लार्के पास : हिउँभित्र गोरेटो खोज्दै
यात्राको चाँजो चिनियाँ पर्यटक हरिसन झ्याँङले पठाएको पत्रबाट तय हुन्छ । उनले २०१७ को जनवरीदेखि फेब्रुअरीबीचमा मनास्लु पदयात्राको मेसो मिलाउन अनुरोध गरेका थिए । मैले सहमति भए नेपालको बसाइभरि समय दिने जवाफ फर्काएँ । जनवरी २२ मा काठमान्डुबाट यात्रा सुरु गर्ने निधो भयो।
२२ जनवरी
झ्याँङ, म र सहयोगी भाइ राज राई बिहान ७ :१५ बजे आरुघाटतर्फको यात्रामा निस्क्यौं । दुई सय किमीको सडकले आरुघाट र काठमान्डुलाई जोडेको छ । आघाट— मनास्लु पदमार्गको आवतजावतमा पर्यटकका लागि खानेबस्ने सुविधा भएको पहिलो स्थान र प्रवेशद्वार । तर, अचेल सोतिखोलासम्म कच्ची सडक विस्तार भएकाले त्यही कच्ची सडक पछ्याउँदै प्राय: पदयात्रीहरू एकैचोटी सोतिखोला पुग्छन् । अपवादजस्तो हामी आरुघाटमा बस्यौं ।
यात्राको पाँचौं दिन साविकभन्दा मौसम धुम्मिएकाले एक्लेभट्टी (चिसोपानी)मा चाँडै नै लाप्प्राली साथीको होटेलमा बस्यौं । हामी कफी पिइरहेका थियौ, साँझ नपर्दै पानी वर्षियो । केही समयपछि डाइनिङबाहिर निस्किएर हेर्दा माथिमाथिका टाकुरा हिउँले ढाकिसकेका थिए ।
हामी जाने बाटोमा हिउँ अझै बढी थुप्रिएको होला भन्ने चिन्ता मनमा लाग्यो । झ्याँङले त्यही साँझ बुटले पिल्सिएको औंला देखायो । मनतातो पानीमा एक चिम्टी नुन राखेर पिल्सिएको औंला २० मिनेटजति डुबाइराख्ने सुझाव दिएँ र एक दिन आराम गर्नु उपयुक्त हुने कुरा गरेँ । उसले त्यसै गर्यो ।गोधूलि साँझमा रोकिएको पानी फेरि मध्य रातिदेखि पर्न थाल्यो । हिउँका कारण यात्रा अधुरो हुने चिन्ताले म अनिदो बसेँ । पथप्रदर्शकहरूलाई पाहुनाहरूको यात्रा सहज र सकुशल सम्पन्न होस् भन्ने लागिरहन्छ ।
यसपटक व्यवस्थापनको जिम्मेवारी पनि आफैं सम्हालिरहेको थिएँ । झ्याँङलाई 'लार्के पास गर्न सकिन्छ' भनेर वचन दिइसकेको छु । लार्केतिरै हिउँ पर्न थालेको छ । पल्लो पलङमा राज भाइ मस्त निदाइरहँदा म जाग्राम छु ।
बिहानीपख अबेर ब्यूँझिएर हेर्दा अझै मौसम सुध्रिने छाँटकाट देखिएन । पहाडका टाकुरामा हिउँ झन् थपिएका थिए । पारिपट्टि गहँ र उवाको हरियाली दृश्य र हिउँको पीरले एकसाथ रोमलिएको बेला झ्याँङ र होटलको कुकले एकैपटक 'गुड मर्निङ !' भन्दा पो म झसंग भएँ ।बिहान ९ बजेदेखि फेरि पानी पर्न सुरु गर्यो । दिउँसो ३ बजेमात्रै थामियो । आकाशे पानीको भरमा खेती गगरी जीविका चलाउने स्थानीयका हिउँ र पानी अमृत जल थियो । उनीहरूको खुसीअघि हामी भने निरीहझैं थियौं ।
'मास्तिर त हिउँ झर्यो, तपाईंहरू बढीमा सामासम्म जान सक्नुहुन्छ होला', स्थानीयवासीले भने । कसैले चाहिँ 'यति हिउँ त दुई दिन घाम लागे बिलिहाल्छ नि' भने । मैले जवाफमा भनेँ, 'हामीसँग समय छ । अब थपिएन भने केही दिन बसेर भए पनि जान्छौं ।'
