नारीवाद कि नारी सर्वसत्तावाद
‘नारीवाद' राजनीतिक आन्दोलनको एक सामाजिक सिद्धान्त हो, जुन स्त्रीहरूको अनुभवसँग सम्बन्धित छ । मुख्यरूपमा यो सामाजिक सम्बन्धमा नारीहरूको भूमिकाको रूपमा सतहमा आए पनि धेरैजसो नारीवादी विदुषीहरूले लैंगिक असमानता र नारी अधिकारमा जोड दिएका हुन्छन् । नारीहरूको विषयलाई सार्वभौम बनाएर राजनीतिक तहमा वादको रूपमा प्रचार गरिएको ‘नारीवाद' विशेष गरेर प्रजननसम्बन्धी अधिकार, यौन उत्पीडन, घरेलु हिंसा, समान ज्यालाको अधिकार, सामाजिक सांस्कृतिक भेदभाव र यौन हिंसा जस्ता विषयमा मात्र आधारित रहेको छ ।
पुरुषको कुरै सुन्न नचाहने, पुरुषभन्दा बिल्कुलै फरक अस्तित्वको कल्पना गर्ने, सम्बन्धका हरेक दरारमा दोषीचाहिँ पुरुषलाई मात्र किटान गर्ने, निरपेक्ष प्रजनन अधिकारको मुद्दा उठाउने, आफ्ना प्रजनन तथा यौनांगलाई हतियार बनाएर बहसको थालनी गर्ने, प्राकृतिक न्यायको सिद्धान्तभन्दा अघि बढेर छुट्टै आत्मकेन्द्रित न्यायको कुरा गर्ने जस्ता केही कुराले ‘नारीवाद' लाई गिज्याइरहेको छ ।
नेपालमा दोस्रो जनान्दोलनपछि बढी नै बहस भएको ‘वाद' नारीवाद हो । आन्दोलनको रूपमा ‘बालुवाटार सत्याग्रह' भएको हामीले देखेका छौं । बहसको रूपमा आक्कलझुक्कल मिडियाहरूमा आउने आलेख देख्न पाइन्छ । नेपालमा ‘नारीवाद' संगठित रूपमा भन्दा पनि बढी छरिएर रहेको छ, जसको पुष्टि महिलामाथि गरिएका हिंसाको सन्दर्भमा देखिएको नारी आक्रोशलाई देखेर गर्न सकिन्छ । ‘नारीवाद' को गुदीभित्रै पुगेर बहस गर्ने संस्थागत थालनीको सुरुआत भए पनि त्यो लुप्त तहमा छ ।
नारीवादी कुरा बोकेर हिँड्नेहरूले के कुरा ख्याल राख्नुपर्छ भने अधबैंसे उमेरमा श्रीमानसँग यौवन फिर्ता मागेर पाइँदैन । सन्तानलाई जन्म दिइसकेपछि पेट र स्तनमा देखिने सेता धर्का देखाएर त्यसको कारक श्रीमान् हो भनेर ठोकुवा गर्न पाइँदैन । शल्यक्रिया गर्दा कोखमा चिरिएको घाउको विशेष सहानुभूति खोजेर पाइँदैन । लालाबाला नभएको भए उहिल्यै छोडेर हिँड्थेँ भन्न या सम्पत्तिको हक अधिकारको कुरा गर्दा पसिनाको हिसाबकिताब बिर्सन पाइँदैन ।
प्रजनन अधिकारको कुरा गर्ने हो भने विभिन्न कानुनहरूले पनि महिलाकै पक्षमा बढी बोलेको पाइन्छ । तर महिलाको पाठेघरमा सुन्दर संसार देख्न पाइने आशासहित विकसित भइरहेको भ्रूणमा तेईस जोडा क्रोमोजोम पुरुषको शुक्रकीटको हो । नारीले चाहँदैमा त्यो पुरुषको आधा हिस्सासहितको प्राणलाई हत्या गर्न सक्दैनन् । यो कुरा गरिरहँदा ‘नारी अधिकार' भन्ने शब्द चयन नै गलत भएको आभास हुन्छ ।
पुरुषप्रति पूर्वाग्रह नराखी बहस गर्ने हो भने अबका दिनमा विश्वले ‘नारी अधिकार' को होइन, ‘नारी सहभागिता' को बहस आरम्भ गर्नुपर्ने देखिन्छ । यौनमा सहभागिता चाहिन्छ र प्रजननमा पनि सहभागिता चाहिन्छ अनि यौन र प्रजननका बारेमा बहस गर्दा ‘सहभागिता' भन्ने कुरा आउट गराएर अधिकार कसरी बीचमा घुस्छ ? के यी सबै कुरा प्रायोजित त छैनन् ? यसतर्फ सोच्ने जिम्मा पुरुषको मात्र पनि होइन ।
