बढ्दो आक्रोश, शान्त वेंगर

काठमाडौंः आर्सने वेङ्गर सायद पछिल्लो २१ वर्ष यताकै सबैभन्दा खराब समयको अनुभव गर्दै छन् यतिखेर । मैदानमा आफ्नै समर्थकको गाली सुन्नु, खेलपछि पत्रकारको पेचिलो प्रश्नको सामना गर्नु उनका लागि दैनिक कर्म जस्तै बनेको छ ।
यी फ्रान्सेली प्रशिक्षक बिहान अखबारमा छापिएका आफ्नो बढ्दै गएको अलोकप्रियताको समाचार पढ्छन् । तर, प्रतिक्रिया दिन हत्तारिँदैनन् । हुन त वेङ्गर मैदान बाहिरको कुरालाई त्यति वास्ता गर्दैनन् । आर्सनलमा सबै भन्दा लामो समय प्रशिक्षकको भूमिका निर्वाह गर्ने गर्विलो इतिहास कायम गरेका वेङ्गर आफ्नै समर्थकको आलोचनाको तारो बनेको यो पहिलो पटक पनि हुँदै हैन। त्यसबेला पनि उनले जवाफ फर्काउँदैनन् थिए, अहिले पनि उनले त्यो बानीलाई परिवर्तन गरिहालेका छैनन्। त्यसैले त समर्थक ब्यानर नै बोकर आफ्नो विरोधमा सकडमा उत्रिए पनि वेङ्गर कुनै प्रतिक्रिया दिँदैनन्।
आजभोलि लाग्छ आर्सनलका समर्थकहरु मैदानमा खेल हेर्न हैन, प्रशिक्षक वेङ्गरको विरोधमा नारा लगाउन पुग्छन्। ती समर्थक स्टेडियम प्रवेश गर्नु अघि ब्यानरसहित आउँछन्, खेल अवधिभर वेङ्गर र खेलाडीको विरोधमा हुटिङ लगाउँछन्। अनि निस्कदा पनि ब्यानरसहित नाराबाजी गर्दै घर फर्कन्छन् । तैपनि प्रशिक्षक वेङ्गरको प्रतिकार सुनिएको छैन ।
वेङ्गरले आर्सनलसँगको आफ्नो सम्बन्ध दुई दशक पुगेको खुसीयाली मनाएको धेरै भएकै छैन । सन् १९९६ को अक्टोबरमा आर्सनलको प्रशिक्षक नियुक्त भएका वेङ्गरले त्यस यता निरन्तर क्लबको प्रशिक्षकको भूमिका निर्वाह गरे। यो अवधिमा वेङ्गरले आर्सनललाई घरेलु १५ उपाधि पनि दिलाएका छन्। जसमा इङ्लिस प्रिमियर लिगका तीन उपाधि छन् भने एफए कप र कम्युनिटी शिल्डका ६/६ उपाधि छन्।
यो अवधिमा वेङ्गरले क्लबलाई साह्रै कमजोर पनि बनाएका छैनन्। उपाधि दिलाउन नसकेको सिजनमा पनि वेङ्गरले आर्सनललाई शीर्ष चारभित्र पुर्याएकै थिए। युरोपको प्रतिष्ठित च्याम्पियन्स लिगका लागि छनोट गराउन सफल भएकै थिए। तर, यस पटक उनीमाथि समर्थकको आक्रोश निक्कै बढेको छ । त्यसको कारण, आर्सनलले यो सिजन गरेको प्रदर्शन नै हो। आर्सनलले यो सिजन घरेलु लिगमा निक्कै कमजोर प्रदर्शन गरेको छ । घर बाहिरको प्रदर्शन अझ लज्जास्पद छ ।
घरेलु प्रतियोगितामा आर्सनललाई शीर्ष चारभित्र पर्नका लागि पनि मुस्किल देखिएको छ। सुरुवातबाट गतिलो प्रदर्शन दिन नसकेको आर्सनलको त्यतिबेलैबाट आलोचना सुरु भएको थियो। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत प्रिक्वाटरफाइनलमा जर्मन क्लब बार्यन म्यूनिखसँग १०–२ को भारी अन्तरले पराजित भएपछि समर्थकहरु वेङ्गरमाथि खनिएका हुन्।
आर्सनल बार्यनसँग दुबै लेग खेलमा समान ५–१ गोलअन्तरले पराजित हुन पुगेको थियो। जुन नतिजा च्याम्पियन्स लिगमै सर्वाधिक ठूलो अन्तरको मध्येको थियो। त्यसले पनि समर्थकलाई थप आक्रोशित बनाउन मद्दत मिल्यो। समर्थकहरुले वेङ्गरको विरोधमा सायदै कुनै कसरत बाँकी राखेका होलान्। एक समर्थकले त वेङ्गरलाई जिम्बाबेका शासक रोबर्ट मुगावेसँग तुलाना गरेर सञ्चार माध्यममै छाए। पछिल्लो ३७ वर्ष यता शासन सञ्चालन गरे पनि जिम्बाबेलाई अझ कमजोर बनाएका मुगाबेले जस्तै वेङ्गरले पनि आर्सनललाई अझ कमजोर बनाउँदै लगेको ती समर्थकको तर्क थियो।
