पानीमुनि आधा घन्टा
सगरमाथा आरोहण दिवसको सन्दर्भमा पोहोर साल हाम्रो टोली नेपाली झन्डा बोकेर अस्ट्रेलियाको अग्लो हिमाल माउन्ट कोजिवस्को उक्लेको थियो । आज हामी १० युवा सगरमाथा आरोहण दिवसको स्मरण गर्दै फेरि नेपाली झन्डा बोकेर विपरीत दिशातर्फ जाँदै थियौं । पोहोर साल उकालो उक्लिएको नेपाली झन्डा आज स्कुपा डाइभिङ गर्दै मेन्ली हार्वरको पिँधमा फहरिँदै थियो । देश र राष्ट्रियता भूगोलको जुनै कुनामा भए पनि घरको आँगनजस्तै आँखाभरि हुँदा रहेछन् । पोहोर साल पाँचजना थियौं, यस वर्ष १० जना साथी भएछौं । नेपालीलाई अस्ट्रेलियाको थुम्कोमा उक्लिनु कुनै गाह्रो काम थिएन । तर, स्कुबा डाइभिङचाहिँ सचेततापूर्वक गर्नुपर्ने काम हो ।
समुद्रभित्र छिर्नु हामीले अहिलेसम्म नभोगेको अर्को संसारभित्र छिर्नु हो । मित्र ऋषि आचार्य, सुरज र रामजी विष्ट गरी हामी चारजना मेन्ली पुग्दा भीमसेन सापकोटा, सञ्जीव शर्मा, विमल केसी र राजन क्षेत्रीलगायतका अन्य साथी मेन्ली पुगिसकेको थिए । स्कुवा डाइभिङमा हामीलाई प्रशिक्षण दिँदै थिए क्रिस र उसको छोराले । डाइभिङका लागि निस्किनुपुर्व क्रिसले हामीलाई हाम्रो शरीरमा टाइट हुने स्कुवा हुड निकालिदियो । अनि साथीहरू एउटै कोठामा कोचिएर आआफ्नो रोगी शरीर देखाउन थाले । क्रिसले दोहोर्याइरहेको थियो, ‘गाइज वन्ली अन्डरवेयर !' कसैको भुँडी निस्किएको, कसैको भित्र पसेको । मैले फिटनेस अवार्ड सुरज प्रधानलाई दिएँ ।
वाणिज्य दूत दीपक खड्काले शुभकामनासहित हामीलाई नेपाली झन्डा हस्तान्तरण गरेपछि हामी बोटतिर लाग्यौं । बोटले हामीलाई डाइभिङ स्पटमा लगेर बिसायो । बोटमा यात्रा गरुन्जेल सबैका आँखा बोटको छेउमा पंक्तिबद्ध मिलाएर राखिएका अक्सिजन सिलिन्डरमा परेपछि केही साथीले बल्ल यो यात्रा जोखिमपूर्ण पनि भएको महसुस गर्न थाले । भर्खरैसम्म मेन्लीमा दुईजना साथीबाहेक अरू साथी आफूलाई कति पौडिन आउँछ भन्ने बखान गर्दै थिए । कोही फेवातालमा पौडिएँ भन्दैथिए, कोही कालीगण्डकीमा त कोही कर्णालीमा । म भने परार साल बाइरन बेमा गरेको कयाकिङ सम्झँदै थिएँ, जतिखेर म पनि पौडिनै नजान्ने जयन्तीलाई समुद्रभित्र होम्दै थिएँ । पानीमा पौडिनु र पानीभित्र आफ्नै तौलबराबरको अक्सिजन सिलिन्डर बोकेर पस्नु भिन्न कुरा थिए ।
समुद्रमा हाम फालिहालेपछि सुरुको दुई मिनेट निकै कठिन लाग्यो । मुखमा कोचिएको अक्सिजन ट्युब र सिलिन्डर बोकेर पानीमा पस्ने बानी नपरेर होला, केही साथी पहिलोचोटिमा भित्र जान हिच्किचाए र बोटमै फर्किए ।
ऋषिजीले यहीँनिर घाउमा नुन छरे । ‘पोहोर साल अमेरिका बस्ने एक नेपाली युवतीले अस्ट्रेलिया आएको क्रममा एक हप्ता ट्रेनिङ गरेर स्कुवा डाइभिङ गर्दा पनि आफ्नो ज्यान गुमाउनुपर्यो ।' केही साथीले थुक निले । अर्को साथीले झन् स्टिभ इरवनलाई सम्झिए, उनी पनि पानीभित्रै स्टिङ रेले डसेर मरेका थिए । क्रिसले अक्सिजन सिलिन्डरलाई कसरी प्रयोग गर्ने, भित्र आपत्कालील बेलामा कसरी सिग्नल दिने भनेर सिकाएपछि अब पानीमा हामफाल्ने पालो आयो ।
हामीसँगै क्रिस र अर्को इन्स्ट्रक्टर फोटोग्राफीका लागि मात्रै तल जाँदै थिए । बस्ने क्रममा म सुरुमा रहेछु, पानीमा हामफाल्ने पहिलो व्यक्ति मै भएँ । अलिकति मनमा मेरो पनि चिसो पस्यो । हामफालेपछि चिसो होइन जताततै चिसो पानी पस्यो । यो आरोहण दिवस पनि किन विन्टरमा पर्नु परेको !
समुद्रमा हामफालिहालेपछि सुरुको दुई मिनेट निकै कठिन लाग्यो । मुखका कोचिएको अक्सिजन ट्युब र सिलिन्डर बोकेर पानीमा पस्ने बानी नपरेर होला । केही साथी पहिलोचोटिमा भित्र जान हिच्किचाए र बोटमै फर्किए । तर, पछि भने सबैजनाले पिँधमा झन्डा फहराएर आए । हामफाल्ने क्रममा केही साथीले, एकअर्कालाई हाँसो गरेर ‘ल साथी जिउँदै फर्कनु' भन्न पनि बाँकी राखेनन् । भीमसेनले सार्क पनि देखेछन् । हामीले भने भित्रको प्लान्टस् र केही सानादेखि मझौला खालका माछा देख्यौं । दृश्य अद्भुत थियो ।
केही साथीलाई प्रेसर इक्वलाइज गर्न गाह्रो भएर नउजिया पनि भयो । बोटमा फर्किसकेपछि, सुरजले एउटा रमाइलो प्रसंग सुनाए । हामीलाई क्रिसले आपत्कालीन सिग्नलबारे सिकाउने क्रममा, थम्सअपको अर्थ ‘माथि उत्रिन्छु भन्ने हो' भनेर सिकाएको थियो । हामी नेपालीको, सब ठीक छ वा सहमत छु वा रमाइलो भयो भन्न बूढी औंला ठड्डाउने बानी छ । सुरज पिँधमा पुगेपछि झन्डा फहराउने क्रममा हामीजस्तै उत्साहित भएछन् । फोटोग्राफरले फोटो खिच्न थालेपछि, निकै उत्साहका साथ खुसी व्यक्त गर्दै थम्सअप गर्दै बूढीऔंला ठड्याएछन् । क्रिसले ‘लौ साथीलाई गाह्रो भयो' भनेर एक्कासि पानीमाथि उतारिदिएछ । धन्न, मैले पनि सुरजले जस्तै झन्डै थम्स अप गरिसकेको थिएँ । नत्र म पनि सुरजजस्तै छिट्टै माथि आउनुपर्थ्याे।
फर्किने क्रममा हाम्रा राम्जी दाइलाई अर्को कुरा खड्किरह्यो । बोटको क्याप्टेन साहेब जो करिब पचास पचपन्नका अस्ट्रेलियन थिए, हाम्रैसामु बोटपछाडि उभिएर मूत्र त्याग गर्दै रहेछन् । राम्जी दाइको चित्त दुखाइ पनि ठीकै हो । यो नेपालीको संस्कृति कसरी सभ्य अस्ट्रेलियनभित्र सर्यो ? ठीकै छ, साथीहरूले बल्ल थाहा पाए, समुद्रको पानी किन यतिसाह्रो नुनिलो हुँदो रै छ !
केही बेर पछि फ्रेस भएर हामी क्रिससँगै बोटमा सर्कलर कि र लुना पार्कतिर लाग्यौं । भीमसेनले ओपेरा हाउसलाई पछाडि पारेर बोटबाटै एमएन टीभीका लागि छोटो अन्तर्वार्ता पनि रेकर्ड गरे । पछि कार्यक्रम बार्बेक्युमा आएर टुंगियो । भीमसेनको भेजिटेरियन बार्बेक्युले सेफ मित्र सुरज प्रधानको कला पाएपछि झन् स्वाद पायो । हातमा तातो चिया लिएर, मेन्लीबाट देखिएको सूर्यास्तको दृश्य हेर्दाको अनुभूति स्कुवा डाइभिङजस्तै विशेष थियो । चिया पिउँदै जयन्तीलाई फोन गरेँ । बिहान निस्किँदा काममा जान निस्केको थिएँ । बीचमै, म समुद्रभित्र पसेको घटना उसलाई थाहा थिएन । परार साल बल्लतल्ल कायाकिङका लागि मनाएको थिएँ । स्कुवा डाइभिङ त उसलाई सुन्दा पनि डरलाग्दो कुरा हो । ठीकै भयो, ढिलो थाहा दिएँ ।