अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन
काठमाडौंः प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बन्यो। सशस्त्र प्रहरी बल (एपीएफ) दोस्रो भयो ।
एपीएफले दुर्इ स्वर्ण र दुई कास्यपदक हात पार्दै दोस्रो स्थान हात पारेको हो। एक स्वर्ण, दुई रजत र दुई कास्य पदक हात पार्दै पूर्वाञ्चल तेस्रो स्थानमा रह्यो। टिमपुम्से विधातर्फ नेपाल आर्मीले स्वर्ण, मध्यमाञ्चलले रजत तथा एपीएफ र पूर्वाञ्चलले कास्य जित्यो । एकल पुम्सेतर्फ सुदूरपश्चिमाञ्चलकी रीता श्रेष्ठले स्र्वण, सुदूरपश्चिमाञ्चलकी निता गुरुङ रजत तथा मध्यमाञ्चलकी नमिता मोक्तान र भारतकी मुक्ता गुप्ताले कास्य जितिन्।
सिनियर फाइटतर्फको ६७ केजी तौल समूहमा आर्मीकी नम्रता तुलाधरले स्वर्ण, मध्यपश्चिमाञ्चलकी कमला नेपालीले रजत तथा सुदूरपश्चिमकी आकृती कार्की र पश्चिमाञ्चलकी ममता गर्बुजाले कास्य पदक जिते। ६२ केजी तौल समूहमा पूर्वाञ्चलकी सन्ध्या सिहंले स्वर्ण, आर्मीकी मुस्कान कार्की रजत तथा मध्य पश्चिमाञ्चलकी मिना पुन र पश्चिमाञ्चलकी अनिसा केसीले कास्य जितिन्। ५७ केजी तौल समूहमा आर्मीकी रेश्मा थापाले स्वर्ण, पूर्वाञ्चलकी सिना मादेन रजत तथा मध्यमाञ्चलकी अस्मिता पुन र भारतकी आक्रिन मदेरले कास्य हात पारे।
त्यस्तै ५३ केजी तौल समूहमा भारतकी सिवानी ठाकुरले स्वर्ण,नेपालकी कल्पना चौधरीले रजत पदक हात पारिन्। पूर्वाञ्चलकी सुनीता तामाङ र सुदूरपश्चिमाञ्चलकी पार्वती भण्डारीले कास्य पदक पाए। ४४ केजी तौल समूहमा आर्मीकी योगमाया श्रेष्ठले स्वर्ण, पूर्वाञ्चलकी सुशीला बुढाथोकी रजत, तथा मध्यमाञ्चलकी बिना गुरुङ र सुदूरपश्चिमाञ्चलक चन्दा घर्तीमगरले कास्य जिते । ४२ केजीमा एपीएफकी दक्षिणा ठकुरीले स्वर्ण, आर्मीकी सिना श्रेष्ठ रजत तथा पश्चिमाञ्चलकी पुजा तुराहा र मध्यमाञ्चलकी नमुना श्रेष्ठले कास्य जितिन्।
दुई दिने प्रतियोगितामा फाइटतर्फ भारतकी शारदा दिक्षित र पुम्सेतर्फ आर्मीको टिम बेस्ट बेस्ट प्लेयर चुनिए। उनीहरुले दुवैले ५१ हजार नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी ४६ केजीमुनि आर्मीकी काजल श्रेष्ठले स्वर्ण, भारतकी कृतिका ठाकुरले रजत तथा ४९ केजीमा एपीएफकी अस्मीता खड्काले स्वर्ण र भारतकी शारदा दिक्षितले रजत जितिन्।
नेपाल तेक्वान्दो सङ्घको महिला सशक्तिकरण समितिको आयोजनामा गरेको दुई दिने उक्त प्रतियोगितामा भारत कोरिया र नेपालका तीन विभागीय टोलीसहित पाँच विकास क्षेत्रका महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए।