लीलायात्रा

लीलायात्रा

 कवि बैरागी काइँलाको संगतमा पुगेपछि विस्तारै गम्भीर अध्ययन र लेखनतिर मेरो ध्यान केन्द्रित हुन थाल्यो। समकालीन साथीहरूकै बीचबाट मैले आफूलाई विस्तारै अन्यत्र मोड्न थालेछु। काइँलाका कविता बुझ्न सजिला थिएनन्। तर, तिनमा पाइने फरक स्वादले दिने बौद्धिक आनन्द नै अर्कै थियो। मिथकहरूमाथिको उहाँको हस्तक्षेप आश्चर्यजनक थियो। उहाँको छेउमा बसेर जति सुनिरहे पनि अनौठो कल्पनालोकमा पुगेको भान हुन्थ्यो।

‘गरिमा'को प्रारम्भिककालीन कुनै अंकमा इन्द्रबहादुर राईको एउटा अन्तर्वार्ता पढेपछि मलाई एकाएक लीलालेखनबारे जिज्ञासा पलाएर आयो। त्योभन्दा अघि नै काठमाडौंबाट दुबसुले ‘रूपरेखा'का पुराना विशेषांकहरू पठाउँदा त्यसको दुईसयौं अंक पनि पठाएका थिए, जसमा आईबी राईको लीलालेखनको प्रस्तावित लेख प्रकाशित थियो। त्यो पढेर पनि केही बुझेको थिइनँ। त्यसो त उहाँका विपना कतिपयकै कथाहरू पनि बुझ्न सजिला थिएनन्।

काइँलाको संगतमा पुगेपछि मैले उहाँहरूको साहित्य पढ्न र बुझ्न सिक्दै जान थालेँ। विस्तारै ‘तेस्रो आयाम' र त्यसको प्रयोगलाई बुझेझैं हुन थाल्यो। खासमा बिम्ब र प्रतीकलाई केलाउन र बुझ्न थालेपछि आयामका कवितालाई लागेका दुर्वोध्यताका आरोपहरू आफैं हराउँदै जाँदा रहेछन्।

कविता गारा होइनन्, हाम्रो बोध क्षमताको अन्तरमात्र रहेछ। आजसम्म पनि काइँलाका कविताको बौद्धिक शक्ति लेखकीय चेतनाकै उचाइको कारण हो। काइँला तेस्रो आयामेली अभियानमै अडिएर बसेका भए पनि उहाँमा लीलाको गहिरो ज्ञान थियो। जब म लीलामाथि जिज्ञासा राख्थेँ उहाँ त्यसलाई झन् सजिलो गरी बुझाउनुहुन्थ्यो।

एकदिन समालोचक गणेशबहादुर प्रसाईंले ‘कठपुतलीको मन' भन्ने कथासंग्रहको किताब हातमा राखिदिँदै भन्नु भो– ‘यो किताब पढ्नुहोस्। अबको लेखन यस्तो हुनुपर्छ।' उहाँले किन त्यसो भनेको होला भन्ने मलाई निकै दिनसम्म लागिरह्यो किनकि मैले त्यस संग्रहका कुनै कथा पनि बुझ्न सकिनँ। कतिपल्ट कोसिस गर्दा पनि ती कथा छिचोल्न सकिनँ।

निकै दिनपछि गणेश सरले सोध्नु भो, ‘पढ्नु भो त ती कथाहरू ? ' मैले नधकाइ आफूले केही गर्दा पनि बुझ्न नसकेको कुरा बताएँ। अनि उहाँले मलाई विस्तारपूर्वक ती कथासँग जोडिएर आएको लेखन धाराको व्याख्या गरेर बुझाउन थाल्नुभो। मैले काम गर्ने कार्यालय र उहाँले काम गर्ने स्कुल नजिकनजिक भएकाले हामीलाई सधैं भेटेर यस्तो चर्चा गर्न सम्भव थियो।

अनि मैले फेरि पल्टाएँ त्यो किताब। अब मेरा लागि त्यो एक प्रकारको चुनौती जस्तो हुन गएको थियो। आफ्नै पाराले पढ्दै र बुझ्दै जान थालेपछि अर्कैखाले रमाइलो लाग्न थाल्यो। दिनदिनै मलाई यस्ता गम्भीर लेखन पढ्ने लत् जस्तो हुन लाग्यो। अनि फेरि पढ्न लागेँ काइँलाका कविता।

आयाम र लीलाको अध्ययन सँगसँगै हुन थाल्यो। त्यो आपसमा मिसिएर केके जस्तो पो हुन लाग्यो। मलाई तेस्रो आयाम र लीलामा खासै फरक लाग्न पनि छोड्यो। पछि बुझ्दै जाँदा खासमा उति फरक पनि केही रहेनछ। तेस्रो आयामबाटै विकसित हुँदै अघि बढेको लीला कालान्तरमा वस्तुताबोधमा पुगेर मात्र फरक लाग्न थालेको रैछ।

