एक उस्तादको निर्बन्ध यात्रा

एक उस्तादको निर्बन्ध यात्रा

यो लेख नब्बे वर्ष नाघ्न लागेका उस्ताद रामहरि गुरुङको निर्बन्ध शास्त्रीय संगीत यात्रालाई समातेर संगीत विषयको ऐतिहासिकीका केही आधार भेट्न सकिन्छ कि भनेर लेखिएको हो । मलाई नेपालमा शास्त्रीय संगीतको विषयमा जान्न ठूलो उत्सुकता लागेको निकै वर्ष भयो । यसबारे मैले जान्न खोजेका कुरा शास्त्रीय संगीतको प्रयोग, योसँग जोडिएको शासक-शासितको सम्बन्ध अनि नेपालका विख्यात शास्त्रीय संगीतकारहरू र तिनका अवस्थासँग सम्बन्धित छन् ।

Abhi-Subedi_1आफ्नो काम र अध्ययनको विषय अलग भएकाले मैले संगीतबारे धेरै अध्ययन गर्न सकेको छैन । नेपालमा संगीत विषयको पढाइ हुन्छ । तर, अध्ययन गर्ने आधार खोज्न कुनै उस्ताद वा वयोवृद्ध संगीत साधकको खोजी गरेर तिनकै जीवनबाट यसभित्र पस्न चाहेको निकै भए पनि सजिलो भने नहुने बुझेको छु । नेपालमा शास्त्रीय संगीतमा विद्यावारिधि गरेका ध्रुवेशचन्द्र रेग्मीको शोधप्रबन्ध आफ्नो विचार दिने भनी सर्सर्ती पढ्न पाएको हुँ । त्यो शोधप्रबन्ध ध्रुवेश भाइले किताबको रूपमा निकालेको थाहा पाएको छैन । अर्का शास्त्रीय संगीतकार दीपक जंगमका यस्ता कुनै प्रकाशन भएका होलान्, तर मैले भेटेको छैन ।

अरू प्रकाशित किताब होलान्, खोज्नु छ । नेपालमा शास्त्रीय संगीत कलाकारहरू, खासगरी भारतबाट, नेपाली कोर्ट वा दरबार परिसरमा ल्याइएको कथा छ । अठारौं शताब्दीमा महिन्द्रसिंह मल्लले मुसलमान उस्ताद दरबारमा झिकाएको प्रसंग भेटिन्छ । इंगमार ग्रान्डिन भन्ने नर्वेका नेपाली संगीत अध्येताले 'युरोपियन बुलेटिन अफ हिमालयन रिसर्च' पत्रिका (१२-१३ अंक १९९७)मा रणबहादुर शाहले सन् १७९८ मा कैयुम खाँ कलवार गायकलाई नियुक्त गरेको र तिनको लगत्तैपछि तप कथक्, जीवन शाह कलवार र भवानी शाह कथक्लाई संगीत-नृत्य विभाग दिएको कुरा लेखेका छन् ।

पछि दरबार परिसर र परिवेशमा आएका ओस्तादहरूबारे असनका ओस्ताद परिवारका स्व. केशरमान तुलाधरले उनका भतिजा, मेरा मित्र प्राध्यापक निर्मलमान तुलाधर र मलाई भनेका केही कथा हामीले राखेका छौं । नेपालको शास्त्रीय संगीतको चर्चा गर्दा मलाई रंगमञ्चमा त्यसको प्रयोग कसरी भएको थियो भन्ने विषयमा चाख लाग्छ । तर, यहाँ ठाउँ नभएकाले त्यसको प्रसंग ल्याइएन । जानकी बख्लेले आफ्नो बलियो ग्रन्थ 'टु मेन एन्ड म्युजिक : नेसनालिज्म एन्ड ...' (२००५)मा भारतीय शास्त्रीय संगीतको प्रसंगमा भनेको एउटैमात्र कुरा यहाँ राख्छु । ती भन्छिन्, 'भारतका राजकीय दरबारहरूमा संगीतलाई मनोरञ्जनको साधन ठानिन्थ्यो ।

