क्रिकेट र फुटबल सुस्ताएको वर्ष

क्रिकेट र फुटबल सुस्ताएको वर्ष

काठमाडौंः २०७३ साल हामीबाट औपचारिक रूपमा आजदेखि बिदा भएको छ । २०७३ सालले नेपाली खेलकुद क्षेत्रमा केही आशाका किरण देखायो भने केही निशारा र विकृतिलाई पनि छाडेर बिदा भयो । बितेको वर्ष नेपाली खेलकुद क्षेत्रले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि सातौं राष्ट्रिय खेलकुद आयोजना रह्यो ।

विभिन्न बहानामा विगत पाँच वर्षदेखि पटकपटक स्थगित हुँदै आएको नेपाली खेलकुदको कुम्भमेला गत पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न सहरमा आयोजना भएका थिए । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सातौं राष्ट्रिय खेलकुदमा विभिन्न ३० खेल समावेश गरिएको थियो । प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका १४ सहर धरान, दुहबी, इटहरी, चन्द्रगढी, विराटनगर, राजविराज, सिरहा बजार, काँकडभित्ता, धनकुटा, धुलाबारी, टंकीसिनवारी, दकम, इनरुवा, गाईघाटका साथै पोखरा, ललितपुर र काठमाडौंमा सञ्चालन भएका थिए ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोलीको दबदबा कायमै रह्यो । कुल दुई सय ६३ स्वर्ण पदकमध्ये तीन विभागीय टोलीले दुई सय तीन पदकमाथि कब्जा जमाए । त्रिभुवन आर्मी क्लबले एक सय १३, सशस्त्र प्रहरी बलको एपीएफ क्लबले ५० र नेपाल पुलिस क्लबले ४० वटा स्वर्ण पदक जिते । प्रतियोगितामा सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रले चार स्वर्णमात्र जित्न सक्यो । व्यक्तिगत हिसाबले एथलेटिक्सकी चन्द्रकला लामगादेले दुई राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

बितेको वर्ष फुटबल र क्रिकेटले भने नेपाली खेलकुद क्षेत्रलाई तरंगित बनाउन सकेनन् । विगत केही वर्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)मा चल्दै आएको विवाद समाधान भए पनि फुटबलले उल्लेख्य उपलब्धि हासिल गर्न सकेन । वर्षको अन्त्यतिर फिलिपिन्समा खेलेको एसियन कप छनोट प्रतियोगितामा नेपाल ४-१ गोलले पराजित हुन पुग्यो । एन्फा विवादका कारण राष्ट्रिय लिग सञ्चालन हुन नसक्दा वर्षभरि नै राजधानीमा फुटबल गतिविधि शून्यझैं देखियो । तर, मोफसलका विभिन्न जिल्लामा भएका गोल्डकप प्रतियोगिताले भने केही आशा जगाउने काम गर्‍यो ।

यसैगरी नेपाली क्रिकेटले पनि आमनेपाली खेलकुदप्रेमीलाई उत्साह दिन सकेन । घरेलु मैदानमै भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको केन्याविरुद्धको खेलमा नेपालले सोचेजस्तो प्रदर्शन गर्न सकेन । पहिलो खेलमा पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भने सात विकेटको जित हासिल गर्दै आफ्ना समर्थकलाई केही राहत दियो । समग्रमा भन्नु पर्दा नेपालले घरेलु मैदानको सदुपयोग गर्दै अंक तालिकामा सुधार ल्याउने अवसर गुमाउन पुग्यो ।

यसैगरी बंगलादेशमा भएको एसीसी इमर्जिङ नेसन्स कप क्रिकेटमा पनि खराब प्रदर्शनले निरन्तरता पायो । टेस्ट मान्यताप्राप्त पाकिस्तान र बंगलादेशको यू-२३ टोलीसँग पराजित भएको नेपालले आफ्नो अन्तिम खेलमा भने हङकङलाई सात विकेटले पराजित गरेको थियो । यसैगरी विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोटमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो स्थान हासिल गर्‍यो । हङकङमा भएको प्रतियोगितामा दोस्रो भएको नेपाली टोली एसियन कपमा भने सबै टोलीसँग पराजित हुन पुग्यो ।

