रोनाल्डोले गुमाउन सक्छन् एल क्लासिको भिडन्त
मालागाविरुद्धको खेलमा रातो कार्ड पाएसँगै बार्सिलोनाका स्टार खेलाडी नेमारमाथि एक खेलको प्रतिबन्ध लागेको छ। तर, त्यो सँगसँगै रातो कार्ड पाएपछि मैदानबाट बाहिरिने क्रममा व्यंग्यात्मकरुपमा ताली बजाएको आरोपमा उनीमाथि थप एक खेलको प्रतिबन्ध लाग्ने सम्भावना पनि बढेको छ।
थप एक खेलको प्रतिबन्ध लागेमा नेमारले रियल सोसिडाडसँगको खेलपछि अप्रिल २४ तारिखमा हुने रियल मड्रिडविरुद्धको खेल पनि गुमाउनेछन्। लामो समयदेखि सधैं लिगको उपाधिका लागि प्रतिस्पर्धीका रुपमा रहँदै आएका यी दुई क्लबबीचको एल क्लासिको भिडन्तले यस वर्षको ला लिगाको विजेताको छिनो फानो केही खेल अघि नै लाग्नेछ। ला लिगमा अहिले रियल मड्रिड बार्सिलोनाभन्दा ३ अंकले अगाडि छ र उसले बार्सिलोनाभन्दा एक खेल कम पनि खेलेको छ।
एल क्लासिको भिडन्तअघि रियलले स्पोर्टिङ गिजोनसँग र बार्सिलोनाले रियल सोसिडाडसँग खेल्नेछन्। रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले पनि एल क्लासिको भिडन्त गुमाउने सम्भावना बढेको छ। चार पहेंलो कार्ड पाएका रोनाल्डोले अब एक पहेंलो कार्ड पाए बार्सिलोनाविरुद्धको खेल गुमाउने छन्।
गिजोनविरुद्धको खेलमा रोनाल्डोले पहेंलो कार्ड पाए स्वतः बार्सिलोनाविरुद्धको खेलमा अनुपस्थित हुनेछन्। बार्सिलोनाविरुद्धको खेल गुमाउने सक्ने सम्भावना बढेकाले प्रशिक्षक जिनेदिन जिदानले रोनाल्डोलाई गिजोनविरुद्धको खेलमा टोलीमा नराख्न पनि सक्छन्। डानी कार्भाजल लगातार पाँच पहेंलो कार्ड खाएकाले उनी गिजोनविरुद्धको खेलमा अनुपस्थित हुनेछन्।
रियल मड्रिड मड्रिड डर्बीमा एथ्लेटिको मड्रिडसँग १–१ गोलको बराबरीमा राृेकिएको छ। बार्सिलोना गएराति भएको खेलमा मालागासँग २–० ले पराजित भएपछि रियललाई केही फाइदा पुगेको छ। रियल मड्रिडको ३० खेलबाट ७२ अंक छ भने दोस्रो स्थानमा रहे्को बार्सिलोनाको ३१ खेलबाट ६९ अंक छ।