एउटा पुरुष नारीकै योनीबाट जन्म लिन्छ, नारीकै स्तन चुसेर नारीकै काखमा हुर्किन्छ । सामाजिक मूल्यअनुसार बिहेपछि नारीसँगै सहबास हुन्छ । पुरुषको लागि नारीको शरीर जीवन हो, सिद्धान्त हो । जसरी माछाको लागि पोखरी आवश्यक पर्छ । पुरुषको जीवन दर्शनसँग जोडिएका कुरा उठाएर एकलौटी दर्शन या ‘वाद' को कुरा गर्नु मूर्खता हो । पोखरीबाट माछा अलग गरेर पोखरीको सुन्दरताको संरक्षण हुँदैन ।
यहाँनेर भ्रम के छैन भने केही पुरुषहरूले नारीलाई गलत सोचेका आधारमा ‘नारीवाद' फलाउन र फुलाउन सकिँदैन । कुनै सार्वभौम ‘वाद' को आफ्नै विकासक्रम हुन्छन् । त्यही विकासक्रमसँगै वैचारिक र भौतिक संघर्षहरू पार गरेर आउने निष्कर्ष बल्ल ‘वाद' कहलिन्छ । ‘वाद' निरपेक्ष र सापेक्ष दुवै हुन सक्छ । यसकारणले समाजमा आधा आकाश छोपेका महिलालाई टपक्क उचालेर निरपेक्ष रूपमा प्रस्तुत गर्दै ‘वाद' कै रूपमा व्याख्या गर्नु पुरुषहरूको योगदानको अपहेलना मात्र हो । ‘नारीवाद' ले प्राकृतिक न्यायको सिद्धान्तलाई तिलाञ्जली दिनु हुँदैन, यो ‘नारी सर्वसत्तावाद' तिर उन्मुख हुनु हुँदैन, जुन देखिइरहेको छ ।
पुरुषहरूले नारीलाई यौन खेलौनाको रूपमा मात्र लिन्छन् भन्ने कुरालाई आधार बनाएर ‘नारीवाद' को व्याख्या गर्नु भनेको जबर्जस्ती सोही कुरालाई समाजमा स्थापित पनि गर्नु हो । त्यसो भए के ‘नारीवाद' ले हिंसालाई समाजमा स्थापित गर्दैछ त ? के अपराधको कुनै लिंगीय पृष्ठभूमि हुन्छ ? के हिंसाका कारण प्राकृतिक सिद्धान्तमा खोजेर पाइन्छ ? अथवा पाइयो भने पनि त्यसको समाधान गैरप्राकृतिक हुन सक्छ ? यी प्रश्नका उत्तरहरू ‘नारीवाद' ले कहिल्यै खोजेको छैन । जब मानव विकासका चरणहरूको व्याख्या र छलफल गरिन्छ, त्यहाँ एउटा कुरा अटुट रहन्छ । त्यो के भने एउटा पुरुष नारी हुँदै गुज्रिएको हुन्छ भने एउटा नारी पनि पुरुष हुँदै गुज्रिएकी हुन्छे । जुन कुरालाइ ‘नारीवाद' ले छोपेको छ ।
नारीहरूलाई समान ज्याला दिने कुरा नारीसँग जोडिएको विषय नै होइन, यो आधारभूत मानवअधिकारको विषय हो । यौनका कारणले नारीमाथि हुने हिंसाले नारीलाई मात्र क्षति पुर्याउँदैन, पुरुषलाई पनि उत्तिकै क्षति पुर्याउँछ । पोखरीमा हालेको विषले माछा मरे झैं नारीमाथि यौनका रूपमा गरिने शोषणले पुरुषत्व मर्छ । खाना जाने त पेटमा हो, तर त्यसले सबल बनाउने हातखुट्टा नै हो । नारी सबल भए पुरुष सबल हुन्छ, संसार सबल हुन्छ ।
बंगलादेशकी नारीवादी लेखिका तसलिमा नसरिन बारम्बार चर्चामा आइरहन्छिन् ।
देशको शासनको मूल स्वरूप आधारभूत मानवअधिकारको सिद्धान्तविपरीत छ भन्ने लाग्छ भने राज्यसत्ताविरुद्ध लड्ने हो, पुरुष र पुरुषत्वको विरुद्धमा लडेर हुँदैन । हुन सक्छ राज्यसत्ताको चरित्र पुरुष मानसिकतामा हुर्केको छ, तर त्यसले नारीलाई जति हानि गर्छ, त्योभन्दा कम पुरुषलाई हानि गर्दैन । समान रूपमा सहभागी भएर मात्र समस्याको समाधान खोज्न सकिन्छ, आफूलाई अब्बल, विशिष्ट या दैवी चरित्रको बताएर अलग हुने हो भने समस्या आइपर्छन् ।