बितेको वर्ष नेपालले अन्य केही खेलमा महत्ववपूर्ण अन्तर्राष्ट्रिय पदक भने भित्वयायो । नेपाली भलिबलले ४० वर्षको खडेरी चिर्दै अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक पदक भित्रायो । माल्दिभ्समा आयोजना भएको एसियन भलिबल संघ (एभीसी) सेन्ट्रल जोन प्रतियोगितामा नेपालले घरेलु टोली माल्दिभ्सलाई पराजित गर्दै ऐतिहासिक पद हात पारेको हो ।

यसैगरी मार्सल आर्टस्का विभिन्न प्रतियोगितामा पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय पदक भित्र्याए । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टको भनाइ मान्ने हो भने २०७३ साल नेपालका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय पदक भित्रिएको वर्ष हो । यसै वर्ष नेपालले ब्राजिलको राजधानी रियो दी जेनेरियोमा आयोजना भएको ३१औं गृष्मकालीन खेलकुदमा पनि सहभागिता जनायो । नेपालले एथलेटिक्स, जुडो, तेक्वान्दो, पौडी र आर्चरीमा भाग लिएको थियो ।
रियो ओलम्पिकमा सहभागी सात खेलाडीमध्ये जलपरी गौरिका सिंहले पदक नजिते पनि अन्तर्राष्ट्रिय एरिनामा नेपालको नामलाई फैलाउन सफल भइन् । उनी रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीका रूपमा संसारभर छाउन पुगिन् । गौरिकाबाहेक जुडोकी फुपूल्हामु खत्री, तेक्वान्दोकी निशा रावल, पौडीका शिरीष गुरुङ, आर्चरीका जितबहादुर मोक्तान र एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराईले पनि रियो ओलम्पिकमा सहभागिता जनाएका थिए ।

२०७३ सालमा नेपाली खेलकुदले जति सफलता र उपलब्धि हासिल गर्‍यो त्योभन्दा बढी विवादमा रुमल्लिन पुग्यो । नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद उत्कर्षमा पुग्यो । सर्वोच्च अदालतको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा रुक्मशमशेर राणा नेतृत्वको कमिटीले सातदोबाटोस्थित भवनमा प्रवेश गरेर कामकाज थाल्यो भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता पाएको जीवनराम श्रेष्ठ नेतृत्वको कमिटी बाहिरै बसेको छ । विगत लामो समयदेखिको विवाद नयाँ उचाइमा पुगे पनि समस्या समाधानको विकल्प भने २०७३ सालले बिट मार्दासम्म पनि देखिएको छैन ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगायो । क्यानमा चरम विवाद भएपछि आईसीसीले क्यानलाई निलम्बन गर्‍यो । आईसीसीले सल्लाहकार समिति निर्माण गरी विधान निर्माण गरिरहे पनि क्यानमाथि लागेको निलम्बन फुकुवा हुन भने अझै केही समय कुर्नेपर्ने देखिएको छ ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्को असक्षमता र व्यक्तिगत महत्ववाकांक्षाका कारण २०७३ सालमा टेबुलटेनिस, कबड्डी, उसु, बक्सिङलगायतका संघमा विवादको बीउ रोपियो । वैधानिक रूपमा एउटा संघ अस्तित्वमा रहँदारहँदै त्यो संघमाथि सौता हाल्ने प्रवृत्तिले खेलकुद विवादकै भुमरीमा रुमल्लिइरह्यो । २०७२ सालमा गएको विनाशकारी भूकम्पले नेपाली खेलकुदका थुप्रै संरचना ध्वस्त बनायो । राजधानीमा दशरथ रंगशालालगायत थुप्रै पूर्वाधार काम नलाग्ने अवस्थामा पुगे । यसबाहेक विभिन्न जिल्लामा पनि भूकम्पले खेलकुद पूर्वाधार तहसनहस गर्‍यो । भूकम्पले विनाश गरेका पूर्वाधार निर्माणको काम २०७३ सालले बिदा लिइसक्दा पनि सुरु हुन सकेको छैन ।

राष्ट्रिय खेलकुद परिषद्ले कागजी रूपमा प्रक्रिया पुर्‍याएको जनाए पनि निर्माणको थालनी हुन सकेको छैन । क्षतिग्रस्त पूर्वाधारको मर्मतसम्भार र पुनर्निर्माणको कामले गति लिन नसक्दा सन् २०१९ मा नेपालले आयोजनाको जिम्मा लिएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि अन्योलमा परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.