भोलिपल्ट बिहान— आकाशको रङ अचम्मै चम्किएको थियो । आकाशभन्दा मेरो मन झन् चम्किएझैं भान भयो । म दंग परेँ । क्यामेरा लिएर चम्किला दृश्यहरू कैद गर्न झ्याँङअघि नै डिलमा उभिसकेको थियो । 'गुडमर्निङ !' मनोरम दृश्यजस्तै फूर्तिसाथ ऊ बोल्यो, 'योर डिसिजन इज पर्फेक्टली ग्रेट ।' उसको यो कृतज्ञताको दुई अर्थ थिए— मनोरम दृश्यपान र पिल्सिएको औंला जाति हुनु । प्रतिउत्तरमा म मुस्कुराएँ र भनेँ, 'कुड बी स्नोइङ मच इन दी माउन्टेन एरिया ।' झ्याँङले त्यसपछि सेताम्मे टाकुरातिर हेर्यो र क्यामेराले संवाद गर्यो ।
लो गाउँ र करुको 'पा'
एक्लेभट्टीबाट हिँडेको तीन दिनपछि हामी लो गाउँ पुग्यौ, त्यहाँदेखि मनास्लुको चुचुरो पहिलोपटक गज्जबसँग नियाल्न पाइन्छ । मानास्लु चुचुरोको दर्शन गर्न पदयात्रीहरूले कमसेकम यहाँसम्मको यात्रा धैर्यपूर्वक गर्नुपर्छ ।लो गाउँ पुग्नुअघि दोबाटोमा एकजना बहिनीसँग भेट भयो । केही मिनेट ढिला भएको खण्डमा उनको र हाम्रो भेट हुने थिएन । सुरुमा झ्याँङले उनलाई नमस्कार टक्र्यायो, 'टसीदेले !'
चरम कठिनाइ भोगे पनि सकुशल लार्के पास गर्यौं । २०१७ मा लार्के पास गर्ने प्रथम पदयात्री भयौं हामी । एकछिन आराम गरेपछि बाँकी रहेको नुन, टिमुर र चम्फा मिलाएर सुप बनायौं । हिँड्न बाँकी गोरेटोलाई आँखाले खुब चञ्चलताका साथ हेरिरहेको थिएँ ।
पदयात्री भएपछि फरासिलो हुनुपर्ने सुत्र झ्याँङलाई रटाएको थिएँ । उसले यात्राभरि यसको भरपूर उपयोग गर्यो । परिणाममा उसले बाटोमा अबोध बालबालिकाको हातमा फूलसहित तोते बोलीमा 'नमत्ते' र अनुहारमा हजार दु:खहरू मुजा परेको गाउँले वृद्धवृद्धाको आशीर्वाद प्राप्त गर्यो । र, संवाद गर्दा लजाएर रातो हुँदै कुलेलम ठोक्ने युवतीदेखि हात मिलाउने, टुक्राटाक्री अंग्रेजीमा कुरा गर्ने, उसको क्यामरामा आफ्नो तस्बिर खिचाउन जिद्धि गर्ने विद्यार्थीहरू भेट्यो ।
झ्याँङले जसलाई अभिवादन टक्र्यायो, उनी अत्यधिक चिसोका कारण होटल बन्द गरेर न्यानो ठाउँतिर झर्दै थिई । संयोगवश भेटिएकी उनी हाम्रो गाँसबास र कपासका लागि फर्कने भइन् । त्यहाँ अरू सबै होटल चिसो महिनाका कारण बन्द थिए । उनी नफर्किएकी भए त हामी त्यस रात भोकै पो पर्नेरहेछौं ।
खाना बनाउँदै गर्दा उनले केही अप्ठेरो मान्दै सोधिन्, 'करुको पा (उवाको रक्सी) छ खाने ? ' राजले हौस्यायो, 'लु न त, दुई ग्लास भरिहालौं ।' उनी भित्र गइन् र 'पा' ल्याइन् । राजले झ्याङलाई पनि चखायो र खाना खानेबित्तिकै ऊ ओछ्यानमा गयो ।
हामीले अबेरसम्म कुरा गर्यौं । बहिनीको निष्कपट मन, उदार सोच—व्यवहार र दु:खको संगमले भरिएको उनको जीवन महाकाव्यझैं लाग्यो, जो लेखिन बाँकी छ । मानास्लुको काखमा जन्मिएकी उनी उसैलाई हेर्दै हुर्किई । चौरी—याकसँग यारीतिर रमाइन् । 'म १२ वर्षकी थिएँ, मलाई थाहै नदिई बाबाआमाले मेरो नाममा आएको करुको पा खाएछन् । म त सोनाम ग्याल्जेनको पो भएँ रे !' — एक साँझ चौंरी गोठबाट फर्किंदा साथी छेकुडोमाले यस्तो खबर सुनाएको बताइन् ।
