठूलो लगानी गर्न लागेको हो । नेपाल लगानीका लागि प्राथमिकतामा रहेको बताउँदै समूहले बिजनेस विस्तारमा ठूलो लगानी गर्ने घोषणा गरेको हो । यो लगानीले मुलुकमा साढे दुई हजार रोजगारी सिर्जना गर्ने बताइएकाे छ ।

समूहका अध्यक्ष विनोद चौधरीले नेपाललाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए । ‘धेरै परियोजनाको धमाधम काम भइरहेको छ, कतिपय परियोजना पाइप लाइनमा छन्’, सोमबार पत्रकार सम्मेलन गरी उनले भने, ‘तीन वर्षभित्र अधिकांश परियोजना सञ्चालनमा आइसक्नेछन् ।’ चौधरी समूह वाइवाइ चाउचाउ र होटेलको विश्वव्यापी विस्तारमा लागेको छ । अहिले वाइवाइ चाउचाउ तीन दर्जन मुलुकमा निर्यात हुन्छ । छिट्टै युरोपको सर्बिया, साउदी अरेबिया, बंगलादेशमा वाइवाइ प्लान्ट सञ्चालनमा आउँदैछन् । समूहले नेपाल, भारत, चीन, श्रीलंका, माल्दिभ्स, अमेरिका, अफ्रिका लगायतका मुलुकमा लक्जरी होटेल सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय चौधरी विदेशतिर बिजनेस विस्तारमा केन्द्रित भएको आरोप लाग्दै आएको थियो । लगानीका लागि नेपाल प्राथमिकतामा रहेको पुष्टी गर्न ठूलो लगानी गर्न लागेको समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘चौधरी समूहले धेरै लगानी विदेशमा गरिरहेको भन्ने गलत सन्देश गएको छ’, उनले भने, ‘तर हामीले नेपालमै लगानी बढाइरहेका छौं, धेरै रोजगारी पनि नेपालमै सिर्जना भइरहेको छ ।’ लगानीका लागि नेपाललाई सँधै प्राथमिकतामा राखेको उनको भनाइ छ ।

समूहले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम र सुनसरीमा वाइवाइको नयाँ प्लान्ट सञ्चालनमा ल्याउँदैछ । नवलपरासीको प्लान्टमा ३० करोड र सुनसरीको प्लान्टमा ५० करोड लगानी गर्न लागेको निर्वाणले बताए । दुई प्लान्टको उत्पादन क्षमता वार्षिक २८ करोड ८० लाख प्याकेट हुनेछ । नवलपरासीमा अहिले वाइवाइका चारवटा प्लान्ट सञ्चालनमा छन् । एक वर्षअघि बर्दियामा वाइवाइको प्लान्ट सञ्चालनमा आइसकेको छ ।

नवलपरासीकै उद्योग ग्राममा रहेको रियो जुसको पनि क्षमता विस्तार गरिने भएको छ । रियोको क्षमता विस्तारमा २५ करोड लगानी थपिँदैछ । यस्तै, बियरको क्षमता बढाउन एक अर्ब लगानी हुँदैछ । अहिले नेपाली बजारमा काल्र्स वर्गपछि सीजी ब्रुअरीको नेपाल अाइस दोस्रो स्थानमा रहेको निर्वाणले बताए । नवलपरासीमै सञ्चालनमा रहेको प्याकेजिङ उद्योगको पनि क्षमता बढाउन लागिएको छ । प्याकेजिङको क्षमता बढाउन २० करोड लगानी हुँदैछ । पाल्पामा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । समूहले पाल्पामा क्लिकर उत्पादनका लागि साढे आठ अर्ब लगानी गर्न लागेको छ । यो मुलुककै ठूलो क्लिकर उद्योग हुने निर्वाणले दाबी गरे । नवलपरासीको दुम्किवासमा ९५ करोड रुपैयाँ लगानी थपेर ग्रान्डिङ क्षमता बढाउन लागिएको छ ।

चौधरी समूहले जलविद्युत्मा पनि आक्रमक रूपले लाग्ने घोषणा गरेको छ । चौधरीकै लगानीमा मध्य मोदी (१५.१ मेगावाट) र सुपर मादी (४४ मेगावाट) क्षमताका दुईवटा हाइड्रो परियोजना धमाधम निर्माण भइरहेका छन् । मध्य मोदीमा दुई अर्ब ८० करोड र सुपर मादीमा सात अर्ब ५० करोड लगानी हुँदैछ । समूहले स्टोरेज हाइड्रो परियोजनासमेत निर्माण गर्ने घाेषणा गरेकाे छ । झन्डै ६० मेगावाटको परियोजनामा १७ अर्ब लगानी गर्न लागेको निर्वाणले जानकारी दिए ।

