क्रिकेटलाई ओलम्पिक खेल बनाउने तयारी
दुबईः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का प्रमुख कार्यकारी डेभिड रिचर्डसनले क्रिकेटलाई ओलम्पिक खेलको मान्यता दिलाउने तयारी भइरहेको संकेत दिएका छन् । उनका अनुसार आईसीसीले क्रिकेटलाई सन् २०२४ मा हुने ओलम्पिक खेलकुदमा समावेश गर्नका लागि अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) सँग अनुरोध गर्ने निर्णय गर्ने भएको छ ।
क्रिकेटलाई ओलम्पिक खेल बनाउने विषयमा यसअघि नै बहस चल्दै आए पनि सफल हुन सकेको छैन । यद्यपि लन्डनमा भएको खेलकुदसम्बन्धी एक सम्मेलनमा बोल्दै रिचर्डसनले आईसीसी त्यसका लागि आधिकारिक निर्णयसहित अघि बढ्न लागेको संकेत गरेका हुन् । उनका अनुसार ओलम्पिकमा क्रिकेटको टीट्वेन्टी ढाँचालाई समावेश गर्ने तयारी भइरहेको छ । क्रिकेट ओलम्पिकमा सहभागी भए ६ देखि आठवटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
‘हामीले त्यसका लागि जुलाईभित्र निर्णय गरिसक्नुपर्नेछ । त्यसपछि मात्रै हामी आईओसीमा सेप्टेम्बरसम्म आवेदन दिन सक्छौं', रिचर्डसनले भने, ‘मैले बुझेसम्म आईओसीले सन् २०२४ को ओलम्पिकका लागि नयाँ खेलको रूपमा क्रिकेटलाई समावेश गर्ने सम्बन्धमा सोच्ने छ । मसहित आईसीसीका धेरै सदस्यले निर्णयका लागि यो सही समय भएको महसुस गरेका छौं । यसले क्रिकेटलाई विश्वव्यापी बनाउन अझ मद्दत पुर्याउनेछ ।'
सन् २०२४ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जलस वा फ्रान्सको पेरिसमध्ये एक सहरले आयोजना गर्नेछ । ओलम्पिक खेलकुदमा यसअघि एकपटक मात्र क्रिकेटलाई समावेश गरिएको छ । सन् १९०० मा पेरिसमै भएको ओलम्पिक खेलकुदमा क्रिकेट समावेश थियो । यद्यपि त्यसपछि यसले निरन्तरता पाउन सकेन । ‘टीट्वेन्टी ढाँचाको क्रिकेट ओलम्पिकका लागि निकै सुहाउने खेल हो । हाम्रो विचारमा रग्वी सेभेनभन्दा पनि टीट्वेन्टी क्रिकेट ओलम्पिकका लागि प्रभावकारी हुनेछ', रिचर्डसनले भने ।
क्रिकेटलाई ओलम्पिकमा सहभागी गराउने विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को भने अवरोध देखिएको छ । तर, इङ्लिस क्रिकेट कोडले यसअघि विरोध गरे पनि कोलिन ग्रभ्स नयाँ अध्यक्ष चुनिएपछि उनले क्रिकेटलाई ओलम्पिमा पुर्याउने विषयमा सकारात्मक धारणा व्यक्त गर्दै आएका छन् ।