यसलाई उनी जीवनको एक उपक्रम मान्छिन्, 'जीवनमा हुनु थियो, भयो ।' १४ वर्षमा विवाह गररी १६ वर्षमा पहिलो र १८ वर्षमा दोस्रो सन्तानको आमा भइन् उनी । हातको औंला भाँचेर उनले गनिन्, 'छोरा ६ वर्ष, छोरी ४ वर्ष ।' अक्षर चिन्ने र लेख्ने अवसर नपाएकी उनी कनीकुथी खस भाषा बोल्छिन् । दुईपटक काठमान्डु आएकी उनलाई सहरभन्दा 'लो गाउँ' प्यारो छ । काठमान्डुको वातावरण सम्झेर त उनले अनुहार बिगारिन् ।करुको पाले ज्यान न्यानो बनेको थियो । राति अबेर ओछ्यानमा ढल्किनासाथ हामी सपनाको संसारमा हरायौं ।
सामा गाउँ
तीन हजार पाँच सय मिटर उचाइको यो गाउँमा पुग्दा अचानक मौसम बिग्रियो । दक्षिणी भेगबाट उत्तरतिर बढेको बादलसँग दिउँसो २ बजे हिउँ झर्न थाल्यो । भान्छा कोठाको ढोकासम्म बत्तिएर आइपुगेको हिउँलाई हेर्दै 'यो पटक पास गर्न नसक्ने भयौं', राजलाई भनेँ । भाइले पनि हिउँसग जबरजस्ती गर्न नहुने बतायो । चिसोले काँप्दै झ्याँङ आगो ताप्न आइपुग्यो । ४ बजे बल्ल हिउँ झर्न रोकियो ।
आकाश विस्तारै खुलिरहेको थियो । वरिपरिका डाँडापाखा सेताम्मे भए । डुब्दै गरेको घामको किरणले मनास्लुको चुचुरो सुनको थुप्रोजस्तो देखियो । हरेक होटलको गेटमा ताला झुन्डिएका छन् । माथिल्लो सामा गाउँ हिउँदमा एकलास हुँदो रहेछ ।भोलिपल्ट हामी त्यहीँ बस्ने र मौसम पूर्ण रूपमा सुधार भए साम्दोसम्म जाने सल्लाह भयो । बाँकी यात्राका बारेमा साम्दो पुगेपछि निधो गर्ने भनी मैले ब्रिफिङ गरे । मौसम राम्रो भएको खण्डमा बिहान ६:४५ बजे हिमालको टुप्पोमा घाम देखा पर्ने झ्याँङलाई बताएँ । उसले भन्यो, 'ग्रेट आइडिया ! सी यु टुमरो मर्निङ, गुड नाइट !'
राति आकाशको रूप देखेर दंग परेँ । ताराहरूले मध्यरातलाई झिलमिल बनाएका थिए । राति कम निदाए पनि बिहान निद्राले चाँडै छोड्यो । उज्यालोसँग लजाएर होला आकाशमा तारा हराइसकेका थिए । म न्यानो कपडा लगाएर बाहिर निस्किएँ । हिउँ दुई फिटजति परेको छ । झ्याँङ पनि चाँडै उठेर क्यामेरासहित बाहिर आयो । मनास्लुको चुचुरो हुँदै घामको प्रकाश विस्तारै पोखिन थाल्यो । हामीले एकअर्कालाई हेर्यौं र आफूलाई निकै उत्साहित पायौं । आलो हिउँले पोतिएको मानास्लुलाई झ्याँङले क्यामेरामा कैद गरिरह्यो ।
साम्दो
तीन हजार आठ सय मिटर उचाइको साम्दो पुग्न हामीले बिहान ७ बजे यात्रा थाल्यौं । चार घन्टा लाग्ने बाटोलाई हामीले सात घन्टामा पार गर्यौं । बासका लागि एउटामात्रै होटल भेट्टायौं, अरू सबै बन्द थिए । त्यसपछि बाँकी यात्राका बारेमा राज र मैले सल्लाह गर्यौं । होटलकी दिदीले करमर डाँडासम्म काट्न सकिने बताएपछि म हौसिएँ । तर, राज सकभर नजाऔं भन्नेमा थियो । तर, हामी जाने नै भयौं ।