तर, बीसौं शताब्दीमा आइपुगेपछि यस्तो संगीतले राष्ट्रिय काल्पनिकीमा एउटा गौरवमय कलाको स्थान लिएको पाइन्छ ।' नेपालमा यस्तो शास्त्रीय गायनले राष्ट्रिय कल्पना र गौरवको स्थान लिएको मैले केही उदाहरण भेटिनँ । नेपालका ठूला संगीत साधकहरूको दुःखमय जीवन, ती राज्यका आँखामा अदृश्य भएका उदाहरणमात्रै छन् हामीसँग । यी हिन्दुस्थानमा पनि इज्जत र नाम कमाएका, दक्षिण एसियाली उस्तादहरूले पनि मानेका शास्त्रीय संगीतकारहरूका यस्ता अवस्थाले भन्छ— शास्त्रीय संगीत नेपाली राष्ट्रिय गौरवको विषय मानिएन । मानिनुपर्ने, तर किन मानिएन ? कारणहरू छन् । छलफललाई ठाउँ छैन । नेपाली शास्त्रीय संगीतका कोही हिजोको समयमा काम गरेका अनि अहिले पनि आफ्नो विद्या नयाँ पुस्तालाई दिँदै आएका व्यक्ति खोज्दै जाँदा मैले रामहरि गुरुङलाई भेटेँ । दुईवटा सञ्जोग परे ।

ती सञ्जोगका अवस्थाहरू पहिला लेखिहाल्छु । पहिलो सन्जोग यस्तो छ । पहिले पनि लेखेको रहेछु यसरी । मेरो निबन्धसंग्रह 'निबन्ध र टुँडिखेल' (२०६४) को लेखबाट केही परिवर्तनसहित यहाँ उद्धरण राख्छु । त्यो किरातेश्वर आ श्रमको प्रसंग हो । यो आ श्रम नेपालमा प्रजातन्त्र आएको अर्को वर्ष अथवा २०४८ मा खुलेछ । प्रजातन्त्रले भक्ति परम्पराभित्र गायन गर्ने नयाँ जोश र चेतना दियो । युवाहरूले हात हालेको यो केन्द्रमा संगीत प्रस्तुत गर्ने 'कन्सर्ट'को परिवेश रचना भयो । केही खस्केको यो केन्द्रलाई सरिता मि श्र, स्व. अतुल गौतम र अरू युवाहरूले एक गायनको केन्द्र बनाए ।

'जुन ठाउँमा भक्तहरू गाउँछन् म त्यहीँ हुन्छु' भन्ने नाट्यश्वरको वाक्य र चित्र भएको भित्तोमुनि भजन गाउँदै थिए एकजना आफ्नै रचना र संगीतमा । अवरोह स्वरशैलीका धनी मानिएका प्रसिद्ध शास्त्रीय गायक विष्णु लामा थाँट र रागहरूको व्याख्या गर्दै थिए । मृगस्थलीको त्यो आदिम ढिस्कोमाथि जूनको मात अझ बढ्दै थियो । वयोवृद्ध शास्त्रीय गायक मोहन बाराहीको गायन र उनका वयोवृद्ध हार्मोनीवादक रामहरि गुरुङको प्रस्तुति सुन्दा लाग्यो, नेपालमा शास्त्रीय गायनको परम्परा यिनीहरूसँगै सायद सकिनेछ ।

यी वयोवृद्धहरूले गाउन छोडेपछि शास्त्रीय गायकहरूको परम्परा टुट्छ कि ? शंका गरेँ । यी हरफहरू मैले त्यही बेला लेखेका थिएँ । संवत् २०६१ सालको त्यो अमूक फागु पूर्णिमाको रातमा हामी किरातेश्वर पुग्दा जून पशुपति मन्दिरको गुह्येश्वरी पाटोपट्टि पुराना रूखहरूका बीचबीचबाट चारैतिर मस्त पोखिएको थियो । त्यो पाटो पशुपति मन्दिरपरिसर अनि आर्यघाट-बाग्मती मिथक र जीवनको संगमले बनेको भीडबाट मुक्त थियो । सम्झेँ, यो खण्डमा पनि बाग्मती बगेकै छ । यस खण्डमा जंगल र पत्थरशीलाको आदिम सौन्दर्य छँदैछ । अनि फेरि सम्झेँ निकै वर्ष पहिला मेरा विद्यार्थी र साथीहरूले एउटा प्रवाहको नैरन्तर्यको निम्ति यहीँ तल बाग्मतीमा भदौ २०५६ मा 'नदी रंगमञ्च' भन्ने मेरो नाटक गरेका थिए । त्यो नाटक चित्रकला, संगीत र कविताको संगम थियो ।

