आन्तरिक उत्पादन एक लाख मेट्रिक टन
काठमाडौः देशभरका चिनी उद्योगमा उखुको क्रसिङ सकिएको छ । देशभर १३ वटा चिनी उद्योग छन् । गत मंसिर १५ गतेदेखि सुरु भएको क्रसिङ यही चैत १५ गते सकिएको हो । १३ वटा उद्योगले उखु क्रसिङ गरी यो वर्ष करिब एक लाख पाँच हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् ।
नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले यो वर्ष अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले चिनी उत्पादन घटेको जानकारी दिए । प्रत्येक तीन/तीन वर्षमा हुने साइक्लिङ समस्याका कारण चिनीको उत्पादनमा ह्रास आएको हो । ‘प्रत्येक तीन वर्षमा साइक्लिङ प्रक्रियाका कारण चिनीको उत्पादन वृद्धि हुने र कम हुने समस्या आउँछ', अध्यक्ष अग्रवालले भने, ‘यो वर्ष कम उत्पादन हुने साइक्लिङ परेकाले ३० प्रतिशतले कमी आएको छ । तर अर्को वर्ष राम्रो उत्पादन हुन्छ ।'
एसोसिएसनका अनुसार यो वर्ष नेपालको ठूलो चिनी उद्योग एभरेस्ट सुगर मिलले २६ लाख उखु क्रसिङ गरी करिब दुई लाख ३५ हजार क्विन्टल, सोही परिमाणमा इन्दुशंकर मिलले पनि उखु क्रसिङ गरी २३ हजार पाँच सय क्विन्टल चिनी उत्पादन गरेको छ । सिरहाको चौहर्वामा यसै वर्षदेखि सञ्चालनमा आएको ठूलो कारखाना हिमालय सुगर मिलले परीक्षण उत्पादन अन्तर्गत पाँच लाख मेट्रिक टन उखु क्रसिङ गरी ४५ हजार क्विन्टल चिनी उत्पादन गरेको छ ।
यस्तै श्रीराम सुगर मिलले ५२ हजार दुई सय ७५ क्विन्टल, लुम्बिनीले ३७ हजार आठ सय १९, अन्नपूर्णले ८५ हजार नौ सय ६२, इन्दिराले ३४ हजार ६ सय ५६ र इस्टर्न सुगम मिलले ७४ हजार ६९ क्विन्टल चिनी उत्पादन गरेका छन् । यस्तै रिलायन्स मिलले १८ हजार क्विन्टल चिनी उत्पादन गरेको छ । अन्य साना उद्योग महांकाल, महालक्ष्मी, महाकाली, बागेश्वरीलगायतका उद्योगले पनि चिनी उत्पादन गरेका छन् । ‘सबै उद्योगबाट यो वर्ष करिब एक लाख पाँच हजार मेट्रिक टनको हाराहारीमा मात्रै चिनी उत्पादन भयो', अध्यक्ष अग्रवालले अन्नपूर्णसँग भने । उनका अनुसार उखुबालीलाई चैतदेखि जेठसम्म एकनासको पानी आवश्यक पर्छ ।
‘तर जम्ने पानी हुनु हुँदैन',उनले भने, ‘जम्ने पानी भयो वा पानी नै परेन भने उखुमा फाइवरको परिमाण बढ्ने र उखुमा चिनीको प्रतिशत घट्दै जान्छ । यसले गर्दा चिनीको उत्पादनमा कमी आउँछ ।' यो वर्षको गत जेठ र असारमा ठूलो पानी पर्यो । धानबालीलाई उक्त पानीले राम्रो प्रतिफल दिए पनि उखुबालीलाई भने नोक्सानी पुर्यायो । ठूलो पानी पर्दा किसानले समयमा उखुबालीमा खनजोत गर्न पाएनन् । खनजोत गर्न नपाउँदा उखुबालीमा फलेको घाँसका कारण उखुमा फाइवरको परिमाण निकै बढेका कारण रिकभरी प्रतिशत घट्दा चिनीको उत्पादनमा कमी आएको अग्रवालको भनाइ छ ।
गत वर्ष २०७२/७३ मा सबै उद्योग गरी एक लाख ४७ हजार मेट्रिक टन र अघिल्लो वर्ष १० उद्योगबाट एक लाख ८८ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । अग्रवालका अनुसार नेपालका प्रायःचिनी उद्योगले किसानलाई खरिद गरिएको उखुको भुक्तानीसमेत दिइसकिएको छ । उनले भने,‘यो वर्ष भुक्तानीको गुनासो आउँदैन ।'
नेपालमा वार्षिक दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग छ । स्वेदेशी उत्पादनले बजारको माग नथेगेपछि साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी आयात गर्दैआएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार नेपालमा वार्षिक दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग छ । स्वेदेशी उत्पादनले बजारको माग नथेगेपछि कर्पोरेसनले भारतबाट चिनी आयात गर्दैआएको छ । उत्पादनको अभाव भएको बेलामा सीमा क्षेत्रबाट तस्करी गरी करिब ३० हजार मेट्रिक टनको हाराहारीमा चिनी नेपाली बजारमा आउने गरेको छ । मागअनुसार चिनी स्वदेशी उद्योगमा उत्पादन नहुँदा कर्पोरेसनले बर्सेनि भारतबाट चिनी आयात गरी बिक्रेतामार्फत बिक्री गर्दैआएको छ । कर्पोरेसनले चालू आर्थिक वर्षका लागि करिब पाँच अर्ब मूल्य बराबरको ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउन प्रक्रिया अघि बढाएको छ ।