रातको १२:१५ बजे हामी उकालो लाग्यौं । हेडलाइटको उज्यालोमा हिउँले पुरिएको गोरेटो खोज्दै अघि बढ्यौं । हिउँभित्र घरिघरि गोरेटो हराउनु र खोज्नुको पीडा, हिउँभित्र पुरिएर रहेको ठूल्ठूला खाल्डोमा परिन्छ कि भन्ने त्रास र समयमै डाँडा कट्न सकिन्न कि भन्ने शंकाले हामी नि:शब्द हिँडिरह्यौं ।
टाढाका टाकुराहरू विस्तारै देखिन थालेपछि चाँदीझैं टल्किने हिमालका चुचुरालाई टल्काउँदै घाम झुल्कियो । हिउँ पग्लिएर बाटो हिलो हुन थालेपछि हिँड्न निकै गाह्रो भयो । अनिदो र तरान सकिँदै गएको ज्यानको हिँडाइ सुस्त हुन थाल्यो । ६ बजे धर्मशाला पुग्नुपर्ने हामी १० बजे पुग्यौं । मलाई लाग्यो, 'आज डाँडा कट्न सकिँदैन ।'
लार्के पासको यात्रामा
मैले रातको १२:३० बजे राज र झ्याँङ दुवैलाई ब्यूँझाएँ । धर्मशालाबाट हिँड्दा बिहानको १:४२ बजिसकेको थियो । हिउँभित्र गोरेटो हराउनु—भेटाउनु र चिसो सिरेटोको घोचाइले असीमित पीडा थियो । एकअर्कालाई सान्त्वना दिँदै हामी बिहानको मनोरम दृश्य हेर्दै लगभग पासको आधा भाग छिचोल्दै थियौं । झन्डै पाँच हजार मिटरको उचाइमा रहेको हाई क्याम्प पुग्दा बिहानको ११ बजेको थियो । राजले ताप्केभरि हिउँ भर्यो र मैले ग्यास बालेँ । हिउँलाई पगालेर हामीले कफी पियौं ।
लार्के पास अन्य पासभन्दा फाँटिलो र लामो छ । पाँच हजार मिटरको उचाइमा करिब छ घन्टा निरन्तर हिँड्नुपर्छ । हिउँभित्र बाटो ठम्याउँदै हिँड्नु यसपटक अझ फाँटिलो लाग्यो । दिउँसो २ बजे बल्ल दोस्रो अन्तिम ढिस्को पुग्यौं । पास पुग्न अझै दुई घुम्ती पार गर्नु छ भनी झ्याँङलाई बताउँदा उसले लामो श्वास तानेर खुइय्य गर्यो । राजको थकित अनुहार हिउँमाथि बसिरहेको थियो ।
बाटो खोल्ने पालो मेरो थियो । तागत सकिसकेको ज्यानमा साहसमात्रै लार्केझैं अग्लो थियो । बाटो खोल्न थालेँ । ज्यान फतक्कै गलिजाने । मैले पाससम्मको बाटो खोलेँ । झ्याँङले लार्के पासको डाँडामा पाइला राख्दा घाम डुब्दै थियो, साँझको ५ बजे । झ्याँङको दुई स्न्यापबाहेक अरू फोटो खिचेनौं । हामी ओरालो लाग्यौं । अघिसम्म देखिएका हिमलुङ र काङगारु हिमालको चुचुरोतिर घामको रक्तिम प्रकाश क्रमश: हराउँदै गयो । गोधूलि साँझ झर्यो, मलाई उज्यालोको माया लागिरह्यो ।
हिउँमा हिँड्ने बानी नभएको झ्याँङलाई ओरालो झन् गाह्रो भयो । उसले हिँड्नै छोड्यो । हात समाएर डोर्याउनुबाहेक विकल्प थिएन । उसको बडेमान ज्यान र दुईवटा झोलाको भार थाम्नुपर्ने आपत् आइलाग्यो । झोला र झ्याँङलाई पालैपालो गरी गैराको बिसौनीसम्म पुर्याएँ । बाटो खोल्न अगाडि लागेको राजको पाइतालाका डोबबाहेक केही थिएन । हामी रातको १० बजे चार हजार आठ सय तीस मिटरको यो उचाइमा थियौं ।