अरुण गुप्तोले निर्देशन गरेको त्यो प्रस्तुतिमा किरण मानन्धरले बाग्मती नदीको धारमा रंगका लहरहरू बनाएका थिए । किरातेश्वरमा त्यो शास्त्रीय गायन सुनेर हामी बिन्दु सुवेदी, शिव रिजाल, सलिल सुवेदी र म चेतनाको अर्को जुनेली फाँटतिर विस्तारै तल झर्‍यौं । बाग्मतीमा बगेको जूनमाथि मोहन बाराहीले गाएको मुक्त र उच्च राग लहरजस्तो बग्दै थियो ।

दोस्रो सन्जोग यस्तो छ । त्रिकाल भन्ने संगीत समूहले कन्सर्टहरू गर्‍यो । ती कन्सर्टमा अनेकौं वाद्यवादक कलाकार थिए । सलिलले डिजेरी डु बजाएको थियो, अनि तबला बजाउने नवराज गुरुङ भन्ने युवक थिए । तिनको तबला वादनले मलाई एकदमै खिच्यो । मैले उनको परिचय पाएँ । कुरैकुरामा थाहा भयो— ती तबला वादनमा भारतमा प्रशिक्षित युवा रहेछन् । ती उत्तर भारतको पुरव घरानामा तबला बजाउँदा रहेछन् र उनले मूलतः त्यो दीक्षा आफ्ना गुरु, पिता रामहरि गुरुङबाट पाएका रहेछन् । रामहरि गुरुङले त्यो शिक्षा आफ्ना गुरु उस्ताद अमिर हुसेन खाँबाट पाएका रहेछन् । नेपाल र विदेशमा चिनिएका यी नवराज गुरुङ अहिले घरमै पितासँग सहकार्यसमेत गर्दा रहेछन् । यिनको घरमा अहिले रामहरि गुरुङलाई चिनेर गुरु मानी तबला वादनमा दीक्षा लिन निकै पश्चिमी संगीतकारहरू आउने रहेछन्।

 

यी रामहरि गुरुङसँग निकै पहिलादेखि प्रयास गरेर पनि भेट्न असफल भएको थिएँ । सलिल र नवराज गुरुङको मद्दतले ९ फागुन २०७३ को दिन मैले यी संगीतकारसँग कलंकीको हल्लाले आक्रान्त डिलमाथिको शान्त घरमा भेटेर कुराकानी गर्ने अवसर पाएँ । यो लेखमा यी कलाकारले फ्रिक भएर हिँडेको र कर्म गरेको अनि यिनको मनमा साँचेका सम्झनाहरूको चित्र उतार्ने प्रयास भएको छ । मैले यी वयोवृद्ध संगीतकारलाई भेट्नुका दुई अर्थ छन् । पहिलो, यिनको मुखारविन्दबाट थोरै भए पनि नेपालको शास्त्रीय संगीतका मानवीय पक्षबारे जानकारी लिनु । दोस्रो, नेपालमा शास्त्रीय संगीत र शासकका शक्तिको अनि अमूक राष्ट्रवादको केही सम्बन्ध छ कि भनेर बुझ्नु । यी सबै सैद्धान्तिक कुराको उत्तर खोज्न म रामहरि गुरुङकहाँ गएको थिइनँ, तर उनले छोएर आएको समय, उनले मनमा बोकेको कालमा शास्त्रीय संगीतको स्थान के थियो भनेर बुझ्ने मेरो ठूलो अभिलाशा थियो ।

शास्त्रीय संगीत र राष्ट्रको अनि शक्तिको के सम्बन्ध थियो यस भेकमा भन्ने आफैं मा महत्वपूर्ण विषय हो । शासकहरूले नेपालमा शास्त्रीय संगीतकारलाई भारतबाट ल्याए, अनि मेलवादेवीजस्ता रुम्जाटारबाट ल्याइएका बालिकाहरूलाई तालिम दिएर शास्त्रीय गायनमा प्रवीण बनाए । अहिले यु-ट्युबहरूमा मेलवादेवीका गीत सुन्न पाइन्छन् । मेलवादेवी र चन्द्रशमशेरको प्रेम थियो भन्ने आशयका कथानक पनि राखिएका छन् ।