आरक्षणमा पद पाएर आकाशे महलको दसौं तलामा भव्य अफिसभित्र बसेर क्यान्डीक्रस खेल्नेहरूको महत्ववको विषय ‘नारीवाद' होइन, ‘नारी सर्वसत्तावाद' हो । काठमाडौंको धुलोबाट जोगिएर कोठाको दराजबाट एक थान ल्यापटप निकालेर फटाफट नारीहरूको अधिकारका फेहरिस्त टाइप गर्दै मिडियालाई इमेल गर्नेहरूको महत्ववको विषय पनि होइन ‘नारीवाद' । नारीहरूलाई ‘वाद' मा समेट्ने काम नै गलत छ । यो राजनीतिक शक्ति हत्याउने दाउको रूपमा दुरुपयोग भइरहेको जस्तो देखिन्छ ।
नेपालमा भर्खर फाट्टफुट्ट बहसमा आएको यो विषयले दूरगामी असर गर्ने खालको दिशा तय नगरोस् भन्नको लागि बहसलाई द्विपक्षीय बनाउनु जरुरी छ । नारी अधिकारको विषय होस् या नारी सहभागिताको विषय होस्, एकपक्षीय ‘एकोहोरोवादी' तर्कले यसलाई ठेगानमा पुर्याउन सक्दैन ।
समाजमा आधा आकाश छोपेका महिलालाई टपक्क उचालेर निरपेक्ष रूपमा प्रस्तुत गर्दै ‘वाद' कै रूपमा व्याख्या गर्नु पुरुषहरूको योगदानको अपहेलना मात्र हो ।
व्यावहारिक रूपमा हेर्ने हो भने नारीहरूको अधिकार पुरुषबाट मात्र हनन हुन्छ भन्ने कुरा तर्कसंगत मान्न सकिँदैन । यदाकदा पुरुषको नाम नलिएर ‘पुरुषत्व' लाई दोष पनि दिएको पाइन्छ । यहाँनेर कुन विषयमा विरोधाभास छ भने पुरुषत्वबाट नारीहरू सुरक्षित छैनन् । त्यसो भए उनीहरू केबाट सुरक्षित छन् त ? उनीहरूको सुरक्षाको जिम्मेवारी ‘नारीवाद' ले लिन सक्दैन किनभने जति मात्रामा ‘पुरुषत्व' ले असुरक्षा महसुस गराएको छ, उति नै मात्रामा ‘नारीत्व' पनि भागीदार छ । कोही सुरक्षित हुनु र नहुनु न्याय र कानुनको विषय हो, पुरुषवाद र नारीवादको विषय होइन ।
सामाजिक सञ्जालले विश्वलाई एउटा ‘स्मार्ट ग्लोबल भिलेज' जस्तै बनाइदिएको छ । नारीको सुन्दरतालाई व्याख्या गरेरै धेरै कवि जन्मे, कविता कोरे र कोर्दैछन् । नारीलाई प्रमुख पात्र बनाएर धेरै साहित्यिक लेख र श्रव्यदृश्य सामग्री बनेका छन् । तिनीहरूलाई सामाजिक सञ्जालमा सेयर गरिन्छ । सुन्दरताको चौतर्फी व्याख्या हुन्छ, तर अतिरिक्त सहानुभूतिको आशामा फेसबुक, ट्विटर या इन्स्टाग्राममा महिनावारी हुँदा रगत बगेको, बच्चालाई स्तन चुसाउँदै गरेको जस्ता तस्बिर सार्वजनिक गरिन्छन् र मिडियामा हटकेक बन्छन् । प्रकृतिले नै दिएको त्यो विशिष्ट गुण प्रदर्शनभन्दा पनि सही प्रयोग गर्नुपर्छ । त्यो गुणको बखान पुरुषहरूको मनोविज्ञानलाई हेप्ने गरेर फैलाउन जरुरी छैन ।
प्रायोजित रकमले ‘नारीवाद' को रक्षा हुन सक्दैन । हालसालै युगान्डाकी नारी अधिकारवादी स्टेला न्यान्जीलाई सामाजिक सञ्जालमा पुरुषहरूविरुद्ध ‘भल्गर' कुरा लेखेको आरोपमा गिरफ्तार गरियो, तर उनले सफाइ पाएर रिहा भइसकेपछि अर्को कुराको पर्दाफास पनि गरिन्, उनलाई हिरासतमै यौन दुव्र्यवहार पनि गरियो । उनले लेखेका ‘भल्गर' कुराले उनलाई जेल मात्र पुर्याएन, बरु थप यौन हिंसाको सिकार पनि बनायो । उनले अहिलेसम्म बुझिसकेको हुनुपर्थ्यो कि विरोध राज्यको गैरलोकतान्त्रिक चरित्रको गर्ने हो, पुरुषको या पुरुषत्वको विरोध गर्नुपर्ने कुनै कारण हुँदैन । विरोधले थप आक्रमकता र प्रतिरोध निम्त्याउँछ ।