मुटु रोगीका लागि उत्कृष्ट गन्तव्य

मुटु रोगीका लागि उत्कृष्ट गन्तव्य

काठमाडौः ‘सरकारी काम कहिले जाला घाम' भन्ने उखान धेरैका लागि नौलो नहुन सक्छ । यसको अर्थ जुनसुकै क्षेत्रका राष्ट्रसेवक पनि आफ्नो दिन कटाउन अनेक बहाना बनाउँदै आलटाल गरेर काम गर्ने प्रवृत्ति नेपालमा व्याप्त छ । यस्तै प्रवृत्तिबाट स्वास्थ्य क्षेत्र पनि अछुतो हुन सकेको छैन । सरकारी अस्पतालमा उपचार गर्ने कामलाई झन्झटिलो र कम विश्वासिलो मान्दै महँगा निजी अस्पतालमा जाने क्रम पनि बढेको छ ।

तर यसको अपवाद बन्दै हिजोआज मुटु रोगीलाई उपचार गराउने पहिलो रोजाइ बनेको छ, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर । शरीरको संवेदनशील अंग मुटुको उपचारको एउटै मात्र विकल्पको रूपमा स्थापित यो सरकारी अस्पतालले छोटो समयमै सबैको विश्वास जितेको छ ।

नेपालमा मुटु रोगीमात्र नभएर मुटुसँगै अन्य रोगीका लागि सफल उपचार दिन सक्नु यो सेन्टरको विशेषता बनेको पाइन्छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र स्थापना भए पनि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मुटु रोगी र त्यससँगै जोडिएका अन्य रोगको समेत उपचार गर्न विशेषज्ञतासहितको सुविधा दिने गरेको छ ।

गंगालाललाई परिणाममुखी अस्पताल बनाएर चर्चा कमाएका मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाको नेतृत्वमा यो अस्पालले सेवा दिँदै आएको छ । यस केन्द्रमा मुटुभन्दा अन्य अंगको पनि शल्यक्रिया र उपचार हुने भएकाले अन्य अस्पतालभन्दा फरक भएको सेन्टरका निर्देशक रक्तनली सर्जन प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताउनुभयो । ‘मुटु रोगी गर्भवती भए उनलाई सुरक्षित सुत्केरी गराउने काम हामी गर्छौं', श्रेष्ठले प्रष्ट्याउनुभयो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको परिसरमै रहेको यो सेन्टर त्रिविअन्तर्गतको छुट्टै अनुसन्धान केन्द्र हो । शिक्षण अस्पताल साधारण अस्पताल भएकाले यहाँ आउने रोगीलाई विशेष सुविधासहितको उपचार सेन्टरले दिने गरेको छ । प्रा.डा. भगवान कोइरालाले सन् १९८९ देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा काम गर्न सुरु गर्नुभएको हो ।

सन् १९९४ मा मुटुरोगमा विशेषज्ञता हासिल गरेका डा.कोइरालाले पुनः सोही अस्पतालमै काम सुरु गर्नुभएको थियो । उहाँको नेतृत्वमा सन् १९९७ फेब्रुअरीमा नेपालमा पहिलो पटक मुटुको खुल्ला शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल भएको थियो । सरकारले मुटुसम्बन्धी अस्पताल खोल्ने भनेपछि आठ वर्ष काजमा रहेर उहाँले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा काम गर्नुभएको थियो ।

सरकारी अस्पतालको सेवा प्रभावकारी हँदैन भन्ने सबैको मानसपटलमा छाएको छ । तर हामीले यसलाई उदाहरण बनाउन खोजेका छौं, सफल हुने विश्वास छ । गंगालाललाई केही राम्रो बनाउन कोसिस गरेँ, अब मनमोहनलाई बनाउन खोजेका छौं । सफल भए अन्य सरकारी अस्पतालहरूले पनि सिक्नु जरुरी छ । प्रा.डा. भगवान् कोइराला ।

कामदार र स्वास्थ्यकर्मीहरूलाई बिरामी र आफन्तसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा अस्पतालमा कक्षा नै सञ्चालन गर्ने गरिएको छ । ५० रुपैयाँको प्रवेश शुल्क काटेपछि सबै तहका बिरामीलाई उत्तिकै महत्वव दिने गरिएको छ । गंगालालजस्तै मुटुको रोग हेर्ने तर बहुरोगी भएका मुटु रोगीको विशेष उपचार गरिने भएकाले बिरामीलाई हामी रिफर गर्दैनौं । प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ

गंगालालको काज सकाएर शिक्षण अस्पताल फर्किएपछि उहाँले नयाँ सोचका साथ साथीहरूसँग मिलेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर स्थापना गर्नुभयो । सात वर्षअघि स्थापना भएको सेन्टरले शतप्रतिशत काम गरेपछि बिरामी र आफन्तको नजरमा उत्कृष्ट बन्न थालेको अनुभव उहाँले सुनाउनुभयो । ‘डाक्टर अरुण सायमीको कार्यकालमा भवन बन्यो, शिक्षण अस्पतालअन्तर्गत नै भएपछि विभिन्न समस्या हुने गरेकाले छुट्टै स्वामित्व कायम गरी शिक्षण अस्पतालकै रूपमा सेन्टरलाई विकास गरी काम सुरु गरेपछि हामी सफल भयौं', कोइरालाले भन्नुभयो ।