रामहरि गुरुङ नब्बे वर्षमा पनि उत्तिकै सक्रिय संगीत साधक हुन् । उनको हिजो साधना जस्तो अस्थिर थियो अहिले पनि त्यस्तै छ, तर गतिवान् छ । तिनलाई भेटेर, कुरा गरेर नेपाली शास्त्रीय संगीतको इतिहासको केही आधार खोज्नु मेरोनिम्ति त्यत्तिकै अस्थिर, लयात्मक र जीवन्त थियो ।

चन्द्रशमशेरको खोपीमा राति अबेरसम्म गाएर बस्ने मेलवादेवीको उनकी रानीले रिस गरेको अनि पछि स्वर बिग्रिने गरी पानबिँडा दिएर स्वर बिगारिदिएको, पछि बेलायतदेखि ल्याएको औषधि ख्वाएर मेलवादेवीको स्वर अलिक धोद्रे भएर फर्केको । तर, झन् सुन्दर भएको, अनि आखिरमा मेलवादेवी आफैंले प्रेम गरेको मानिससँग जान चाहेर चन्द्रसँग अनुमति लिएर अनेकौं सामान र आभूषण लिएर बग्गीमा बसी गएको, अनि चन्द्रशमशेरले माथि बुर्जाबाट त्यो दृश्य हेरेको कथा सुन्न पाइन्छ । रामहरि गुरुङकी आमा पनि यिनै मेलवादेवीजस्तै रुम्जाटारबाट सानैमा ल्याइएकी बालिका थिइन् ।

रामहरि गुरुङको आमालाई पनि मेलवादेवीले नै संगीत सिकाएकी थिइन् । मैले राम्ररी यो कुरा टिप्न सकिनँ । रेकर्डबाट हेर्नु छ । हुन त १९८५ सालमा दरबार छोडेर बाहिर बसेकी मेलवादेवीको मृत्यु २०१२ मा कलकत्तामा भएको थियो । योबीचमा रामहरिकी मातालाई यिनले संगीत सिकाएकी थिइन् होला । तर, यिनको स्वरको गुणले रामहरिकी आमालाई दरबारमा संगीत सिकाइयो । दरबारका बालाप्रसाद ओस्ताद ग्वालियरबाट ल्याइएका थिए । दरबारका दसबाह्रवटी केटीलाई छानेर उनले संगीत सिकाउँदा रामहरि गुरुङकी आमा पनि परेकी थिइन् । रामहरिको जन्म त्यही आकाश, त्यही परिवेश र त्यही नादको वरिपरि संवत् १९८४ भदौ १२ गते आइतबार काठमाडौंको धोबीघाटमा भएको थियो ।

यिनलाई आफ्नै आमाले आठदस वर्षको उमेर भएपछि संगीत सिकाउन थालेकी थिइन् । रामहरिका पिताले एउटा हार्मोनी किनेर ल्याइदिएका थिए । रामहरिकी आमा भायोलिन, हार्मोनी प्रयोग गरेर भजनकीर्तन गाउँथिन् । सानैमा रामहरिले आमाबाट सारेगम, डोरेमीजस्ता संगीत नोटेसनका वर्ण सिके । यिनलाई आमाले पन्ध्रसोह्र वर्षसम्म संगीत सिकाएकी थिइन् । यिनले तबला, हार्मोनी बजाउन सिके । ध्रुपद, धुमाल जान्ने यिनको उस्ताद गणेशप्रसाद र संगीत शिरोमणि गणेशलालसँग पनि सम्पर्क भयो ।

गुरुकोमा गएपछि उनको गाँजा राम्ररी मल्न जान्नुपर्ने, डाँठ निकाल्ने, पानी हालेर काट्ने, चार भागको एक भाग सुर्ती हाल्नुपर्ने, कक्कड चिलिम मिलाउने, साथी भिजाउनेजस्ता गाँजा बनाउने लयसँगै संगीत साधना अघि बढ्यो । संगीत साधना र शिक्षा यस्तै मुड्याहा, गँजडी तर समग्रमा पूरै समर्पित गुरुहरूबाट सिक्नुपर्ने अवस्था थियो । पछि दुईवटी श्रीमती भएका गुरुलाई आफ्नै घरमा डेरा दिनुपर्ने भयो।

