युरोपको नाट्यशाला
युरोपको विकास नमुना हेर्दा लाग्छ' अब यहाँ विकास गर्नुपर्ने के नै छ र ? हुन पनि विकसित मुलुकमा विकास-बजेट नै हुँदैन रे। त्यहाँको समाज हाम्रोभन्दा फरक छ। तैपनि समाजका विकृति भने हाम्रैजस्तो रहेछन्।
बाहिर हिउँ परिरहेको छ। हामी मारिबोर सहरबाट गाडीमा हुइँकिइरहेका छौं, चेलियातर्फ। ७ बजे त पुगिसक्नुपर्छ।'आज तपाईंलाई कल्चर हाउसमा नाटक देखाउनुछ', वीरमानले स्टेरिङ घुमाउँदै भने। त्यही कल्चरल हाउसमा उनको योगा गर्ने कोठा छ।
त्यहाँ तीनचारपटक नै पुगे पनि मलाई त्यहाँ नाटक देखाइन्छ भन्ने थाहा थिएन, वीरमानले पनि भनेका थिएनन्। यहाँ समयप्रति पक्का मान्छेहरू छन्। ७ बजे सबैजना जम्मा भइसके। नाटकको रियल्सल चलिरहेको छ। त्यसअघि मानिसहरू गम्भीर छलफलमा जुटेका छन्। सबै आआफ्नो कमीकमजोरी र आगामी कार्यक्रमबारे छलफल गर्दैछन्।
मानिसहरू करिब बीस मिनेटको छलफलपछि स्टेजमा आआफ्नो रोल गर्दैछन्, हामी हेरिरहेका छौं। लाइट म्यानदेखि नाटक खेल्ने, हेर्ने सबै चुस्त टिम। व्यवस्थापन कस्तो तन्दुरुस्त। निर्देशक भिन्चेयस सेन्टोच्निक ७२ वर्षका भए, आफैं नाटक खेलिरहेका। अर्को अचम्मको कुरा, यहाँ कोही बेरोजगार छैनन्, राज्यले हामीलाई हेरेन भनेर गुनासो गर्दैनन्, सम्मान र पुरस्कारका लागि कसैले कसैलाई सोर्स लगाउँदैन। कति सहज यहाँका मान्छे।
रातारात साहित्यकार बनेर राष्ट्रिय सम्मान, पुरस्कार पाएका हाम्रा साहित्यकारलाई सम्झेँ— स्लोभेनियामा। एकदुई नाटकमा अभिनय गरेपछि वरिष्ठको पगरी गुथेका हाम्रा सर्जकलाई सम्झेँ, पार्टीको झोला बोकेर प्राज्ञ बनेका विद्वान्लाई सम्झेँ। जति सम्झे पनि हाम्रो बेथितिलाई सुधार्ने कोही निस्केनन्।
यो प्रेक्षालयमा नाटक मञ्चन गर्ने कोही प्रहरीमा जाग्रिे, कोही इन्जिनियर कोही नगरपालिकामा काम गर्ने, कोही व्यापारी, कोही मोटर मिस्त्री रहेछन्। निर्देशक भिन्चेयस सेन्टोच्निक आफैं पनि फायरमेन रहेछन्— चेलिया सहरको फायरमेन प्रमुख। ७२ वर्षको उमेरमा पनि कहिल्यै फुर्सद छैन उनलाई। थकानको अनुभूति पनि छैन।
जब फुर्सद मिल्छ आफ्नो वर्कसपभित्र पसेर कम्युटरमा अल्मलिइरहेका हुन्छन्। त्यत्तिकै अल्मलिएका होइनन्, त्यही नाटक लेख्ने, उल्था गर्ने र निर्देशन गर्ने तरिका सिकिरहेका हुन्छन्। भन्छन्, ‘अभिनय यस्तो होस्, त्यसमा समाजमा घटेको, भइरहेको तीतो यथार्थ झल्कियोस्। यस्तो हुन सकेन भने त्यो अभिनय नै होइन। दर्शकलाई निराश बनाउनु भनेको हामीले आफ्नै खुट्टामा बन्चरो हान्नु हो।'
भिन्चेयस सेन्टोच्निक दुईपटक नेपाल आइसकेका छन्। दुवैपटक मैले भेटेको थिएँ, त्यति लामो कुराकानी भएको थिएन। उनी नाटक खेल्छन्, निर्देशन गर्छन् भन्ने जानकारी पनि भएन। म स्लोभेनिया पुगेको केही दिनपछि थाहा पाएँ र त्यहाँको नाटकबारे जान्न मन लाग्यो। बूढाले त म पुगेको दुई दिनपछि नै नाटक देखाउने कुरा गरे।
७२ वर्षे भिन्चेयस सेन्टोच्निक चेलिया सहरको फायरमेन रहेछन्। व्यस्त समयबीच जब फुर्सद मिल्छ, आफ्नो वर्कसपभित्र पसेर नाटकका स्क्रिप्टमा अल्मलिन थाल्छन्।
युरोप पूरै सेताम्मे छ, कसैले पाउडर छरिदिएजस्तो। वीरमान पनि अनौठा कुरा गरिरहेका छन्। ‘सर आज हिउँ धेरै परेको छ, स्विमिङ जाऔं', म अक्क न बक्क पर्छु। नाटकका निर्देशक भिन्चेयस सेन्टोच्निक पनि स्विमिङ जान हौस्याइरहेका छन्। स्विमिङ कस्टम खोज्न चाइनिज स्टोरमा पुग्यौं। बल्लबल्ल भेटियो। वीरमानको छोरा पनि स्विमिङ जान तम्सियो। हिउँ परिरहेको बेला हामी हामी स्विमिङ गरिरहेका छौं, तातो पानीमा। मलाई जीवन नै एउटा नाट्यशालाजस्तो लागिरहेछ।
नाटककै सन्दर्भमा, मैले यहाँ हेरेको नाटकको शीर्षक ‘पिरिवारे' हो। रसियन नाटकलाई उल्था गरेर स्लोभेनियामा धेरैपटक देखाइसकिएको रहेछ। रसियन लेखकले त्यहाँका हरेक परिवारभित्र घट्ने घटनालाई नाटकमा प्रस्तुत गरेका रहेछन्, करिब आधा शताब्दीपहिले।
आज पनि नाटकले त्यसै समाजको प्रतिनिधित्व गरिरहेको छ। परिवारमा भित्रिएकी बुहारीले कसरी सासू, ससुरा, देवर नन्दहरूलाई सताउन सक्छे र श्रीमान्लाई बेवकुफ बनाउन सक्छे भन्ने विषयलाई जीवन्त रूपमा देखाइएको थियो। हिन्दी टेलिसिरियल ‘घरघरकी कहानी'जस्तै लाग्यो नाटक।
विकसित मुलुकमा पनि यस्तो होला ? नाटकका कलाकार भन्छन्, ‘त्यस बेलाको समाजले बेहोरेको यस्तो अवस्था आज पनि छ कहीँ कतै।'
दिनभरिको कामको थकान उनीहरूका अनुहारमा कत्ति पनि देखिँदैन। सरकारसँग कुनै गुनासो पनि छैन। मैले यत्ति गरे भन्ने घमण्ड पनि छैन। रमाइलो संसार र सुन्दर मानिस देखिन्छन् यहाँ।