अहिले अरुण सायमी मुटु सर्जरी विभाग, प्रकाश सायमी फोक्सो सर्जरी विभाग, उत्तमकृष्ण श्रेष्ठ रक्तनली सर्जरी विभाग र डाक्टर भगवान कोइरालाले मुटु, फोक्सो शल्यक्रिया विभागको नेतृत्व गर्दै आउनुभएको छ । सेन्टर एक विशेषतासहितको अस्पताल, राम्रो व्यवस्थापकीय पक्ष र सेवा चुस्तदुरुस्त बनाउन लागि परेको र सफल बनेको सञ्चालकहरूको दाबी छ ।

साना अस्पतालमा बिरामी रिफर

अपेक्षा र विश्वास गरेर भर्ना भएको बिरामीको संख्या बढ्दो अवस्थामा छ । बिरामीलाई भर्ना गर्न सेन्टरलाई शय्या अभाव हुने गरेकाले शल्यक्रिया सकिएका बिरामीलाई साना अस्पतालमा हेरचाहका लागि रिफर गर्ने गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्षेत्रभित्र मनमोहन र आँखा अस्पतालमा गरी नौ सय बेड छन् । यहाँबाट वार्षिक रूपमा एक हजार दक्ष चिकित्सक उत्पादन हुने गरेको अस्पतालले जनाएको छ । सेन्टरमा पछिल्लो समय सरकारले गरिब र असहायलाई निःशुल्क उपचार गरिदिने भएपछि त्यस्ता रोगी बढी आउने गरेका छन् । गत वर्ष १२ करोड रुपैयाँ जनतालाई वितरण गरेको र यसमा सेन्टरले कमाएको दुई करोड रुपैयाँ लगानी भएको निर्देशक श्रेष्ठले बताउनुभयो । ‘राज्यले उपलब्ध गराउँदै आएको रकम विपन्न र निःशुल्क उपचार पाइने रोगीका लागि खर्च गर्ने गरेका हौं', उहाँले भन्नुभयो ।

मुटु रोगका लागि प्रयोग गरिने इन्टेनसिप केयर युनिट (आईसीयू) विश्वको स्टान्डर्ड मापदण्डको भएको सेन्टरको दाबी छ । फोक्सोको शल्यक्रिया गर्ने बिरामीभन्दा पनि अस्पतालमा कुरुवा बिरामी हुने समस्या धेरै बढेपछि एक बिरामी एक कुरुवाका लागि सुत्ने बेडको व्यवस्था गरिएको छ । यो सानो प्रयास भए पनि प्रभावकारी बनेको छ । बिरामीसँग विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीको प्रत्यक्ष सम्बन्ध राखेर उपचार शतप्रतिशत गर्दै आएकाले अस्पताल सबैको विश्वासिलो बनेको केन्द्रको दाबी छ ।


सरकार जत्ति पनि सहयोग गर्न तयार

स्थापनाको सात वर्षको परिणाम राम्रो भएकाले अहिले स्वास्थ्य मन्त्रालयले जति पैसा चाहिए पनि सहयोग गर्न तयार रहेको जनाएको छ । यता त्रिभुवन विश्वविद्यालयले पनि केन्द्रलाई आफ्नो भन्दै प्रशंसा बटुल्ने गरेको छ । ‘लागिपरेर गरे सरकारी नै भए पनि राम्रो सेवा दिन सकिन्छ', डा. कोइरालाले भन्नुभयो, ‘बिरामीलाई उत्कृष्ट सेवा दिन नमुनायोग्य काम गर्नुपर्छ । यो अन्य सरकारी अस्पतालले गर्न नसक्ने भन्ने होइन ।'

मुटु रोगबाट बच्न धेरै कुरामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ । सामान्यतया दैनिक जीवनशैलीलाई व्यवस्थित बनाउनु मुटु रोगबाट बच्ने पहिलो उपाय रहेको उहाँले बताउनुभयो । इम्फेक्सनबाट बच्न सरसफाइ, स्वस्थ खानपान र जीवनशैलीमा परिवर्तन गर्नु जरुरी रहेको उहाँको भनाइ छ । हेर्दा सामान्य लागे पनि मुटु रोग सबैभन्दा खतरा रोग पनि रहेको उहाँले बताउनुभयो ।

मिडियामा आउन डराउँछौं

स्थापना छोटो समयमै बिरामीको दर बढ्दै गए पछि मिडियामा आउन डर लागेको निर्देशक श्रेष्ठले बताउनुभयो । ‘आएका बिरामीलाई हामी फर्काउँदैनौं, शतप्रतिशत उपचार गर्ने लक्ष्य नै हाम्रो हो । धेरै बिरामी आए के गर्ने । व्यवस्थापन गर्न समस्या होला कि भनेर मिडियामा आउन डराउँछौं ।' तर सबै रोगीले उपचार पाउनुपर्छ भन्ने मान्यता आफ्नो रहेको उहाँले बताउनुभयो । दक्ष जनशक्ति सेन्टरको राम्रो पक्ष हो । यसैले गर्दा आम्दानी पनि राम्रै हुन्छ । सेन्टरले अनुसन्धानात्मक काम पनि गर्दै आएको छ ।

