फिफा वरियतामा नेपाललाई भुटानले उछिन्यो, भारतको ठूलो फड्को
काठमाडौंः फिफा वरियतामा भारतले ठूलो फड्को मार्दा नेपाललाई भने भुटानले उछिनेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा भारत ३१ स्थानमाथि उक्लिँदै १०१ औं स्थानमा रहन सफल भएको छ।
नेपाल भने १७० औं स्थानमा यथावत छ। नेपाललाई उछिनेको भुटान १३ स्थानमाथि उक्लिँदै १६४ औं स्थानमा पुगेको छ। यसैगरी माल्दिभ्स ११ स्थान तल झर्दै १५१ औं स्थानमा पुगेको छ भने तीन स्थान सुधार गरेको अफगानिस्तान १५३ औं स्थानमा उक्लिएको छ।
बंगलादेश १९३ औं स्थानमा रहँदा श्रीलंका १९७ औं स्थानमा यथावत छ।
फिफा वरियतामा एक स्थान सुधार गरेको ब्राजिल शीर्ष स्थानमा रहन सफल भएको छ भने एक स्थान तल झरेको अर्जेन्टिना फिफाको दोस्रो स्थानमा छ। तेस्रो स्थानमा जर्मनी यथावत छ भने चौथो स्थानमा चिली रहेको छ। दुई स्थान सुधार गरेको कोलम्बिया पाँचौ स्थानमा छ।