रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले वार्यन म्युनिखलाई हरायो

काठमाडौः क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब वार्यन म्युनिखलाई पराजित गरेको छ। च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले वार्यन म्युनिखलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
वार्यनको घरेलु मैदानमा भएको खेलमा खेलमा अग्रता भने घरेलु टोली वार्यन म्युनिखले लिएको थियो। खेलको २५ औं मिनेटमा अटुरो भिडालले गोल गर्दै वार्यन म्युनिखलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक सून्य गोल अन्तरले पछि परेको रियल मड्रिडका लागि खेलको ४७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए।
खेलको ६१ औं मिनेटमा जाभियर मार्टिनेट दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वार्यन म्युनिख १० खेलाडीमा सीमित भएको थियो। १० खेलाडीमा सीमित भएको म्युनिखलाई दोस्रो हाफमा रियल मड्रिडले दबाबमा राखेको थियो।
खेलको ७७ औं मिनेटमा मार्को एसेन्सियोको पासमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड वार्यनमाथि २-१ को जित निकाल्न सफल भयो। रियल र वार्यनबीचको दोस्रो लेगको खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा हुनेछ।
प्रतिक्रिया दिनुहोस !
