धनगढी प्रिमियर लिगको तयारी पूरा
धनगढी : आइतबारबाट सुरु हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
एकेडेमीका निर्देशक सुवास शाहीले प्रतियोगिताका लागि मैदानको तयारी समाप्त भएको जानकारी दिए । 'क्युरेटर अजय पाण्डे दुई महिनादेखि मैदानमा खटिनुभएको छ । उहाँले प्रतियोगिताका लागि पिच तयार पारिसक्नुभएको छ’, शाहीले भने, 'मैदानसहित प्रतियोगिताका लागि अन्य तयारीसमेत पूरा गरिसकेका छौं ।’ पत्रकार सम्मेलनमा उपस्थित क्युरेटर पाण्डेले यसपटक खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरको पिचमा खेलेको महसुस गर्ने बताए ।
यसपटक दर्शकलाई ध्यानमा राखी अस्थायी प्याराफिट निर्माण गरिएको छ । दर्शकका लागि आयोजले ३० रुपैयाँ, ५० रुपैयाँ, ८० रुपैयाँ र १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको जनाएको छ । टिकटबाट संकलित रकममध्ये २० प्रतिशत धनगढी क्रिकेट एकेडेमीका दिवंगत प्रशिक्षक अर्जुन खड्काको परिवारलाई, १५ प्रतिशत फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण तथा सहभागी टोलीहरूलाई १५ प्रतिशत रकम दिइने आयोजकले जनाएको छ । पहिलोपटक राष्ट्रिय स्तरमा अक्सन गरी सञ्चालन गर्न लागिएको प्रतियोगितामा ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताका लागि गत पुसमा राजधानीमै एक सय १७ खेलाडीको अक्सन गरिएको थियो ।
आयोजकले प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेता टोलीले सात लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ । प्रतियोगितामा राष्ट्रिय टोलीका खेलाडीहरूको कप्तानीमा रहेका ६ टोलीको सहभागिता रहनेछ ।प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा, ज्ञानेन्द्र मल्लको कप्तानीमा सीवाईसी अत्तरिया, शरद भेषावकरको कप्तानीमा विराटनगर किङ्स, वसन्त रेग्मीको कप्तानीमा काठमाडौं गोल्डेन्स, शक्ति गौचनको कप्तानीमा रूपन्देही च्यालेन्जर्स र विनोद भण्डारीको कप्तानीमा कञ्चनपुर आइकोनिकले प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजक-११ र धनगढी-११ बीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।