इन्द्रबहादुर राईसँग भेटै नभै, चिन्दै नचिनी मैले आफ्नो अध्ययनलाई लीलाकेन्द्री बनाउन पुगेछु। अध्ययनमा आयाम र लीलाको अफ्ठ्यारो पाटो समाते पनि मेरो लेखनमा भने त्यो क्लिष्ठताले प्रवेश पाउन सकेन। मैले आफ्नो लेखनलाई क्लिष्ठ पार्ने प्रयत्न पनि गरिनँ।

मेरो एकल रुचिलाई देखेर होला बैरागी काइँलाले पनि झर्को नमानी मेरा जिज्ञासाहरूको समाधान दिइरहनुभयो। त्यसबेलाका मेरा झापाली समकालीन साथीहरू कसैले पनि यो विषयमा रुचि देखाएनन्। मैले उनीहरूलाई घिसारेर तान्न खोज्दा पनि आउन मानेनन्। तर, पनि मेरो यो एकल प्रयत्नलाई बाधा भने हालेनन्। सँगसँगै हुँदा पनि म एक्लो जस्तो थिएँ।

लगातार पाँच वर्षको प्रयासपछि मैले इन्द्रबहादुर राईकै कथासंग्रह ‘कठपुतलीको मन' भित्रका आठ कथाहरूको समालोचना गरी २०५३ सालमा ‘लीलालेखन' नामक कृति तयार गरेँ जसको प्रकाशक थिए दुबसु क्षेत्री। यो कृति बजारमा आएपछि लीलालेखनबारे विशेष चर्चा हुन थाल्यो। अनि यसबारे अध्ययनको दायरा फराकिलो हुँदै जान थाल्यो।

गणेशबहादुर प्रसाई र बैरागी काइँलापछि दान खालिङले मलाई अझ सजिलो गरी बुझाउनुभयो। मेरो ‘लीलालेखन' पुस्तकको भूमिका पनि उहाँले नै लेखिदिनुभएको छ। ख्यालख्यालैमा म अप्ठ्यारो बौद्धिक भासतिर भासिँदै जान थालेँ र त्यो यात्रा मेरो नरोजेरै सोझिएको दिशा थियो।
पुस्तक निस्किसकेपछि अब झन् म चिट चोरेर उत्तीर्ण भएको विद्यार्थीझैं भएको थिएँ। मलाई आफैं आफ्नो चुनौती थियो। अबचाहिँ म लीलाबारे अझ गहिरिएर अध्ययन गर्न बाध्य भएँ।

इन्द्रबहादुर राईलाई भेट्न कहिले दाजिर्लिङ कहिले सिलिगुरी पुग्न थालियो। बिस्तारै केही साथीहरू पनि थपिन थाले। रत्नमणि नेपालले दह्रो काँध दिएपछि म निकै आँटिलो हुन पुगेँ। अनि कृष्ण बराल, विष्णुकुमार भट्टराईहरू जोडिएपछि लीलाले अभियानको नाम पाउन थाल्यो।

यसमाथि बहस र विवादहरू हुन थाले। तर, यस्ता विवादहरूमा हाम्रा गुरुहरू कसैले पनि भाग नलिएर आफ्नो लडाइँ आफैं लड्न हामीलाई छोडिदिएको थियो। यथार्थमा हामीलाई लीला पढाउने गुरुहरू कोही पनि लीलापक्षीय वा लीलावादी थिएनन्। लीलाको नौल्याइलाई मन पराए पनि त्यसलाई अभियानको रूपमा अघि बढाउने बाटोमा थिएनन् उनीहरू। अप्रत्यक्ष संरक्षण भए पनि हामीले अलग्गै लड्नु परेको थियो।

त्यसैले हाम्रो सम्बन्ध सिधै इन्द्रबहादुर राईसँग हुन पुग्यो। अनि हामी नयाँनयाँ विचारहरू माथिको छलफल गर्न पारी नै पुग्न लाग्यौं। बैरागी काइँला र गणेशबहादुर प्रसाईं काठमाडौं गएपछि हामीसँग दान खालिङमात्र हुनुहुन्थ्यो। उहाँले हामीलाई निरन्तर हौस्याइरहनु भयो। खासमा यो इन्द्रबहादुर राईबाट विकसित हुँदै अघि बढेको विचार भएकाले यसमा हाम्रो उस्तो बौद्धिक लगानी सुरु भएको थिएन। उठेका प्रश्नहरूको जवाफ उहाँले नै दिनुहुन्थ्यो।

यस चिन्तनसँगको २७ वर्षको यात्राले मेरो लेखन र बोधमा ठूलो फरक भएको अनुभव गरेको छु। हुन त यो परिवर्तनसँग उमेर जोडिएका अनुभवहरू पनि होलान् तर दर्शनको आधार नटेकेको अनुभवलाई व्यवस्थित ढंगले अभिव्यक्त हुने बाटो भेट्टाउन कठिन हुन्छ।
लीला शब्दले पूर्वीय अध्यात्मको फेर समातेको देखिन्छ तर यसको व्याख्या वैज्ञानिक भौतिकवादको आधारमा उभिएको छ।

