घरेलु टोलीको पहिलो जित

धनगढीः सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा घरेलु टोलीले पहिलो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा धनगढी टिम चौराहाले काठमाडौं गोल्डेन्सलाई ११ रनले पराजित गर्यो । यस्तै विराटनगर किङ्सले पनि जित हात पारेको छ । विराटनगरले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले पराजित गर्यो ।
चौराहाले प्रतियोगितामा पहिलो जितसहित अंकतालिकामा खाता खोलेको छ । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चौराहा चार खेलबाट दुई अंकसहित ६ टोली सम्मिलित प्रतियोगिताको पाँचौ स्थानमा छ । प्रतियोगितामा काठमाडौं गोल्डेन्सको तेस्रो पराजय हो । यस्तै विराटनगर किङ्सले तेस्रो जित हात पारेको हो भने कञ्चनपुरले तेस्रो पराजय बेहोरेको हो । चार खेलबाट ६ अंक बनाएको विराटनगर दोस्रो, पाँच खेलबाट चार अंक बनाएको काठमाडौं गोल्डेन्स तेस्रो तथा चार खेलबाट दुई अंकमात्रै भएको कञ्चनपुर अंकतालिकाको अन्तिममा रहेका छन् ।
एसएसपी क्रिकेट मैदान धनगढीमा टस जिती पहिले ब्याटिङ गरेको टिम चौराहाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३६ रनको योगफल तय गरेको थियो । प्रत्युत्तरमा काठमाडौंले निर्धारित ओभरमा सबै विकेट गुमाउँदा एक सय २५ रनमात्रै जोड्न सकेपछि टिम चौराहाले प्रतियोगितामा पहिलो जित पक्का भएको थियो ।
टिम चौराहाका लागि आरिफ शेखले ४५ बलमा ५८ रनको अर्धशतकीय पाली खेले । उनले आफ्नो पालीमा तीन छक्का तथा पाँच चौका प्रहार गरेका थिए । यस्तै अनिल मण्डलले २९, सौरभ खनालले १६ तथा राजु रिजालले ११ रनको योगदान गरे । अनिलले दुई तथा सौरभले एक छक्का प्रहार गरेका थिए । आरिफ र सौरभले बलिमा पनि उत्कृष्ट प्रदर्शन गरे । दुवैले तीन/तीन विकेट लिए । यस्तै रामनरेश गिरीले दुई विकेट लिए । आरिफल म्यान अफ दी म्याच चुनिए ।
काठमाडौंका लागि भने सन्दीप जोराले २७ बलमा २८ रनको योगदान गर्न बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । सोमपाल कामीले २४, रोहित कुमारले १२ रन तथा कप्तान वसन्त रेग्मीले ११ रन जोडेका थिए । काठमाडौंका सोमपाल कामी र मञ्जित श्रेष्ठले टिम चौराहाको तीन/तीन विकेट लिएका थिए ।
यस्तै दिनको दोस्रो खेलमा टस हारी पहिले ब्याटिङमा आएको कञ्चनपुर १७ ओभरमा ८० रन मै समेटिएको थियो । झिनो रनको लक्ष्य विराटनगरले ९.१ ओभरमा पाँच विकेट खर्चंदै पार गर्यो । विराटनगरको जितमा कप्तान शरद भेषवाकरले २८, आकाश थापाले १२ तथा प्रनित थापामगरले अविजित ११ रनको योगदान दिए । कञ्चनपुरका लागि हासिम अन्सारीले २७, कुशल भुर्तेलले १९ तथा आशिष पोखरेलले १० रन जोडेका थिए ।
स्पिनरद्वय सन्दीप लामिछाने र सुशील कँडेलले चार/चार विकेट लिएपछि कञ्चनपुर सस्तो योगफलमा समेटिएको थियो । जितेन्द्र मुखियाले थप दुई विकेट लिए । कञ्चनपुरका सागर पुन एक्लैले पाँच विकेट लिए पनि जित दिलाउन भने असफल रहे । विराटनगरका सुशील म्यान अफ दी म्याच चुनिए ।
प्रतिक्रिया दिनुहोस !