चार फिटभन्दा बाक्लो हिउँमाथि १० मिनेट बिसायौं । झ्याँङ निदाइहाल्यो । मैले ब्यूँझाउँदा झस्किँदै भन्यो, 'आई गट फल स्लिप, स्याल वी गो !' तरान सकिसकेको ऊ दलफलियो । त्यसपछि मैले उसको हातमा समाएँ र हिँड्न थाल्यौं ।करिब डेढ घन्टाको ओरालो यात्रापछि हामी डाँडामा निस्कियौं । चकमन्न अँध्यारो रातमा केही देखिँदैनथ्यो । हामी एकछिन रोकियौं र हेडलाइट हल्लाउँदै भएभरको बल निकालेर 'राज' भन्दै कराएँ । मेरो आवाज वारिपारि गुञ्जिँदै तल पङ्कर ग्ल्यासियरको गैरातिर भासियो ।
ग्ल्यासियरसँगै कुम जोडेर लमतन्न परेको समथर भूभाग छ । तीन हजार आठ सय मिटर उचाइमा रहेको यस क्षेत्र सुरक्षित छ । राज त्यही कतै कुनोमा ओभानो ठाउँ खोजेर झोक्राइरहेको हुँदो हो ।
दुईपटक कराएपछि गैरामा उस्तै गरी लाइटको प्रकाश तलमाथि हल्लियो । 'हजुर दाइ', राजको आवाज आयो । उसलाई सुनेर हर्षले मन हलुंगो भयो । छिनभरको लागि पीडालाई भुलाइदिने हर्षको त्यो अनुभूति सरोवर भई आँखाको डिल नाघेर नाकको खोल्सा हुँदै हिउँमा झर्यो र कतै बिलायो । राज भाइ माथिसम्म लिन आयो । राज र झ्याँङ दुवैसँग दह्रो गरी हात मिलाउँदै मैले 'बाँचिएकोमा बधाई !' भनेँ । सबैजना एकछिन मौन रह्यौं ।
'दाइ पानी तताइराखेको छु, गएर पिउँदै गर्नुस्', राजले भनेपछि झ्याँङलाई उसैसँग छोडेर म अगाडि लागेँ । झोला बिसाएर सबभन्दा पहिले पानी पिएपछि बल्ल ज्यान आफ्नोजस्तो लाग्यो । त्यसपछि ताप्केभरि हिउँ भरेँ र ग्यासमाथि बसाएँ । हिउँ विस्तारै पानी बन्यो ।
हामी अब सुरक्षित ठाउँमा थियौं । झ्याँङ ओढार पाए सुत्ने धुनमा थियो । तर, हामी केही तल झर्ने सुरमा थियौं । मैदानभरि हिउँ जमेकाले गोरेटो पहिल्याउनु सजिलो थिएन । हाम्रो गोरेटो हरायो । एक घन्टा अलमलिएपछि हिउँ परेको भाग छिचोलेर अलिअलि बाटोको नक्सा देखिने पाखामा निस्कियौं । अब भने हिउँ कुनैकुनै ठाउँमात्र थियो । म फेरि अघि लागेँ, ओभानो ठाउँ खोज्दै । भिमथाङ पुग्न पौने घन्टा बाँकी हुँदो हो । त्यहाँ सानो ओढार देखेँ । पानी बगेको आवाज सुनेर झोला बिसाएँ । छेवैमा सुकेका झिक्राहरू पनि भेटेँ । सुकेका झार र मसिना झिक्रा जम्मा गरी आगो बालेँ । आगोको रापमा म उँघ्न थालेँ । राज र झ्याँङ निकै बेरपछि मात्र आइपुगे । यस बेलासम्म ताराहरू हराउन थालिसकेका थिए । मधुर धुन सुसेल्दै बहने सिरेटोले बिहानी निम्त्यायो ।
हामीले कठिनाइ भोगे पनि सकुशल लार्के पास गर्यौं । २०१७ मा लार्के पास गर्ने प्रथम पदयात्री पनि भयौं हामी । एकछिन आराम गरेपछि बाँकी रहेको नुन, टिमुर र चम्फा मिलाएर सुप बनायौं । ज्यानमा तागत रित्तिएर पनि आँट र उत्साह अपार थियो हामीसँग । हिँड्न बाँकी गोरेटोलाई आँखाले खुब चञ्चलताका साथ हेरिरहेको थिएँ । भिमथाङ, याकखर्के, सुर्तीखोलामा पनि होटल बन्द भए गोवसम्म पुग्नु छ । जहाँ तातो गाँस र न्यानो बासको आशा छ हामीलाई । सोना ओढारबाट हिँड्नुअघि मैले बच्चु कैलाशलाई सम्झिएँ—
टाढा टाढा जानु छ साथी एकफेर हाँसिदेऊ...