लीलाले मन्दिरतिर होइन जीवनतिर जाने बाटो देखाउँछ। यसले आध्यात्मिक उपदेशबाट प्राकृतिक गतिमयतातिर जिज्ञासालाई मोड्छ। सत्यको रुढताबाट विमुक्तिको अभ्यास हो यो। आआफ्ना सत्यहरूका बीचको द्वन्द्वको अध्ययन पनि हो। विश्वमा विभिन्न कालमा विभिन्न विद्वानहरूले बुझेका आआफ्ना ज्ञानका सत्यहरूका आंशिकताको बोध गराउने एक कला पनि हो लीला।

यसले आफ्नै कुनै बुद्धिको अहम् बोल्दैन। यो विश्वमा रहेका भेदहरूमा विश्वास गर्ने कला हो। आज हामी जुन समाजमा पुगिरहेका छौं, जुन समावेसी र बहुलताको धरातल निर्माण गरिरहेका छौं, त्यसलाई हेर्ने बोधमय दृष्टिको विकास नभए यी सबै उपलब्धि फेरि आफैं रूढ र सम्प्रदायमा परिणत हुनेछन्। हाम्रो बाँच्नुसँगै नजोडिने विचार वा चिन्तन बौद्धिक मनोरञ्जनको साधनमात्र हुने हो।

यो विचारलाई सूत्रीकरण गर्दा नै आईबी राईले त्यसबेलासम्म संसारमा चलिरहेका धर्म, नृविज्ञान, राजनीति, समाजशास्त्र, मनोविज्ञान, भौतिक विज्ञान, अध्यात्म, आदिलाई सम्बोधन गरेको पाइन्छ। त्यसको ४० वर्षपछि आजको संसार कहाँ पुगिसकेको छ, विज्ञान प्रविधि, राजनीति, दर्शन कहाँ पुगिसकेको छ, त्यहीअनुसार यसका धारणा र बोधमा पनि परिवर्तन आइरहेकै छ।

त्यसैले हिजो बुझिएको लीलाको दर्शनमा अब धेरै फरक परिसकेको छ। यस्तो फरक निरन्तर परिरहने छ नै। उसबेला भनिएको तेस्रो आयामको चिन्तन अब सहजै चौथो आयाममा परिणत भइसकेको छ। किनकि अब हामीले कुनै कुरालाई समयसँग नजोडी बुझ्नै सक्दैनौं। हाम्रो सामान्य बचाइ नै अब चौआयामिक भइसकेको छ। संसारमा जति बोधहरू थपिँदै जान्छन् उति नै जीवनमा आयामहरू पनि थपिँदै जान्छन्। बाँच्नुलाई विशेष बनाउँदै जाँदा भौतिक र मानसिक खोज र अभ्यास जति अघि जान्छ उति नै बितेका दिनहरू सरल र अज्ञानताले भरिएका जस्ता लाग्दै जाने हुन्।

लीलाले एकदम नै नयाँ केही भन्ने होइन किनकि नयाँ भन्ने नै केही हुन्न। नयाँ हाम्रो अज्ञानतासँग जोडिने क्षणिक अनुभूतिमात्र हो जस्तो कि कुनै कुरा बारे थाहा पाएकै केही क्षणपछि नै त्यो हाम्रो कौतुहलबाट खसिसक्छ। बोधले हामीलाई कुनै पनि विषयप्रतिको रूढताबाट मुक्त हुन मद्दत गर्छ। खासमा हाम्रो बँचाइ नै एकदम नकारात्मक छ।

हामी सबै कठिनाइ जति आफैंलाई मात्र परेको ठान्छौं र त्यसको कारण आफू नभई अरू नै कोही छ भन्ने कुराले तनावपूर्ण हुन्छौं। यथार्थमा कठिनाइका कारणहरू आन्तरिक र बाह्य दुबै हुन्छन्। तर ती कुनै कारणहरू पनि हाम्रो दुःखका लागि कारण बनेका हँदैनन्। बोधको तहमा ती कुनै कुरा पनि असामान्य होइनन्। लीलाले भन्छ– जीवन बिपर्यासहरूको संग्रह हो। तिनकै बीचबाट बाँच्ने अभ्यास भइरहेको हुन्छ।

हामी जे गरिरहेका छौं त्यो के गरिरहेछौं भन्ने नबुझेरै कत्ति कुरा गरिरहेका हुन्छौं। त्यही जे गर्दैछौं त्यो के गर्दै छौं भन्ने बुझ्नु नै लीला हो। अनि त्यही बोधले हामीभित्रको नकारात्मकतालाई मेटाउने काम गर्छ।

जबसम्म यो लीलालेखनको तहसम्म थियो, यो साहित्यिक लेखन प्रविधि थियो। जब यो बोधको तहमा पुग्यो अब यो दर्शन पनि भएको छ। लेखन गर्नेहरूका लागि यो साहित्यिक सिर्जनात्मक विधि बन्छ, नलेख्नेहरूका लागि जीवन बाँच्ने एक सनातन दर्शन बन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.