गुरु उस्ताद रामहरिकै घरमा सरे । आमालाई महिनाको आठदस रुपियाँ दिन्थे । रामहरि तबलावादक भए । राणाकी भित्रिनी तामाङपट्टिकी छोरीसँग रामहरिको प्रेम भयो र बिहा पनि भयो । तर, रामहरिलाई आपूmले बसेको घर राणाले तल्सिङ मिलाएर लिएपछि र अर्को ठाउँमा सरेपछि केही गर्ने, केही अगाडि सिक्ने धुन चल्यो । गणेश गुरुङ नामका जकीसँग यिनको भेट भयो । तिनको भनाइ मानेर रामहरि जकी बन्न उनैसँग बम्बई गए । त्यहाँ तिनले अनेकौं दुःखका दिन गुजारे । उनको लामो कहानी सुने । तर, त्यो कहानीको बीचबीचमा संगीतकारहरूसँग उनको भेट र उनले गरेका संगीतकर्मको विषय चाखलाग्दा थिए ।

यिनलाई टाइफाइड पनि भयो । एकजना नायक भन्ने नर्तकले यिनलाई बम्बई लगे । यिनका छजना नर्तकी तालिमे रहेछन् । यिनलाई मासिक चालीस रुपियाँ दिएर तबलावादकका रूपमा राखे । त्यहाँबाट पचास माइल टाढा बस्ने जनार्दन पाटिल भन्ने गायकसँग यिनको भेट भयो । जनार्दन र यिनको दोस्ती भयो । जनार्दन र उनकी श्रीमतीकहाँ खाना खाने, अनि मस्त बजाउने फ्रिक भए रामहरि ।
कौवालहरूका प्रतियोगितात्मक गायनका कथा सुनाए यिनले । त्यहाँ प्रशिक्षक भएर यी सातआठ वर्ष बसे । रामहरिलाई आमा र घरको कुनै खबर थाहा थिएन । पाटिलसँग यात्रा गर्दै यी अनेकौं ठाउँमा गए । यस हलचलका क्रममा यिनको भेट अमिर हुसेन खाँसँग भयो । त्यहाँ उनले तबला वादन सिके । यिनको यही नै मुख्य तबला प्रशिक्षण भयो । यही शिक्षा यिनले आफ्ना पुत्र नवराजलाई दिएको कुरा माथि नै गरियो । रामहरि बम्बईको हरिदास संगीत सम्मेलन सम्झन्छन् । यो शिवाजी पार्कमा दसौं हजार मानिसले भाग लिएको सम्मेलनको रामहरिलाई अहिले पनि सम्झना छ ।

त्यहाँ आएकामध्ये उस्ताद अमिर खाँ, बडे गुलाम अलि खाँ, पण्डित भीमसेन जोशी, श्रीमती केशरभाइ केरकर, किशोरी अमानकर, प्रवीन सुल्तान, रोसाना बेगम, शोभा गुर्तुलाई उनी सम्झन्छन् । शोभा गुर्तुले रेडियो नेपालमा गाउँदा रामहरिले तबला बजाएका थिए । यी माथिका उस्तादहरूबाहेक रामहरि उस्ताद विलायत खाँ, सरोदवादक अलि अकबर खाँ, तबलावादक अहमद जान तिर्खवाका नाम लिन्छन् । सबैजसो नाम मुसलमान उस्तादहरूका छन् किनकि शास्त्रीय संगीतमा भारतमा यिनीहरूको नै अग्रता थियो । सात दिनसम्म चल्ने यो मेलामा रामहरि चारपाँच पटक गए । एक रातभरिमा चारपाँच जनाले गाउँथे । शास्त्रीय संगीत गाउन समय लाग्ने हुनाले त्यत्तिले मात्र गाएका हुन् ।

यो हरिदास संगीत सम्मेलनमा बडे गुलाम अलि खाँको राग छायाँनट गायनलाई रामहरि अहिले पनि झल्झली सम्झन्छन् । त्यहाँ ठुमरीको फर्माइस् भयो । दसबाह्र जना मञ्चमा अलि खाँलाई भेट्न आए । लता मंगेस्कर, नौसाद, ओपी नैयर शंकर जयकिसन, लक्ष्मीकान्त प्यारेलाल, आशा भोसले त्यहाँ आएका थिए । तिनले भने— हामी फिल्ममा पैसा लिएर गाउँछौं र संगीत गर्छौं तर आत्मसन्तुष्टि हुँदैन । त्यसैले यहाँ आएका हौं । यो घटनाले रामहरिलाई ठूलो प्रभाव पर्‍यो । त्यो घटनापछि रामहरि गायनतर्फ पनि लागेका हुन् । त्यही बेला उनलाई आमाको तार आयो । दुःखद खबर थियो । यिनका भाइको मृत्यु भएछ । छसात महिना लगाएर यी काठमाडौं आइपुगे । सन् १९४८ मा भारत गएका रामहरि सन् १९७१ मा फर्केका थिए । रामराज पौडेल डाइरेक्टर भएको रेडियो नेपालमा खरदारको पदमा महिनाको दुई सय रुपैयाँ तलब खाने गरी यिनले काम गर्न थाले । चारपाँच हजारपटक अनेकौं उस्तादसँग बजाएको उनको कथा उनका अलिक दुख्ने औंलाहरूमा बल्झिन थाल्यो ।