चौधरी समूह रियल स्टेट बिजनेस (सामुहिक अावास)मा पनि उत्तिकै अगाडि छ । समूहले सीजी हिल्स, एमभीआर, काठमान्डू रेसिडेन्सी र सीजी ल्यान्डमार्कमा लगानी गरिरहेको छ । सीजी हिल्समा ८५ करोड, एमभीआरमा दुई अर्ब १६ करोड र काठमाडौं रेसिडेन्सीमा एक अर्ब ६२ करोड लगानी छ । यस्तै सीजी ल्यान्डमार्कमा दुई अर्ब लगानी हुने बताइएको छ ।

चितवनको भरतपुरमा निर्माण भइरहेको सीजी ल्यान्डमार्कमा रिटेल पसल, रिक्रियसन सेन्टर, मल्टिप्लेक्स, होटेल, रेस्टुरेन्ट, बैंक, ट्राभल कम्पनीलगायत रहनेछन् । यो कम्प्लेक्स यही अक्टोबरदेखि सञ्चालनमा आउँदैछ । यो भरतपुरकै आकर्षणका रूपमा रहने समूहको विश्वास छ । यसैगरी ललितपुरको पुल्चोकमा हाइएन्ड सर्भिस्ड अपार्टमेन्ट कम्प्लेक्स निर्माण हुँदैछ । यसमा ७८ अपार्टमेन्ट रहनेछन् । करिब तीन अर्ब लगानी रहने अपार्टमेन्टमा रुफ टप स्विमिङ पुल, हेल्थ क्लव, रेस्टुरेन्ट, चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ सुविधा हुनेछ । यो कम्प्लेक्स सन् २०२० सम्म सञ्चालनमा ल्याउने लक्ष्य छ ।

चौधरी समूहले सामुहिक अावास र सपिङ कम्प्लेक्स पूर्वमा धरान, इटहरी र विराटनगरमा पनि बनाउने घाेषणा गरेकाे छ । यस्तै, पश्चिमको पोखरा र भैरहवामा पनि हाउजिङ/कम्प्लेक्स बनाउने तयारी भइरहेको छ । निर्वाणका अनुसार धरान, इटहरी र विराटनगरमा काम समेत अगाडि बढिसकेको बताइएको छ । समूह नेपालमा होटेल विस्तारमा पनि आक्रमक ढंगले प्रस्तुत भएको छ । यही वर्ष चितवनको मेघौलीमा लक्जरी सफारी रिसोर्ट मेघौली सेराइ सञ्चालनमा ल्याएको छ । यो रिसोर्टमा ७० करोड रुपैयाँ लगानी भएको छ । ललितपुरको सानेपामा रहेको समिट होटेलको विस्तार गरिँदैछ । समिटमा एक सय २० कोठा थपेर वल्र्डक्लास लक्जरी बुटिक होटेल बनाउन लागिएको हो । होटेलको स्तरोन्नतिमा दुई अर्ब लगानी हुने अनुमान छ ।

ललितपुरकै झमेलमा चारतारे बिजनेस होटेल ‘जिंक सिटी झमेल’ निर्माण भइरहेको छ । यो होटेलमा एक सय १४ कोठा हुनेछन् । यसमा डेढ अर्ब लगानी हुनेछ । नवलपरासीको हर्कपुरमा आयुर्वेदिक वेलनेस रिसोर्ट निर्माण भइरहेको छ । यसलाई हेल्थ केयर सेन्टरका रूपमा विकास गर्न लागिएको हो । करिब ५० करोड लगानी रहने रिसोर्टमा १८ वटा भिल्ला हुनेछन् । ललितपुरको बागडोलमा सर्भिस अपार्टमेन्ट काठमाडौं रेसिडेन्सी सञ्चालनमा आउँदैछ । यसमा ५० करोड लगानी हुनेछ । चौधरी समूह बहुराष्ट्रिय कम्पनी बनिसकेको छ ।

‘हामी कठिन समयमा पनि बिजनेस विस्तारमा निरन्तर लागिरह्यौं, उद्योग/व्यवसाय थप्दै गयौं, कहिल्यै पछाडि परेनौंं’ विनाेद चौधरीले भने, ‘त्यसैको परिणाम अहिले आइरहेको छ ।’ सन् १९९५ तिर समूहका चारवटा मात्रै बिजनेस ‘भर्टिकल’ थिए । अहिले बिजनेस भर्टिकल बढेर १६ पुगिसकेका छन् । २७ वर्षको दौरानमा चौधरी समूह बहुराष्ट्रिय कम्पनी बनेको उनको भनाइ छ । फोब्र्स पत्रिकाका अनुसार चौधरीसँग एक अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.