मुटु, फोक्सो र रक्तनली सर्जरीसम्बन्धी पीएचडी तहको डाक्टर सेन्टरले उत्पादन गर्दै आएको छ । सेन्टरका लागि मेसिन र भवन सरकारले दिएपछि सय बेडको क्षमतामा सेवा पुर्याउउँदै आएको छ । दोस्रो भवन निर्माण क्रममा छ । यो निर्माण सम्पन्न भएपछि ४० बेड थप हुने र नयाँ भवनमा हाइब्रिट अपरेटिङ थिएटर (एकै स्थानमा अप्रेसन हुने) सुरु गर्ने लक्ष्य राखेको श्रेष्ठले बताउनुभयो । यो अप्रेसन सेवा नेपालमै पहिलो सेवा हुने सेन्टरको दाबी छ । ‘सुइट रुम निर्माण गरी राष्ट्रपति, प्रधानमन्त्रीले उपचार गराउन सक्ने व्यवस्था हामी गर्नेछौं । यसमा सुरक्षागार्ड, सहयोगी र अन्य व्यक्तिलाई समेत बस्न मिल्ने व्यवस्था हुनेछ', उहाँले भन्नुभयो ।

सेन्टरमा भर्ना भएका बिरामीका लागि शल्यक्रियाको मिति तोकिँदैन । शल्यक्रिया तुरुन्तै गरिन्छ, नत्र क्युमा भए दुई दिन लाग्न सक्छ । बिरामीको आवश्यकताअनुसार शल्यक्रिया गरिदिने गरेको छ । टाढाको बिरामी भए काठमाडौंमा बस्दा बढी खर्च लाग्ने हुनाले उनीहरूलाई प्राथमिकता दिने गरिएको अस्पतालले जनायो ।

उदाहरण दिएर सिकाउन खोजेका हौं

‘सरकारी अस्पतालको सेवा प्रभावकारी हँदैन भन्ने सबैको मानसपटलमा परेको छ । हामीले यसलाई उदाहरण दिन खोजेका छौं, सफल हुन सकिन्छ होला । गंगालाललाई केही राम्रो बनाउन कोसिस गरेँ, अब मनमोहनलाई बनाउन खोजेका छौं । सफल भए अन्य सरकारी अस्पतालहरूले पनि सिक्नु जरुरी छ', डा.कोइरालाले भन्नुभयो ।

नेपालमा मनमोहनभन्दा राज्यको धेरै लगानी भएको अस्पताल पनि प्रशस्तै छन् । तर बदमासी नै बढी भएर परिणाम दिन नसकेर उल्टै बदनामी कमाएको उहाँले बताउनुभयो । उपचार सामग्री र लगानी महँगो हुनुले पनि निजीमा महँगो सेवा भएको हो । गुणस्तरीय सेवा, परिणाममा आधारित भएर काम गरे सरकारी अस्पताल सबै जनमुखी हुने सञ्चालकहरूको भनाइ छ । डाक्टरदेखि कामदारसम्मको सोचमा परिर्वतन भए यस्तो नहुने उहाँहरूको दाबी छ । अस्पताल राम्रो बनाउन कामदारको सोच र व्यवहार परिर्वतन हुनु जरुरी भएकाले सेन्टरले शिष्टाचार, बिरामी र आफन्तसँग बोल्ने शैली, गर्ने व्यवहारका विषयमा स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कक्षा नै दिने गरेको छ ।

बिरामीसँग गर्ने व्यवहारको कक्षा

कामदार र स्वास्थ्यकर्मीहरूलाई बिरामी र आफन्तसँग कसरी व्यवहार गर्ने भन्ने विषयमा कक्षा नै सञ्चालन गर्ने गरिएको अस्पतालका निर्देशक प्रा. डा. श्रेष्ठले बताउनुभयो । ५० रुपैयाँको प्रवेश शुल्क काटेपछि सबै तहका बिरामीलाई उत्तिकै महत्वव दिने गरिएको छ । उहाँले भन्नुभयो, ‘गंगालालजस्तै मुटुको रोग हेर्ने तर बहुरोगी भएका मुटु रोगीको विशेष उपचार गरिने भएकाले बिरामीलाई हामी रिफर गर्दैनौं।'

दिनरात डटेर काम गरेका कारण केन्द्रलाई यहाँसम्म ल्याउन सफल भएको श्रेष्ठले भनाइ छ । उहाँले भन्नुभयो, ‘सडक विभागसँग पैसा नभएर सडकको हालत यस्तो भएको हैन । सोच परिर्वतन गरे एक सातामा धूलो नियन्त्रण गर्न सकिन्छ ।' सरकारी डाक्टरले क्लिनिक चलाएर अकुत पैसा कमाउने सोच राख्नेलाई यो सेन्टर गतिलो उदाहरण बनेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.