रामहरिको कुशलता यतिविघ्न राम्रो थियो कि नरराज ढकाल र चेतनाथ शर्माले यिनलाई मात्रै खोजिबस्थे । नरराजलाई पनि मेलवादेवीले सिकाएको हुनाले यहाँनेर आएर नेपाली शास्त्रीय संगीतको सानो कथा जोडिन्छ । पछि थाहा भयो, रामहरिकी श्रीमती बेपत्ता भइछन् । यिनकी एउटी छोरी भएकी थिइन् रे । आखिर रामहरि गुरुङ भाइका नाबालक छोराछोरी हुर्काएर पितातुल्य भएर यिनको शिक्षादीक्षा गरेर बसे । नवराजलाई मात्र होइन, नाति अशेष कुलङ राईलाई बालककालदेखि नै तबला सिकाएर यिनले एक कुशल उस्ताद बनाइसकेको कुरा थाहा भएको हो ।

अशेषले तबलाको प्रयोग जाजदेखि लिएर शास्त्रीय संगीतसम्म नै विस्तारित गरेका छन् । तिनलाई उत्तरी संगीतमात्र होइन, कर्नाटकीय संगीत पनि गर्ने विचार छ । नब्बे नाघ्न लागेका रामहरि गुरुङका अभिन्न मित्र भनेका यिनका पुत्र उस्ताद नवराज गुरुङ हुन् । यो उमेरमा पनि यिनीकहाँ विदेशी शिक्षार्थी र विद्वान्हरूको घुइँचो लाग्छ । रामहरि गुरुङलाई सम्मान र पदवी दिएको देखिँदैन । नेपालमा शास्त्रीय संगीतलाई सम्मान गर्ने परम्परा छैन । दफा भन्ने नेपाली शास्त्रीय ब्यान्ड छ जसमा नरराज ढकालका पुत्र शास्त्रीय संगीतका प्रतिभाशाली प्रभुराज ढकाल (गायन), सुरेशराज वज्राचार्य (सरोद), मिलन तन्दुकार (भायोलिन) र रवि श्रेष्ठ (तबला) छन् । यो ब्यान्डले शास्त्रीय संगीतकारहरूलाई सम्मान गर्छ ।

कुमारलाल श्रेष्ठ र रामहरि गुरुङलाई सम्मान गरेकोसम्म मसँग रेकर्ड छ । अरू पनि सम्मानित भएका होलान् । संगीत शिरोमणि गणेशलालसँग सँगै शिक्षा ग्रहण गरेका मित्र कुमारलालका हातबाट सम्मान लिएकोमा रामहरि प्रसन्न भएका थिए । शास्त्रीय संगीतका सीडी युरोप र अरूतिर बेचेर केही रकम निकालेर दफाले सम्मान गरेको कुरा अति महर्त्वपूर्ण छ । रामहरि गुरुङ नब्बे वर्षमा पनि उत्तिकै सक्रिय संगीत साधक हुन् । उनको हिजो साधना जस्तो अस्थिर थियो अहिले पनि त्यस्तै छ, तर गतिवान् छ ।

तिनलाई भेटेर, कुरा गरेर नेपाली शास्त्रीय संगीतको इतिहासको केही आधार खोज्नु मेरोनिम्ति त्यत्तिकै अस्थिर, लयात्मक र जीवन्त थियो । यो लेखको शृंखला यिनै संगीतकारसँग गरिएका वार्ता र मेरो इतिहास बुझ्ने चिन्ताको दोभान हो । अहिलेलाई यो लेख त्यत्ति भए पनि पुग्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.