छुर्पी उद्योगबाट मासिक एक लाख आम्दानी
तेह्रथुम: श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ-७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत।
छवर्ष मलेसिया बस्दा उहाँले निकै दुःख पाउनुभयो । घर जग्गा धितो राखेर उनी विदेश पुगे। 'विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाइ गर्न सकिने रहेछ,” बस्नेतले भन्नुभयो । मलेसियाबाट फर्केपछि अहिले उहाँले गाउँमै दुग्ध परिकार उद्योग खोलेको छ।
सुरुमा चारजना साथीसँग मिलेर खोलेको सो उद्योग उनले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहेका छन्। बस्नेतको दुग्ध परिकार उद्योगमा हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ। उद्योगबाट मासिक करिब सात क्विन्टल छुर्पी, चार सय किलो नौनी उत्पादन हुने गरेको उनले बताए।
'पनिर माग गरेअनुसार मात्रै बनाइन्छ। उत्पादित छुर्पी र नौनीका लागि बजारको कुनै समस्या छैन, घरैबाट बिक्री हुन्छ,' उनले भने। उत्पादित छुर्पी इटहरीहुँदै काठमाडौँ तथा अमेरिकातर्फ समेत निर्यात गरिन्छ । नौनी ऊर्लाबारी, विराटनगर, धरानलगायत सहरमा खपत हुन्छ।
हाल बस्नेतले छुर्पी घरैबाट प्रतिकिलो रु ८५० र नौनी प्रतिकिलो रु पाँच सयमा बिक्री गरिरहेका थिए। उद्योगबाट मासिक रु १० लाख सम्मको कारोबार हुने गरेको उनले बताए। सबै खर्च कटाएर रु एक लाखसम्म बचत हुन्छ।
प्रतिलिटर रु ४५ मा उहाँले दूध खरिद गर्छन्।उद्योगमा दैनिक ६ सय लिटरसम्म दूध खपत हुन्छ। रु सात लाख लगानी रहेको सो उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ। रासस