वेङ्गरले समर्थकको साथ पाउन छाड्नुमा आफ्ना खेलाडीको असहयोग पनि अर्काे कारण हो। फुटवलमा खेलाडीसँग राम्रो सम्बन्ध बनाउन सकेका प्रशिक्षकले मात्रै सफलता हात पार्ने गरेका छन्। पछिल्लो समय वेङ्गरले पनि डे«सिङ रुममा आफ्नो विश्वास गुमाएको समाचार आएका छन्। समर्थकहरु प्रशिक्षक वेङ्गरसँगै खेलाडीहरुको पनि आलोचना गर्छन्।
आर्सनलका समर्थकहरु मैदानभित्र मात्रै हैन बाहिर पनि प्रशिक्षक वेङ्गर र खेलाडीलाई गाली गर्छन्। अघिल्लो साता इंग्लिस प्रिमियर लिगअन्तर्गत आर्सनल क्रिस्टल प्यालेससँग पराजित हुँदा समर्थकहरुले बललाई नै नियन्त्रणमा लिएर विरोध गरे। आफूतर्फ आएको बललाई फिर्ता दिन अस्वीकार गर्दै खेलाडीहरुले प्रशिक्षक वेङ्गर र खेलाडीहरुको विरोधमा हुटिङ गरेको फुटेज युट्युवभरी भाइरल बनेको थियो।
तर, कुनै समय एसियन क्लब (जापानको नागोया ग्राम्पसलाई सन् १९९५–१९९६) समेत हेरेका वेङ्गर आर्सनलका लागि लामो समय जिम्मेवारी सम्हाल्ने ऐतिहासिक प्रशिक्षक मात्रै हैनन्, अन्तर्राष्ट्रिय फुटवलमा फरक छवि बनाएका प्रशिक्षक हुन्। फुटवल पण्डितहरुले उनलाई क्रान्तिकारी प्रशिक्षकको उपनाम दिएका छन्। सन् १९९० को दशकमा उनले फुटवलमा ट्रेनिङको आधुनिक शैलीमात्रै ल्याएनन्, खेलाडीलाई दिने खुराकलाई समेत वैज्ञानिक बनाए।
वेङ्गर यस्ता प्रशिक्षक हुन्, जोसँग फुटवल कौसलबारे जति राम्रो ज्ञान छ उत्तिकै राम्रो ज्ञान व्यवस्थापनमा पनि छ । युरोपेली फुटवलमा प्रशिक्षकलाई म्यानेजर भनिन्छ। त्यसको अर्थ प्रशिक्षकले फुटवल सिकाउने काम मात्रै गर्दैनन्, क्लबको आर्थिक पाटोको व्यवस्थापन पनि गर्नुपर्छ। जस्तो की, खेलाडीलाई दिने तलवदेखि क्लबको आम्दानीमा प्रशिक्षककै व्यवस्थापकीय क्षमता आवश्यक पर्दछ। आर्सनलमा लगातार २१ औं वर्ष प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका वेङ्गरको यो यात्रा पनि व्यवस्थापकीय क्षमताले महत्वपूर्ण भूमिका खेलेको छ।
सन् २००० मा आर्सनलले नयाँ स्टेडियम निर्माण गर्ने निर्णय गर्याे । तीन सय ९० मिलियन पाउन्डमा सन् २००६ मा स्टेडियम तयार भयो । सो रकमको ठूलो हिस्सा आर्सनलले ऋण लिएको थियो, जुन क्लबले अहिले तिरिसकेको छ। वेङ्गरलाई क्लबको आयस्रोत कसरी बढाउन सकिन्छ भन्ने राम्रोसँग थाहा छ ।
युरोपेली फुटवलको ठूला आयस्रोत प्रायोजक, टिकट र प्रशारण अधिकारको बिक्री हो। प्रशारण अधिकार बिक्रीमध्ये युरोपेली च्याम्पियन्स लिगका खेलहरुको रकम निकै उच्च छ । वेङ्गर यी सबै आय स्रोतको राम्रोसँग सदुपयोग गर्छन् । वेङ्गर खेलाडी किनबेचबाट पनि राम्रै आम्दानी गर्न सक्छन् । उनी खेलाडीको क्षमता चिन्न सक्ने प्रशिक्षक हुन् । वेङ्गर औषत खेलाडीबाट धेरै फाइदा लिन जानेका छन् । अन्य क्लबमा नचलेका खेलाडी वेङ्गरकै प्रशिक्षणबाट युरोपेली फुटवलका स्टार बनेका उदाहरण प्रसस्तै छन् ।
त्यसैले त टोलीको निरन्तर खराव प्रदर्शन तथा समर्थकको चौतर्फी आलोचनाका बाबजुद पनि आर्सनलले प्रशिक्षक वेङ्गरलाई पदबाट हटाउने आट गरेको छैन। यसै सिजनको अन्त्यसम्मको सम्झौता रहेको वेङ्गरका विषयमा सिजनको अन्त्यमा मात्रै बोल्ने क्लबको बोर्डले स्पष्ट पारिसकेको छ । किन भने बोर्डले राम्रोसँग बुझेको छ, फुटवल क्लब चलाउन सजिलो छैन र त्यसका लागि वेङ्गर नै उपयुक्त व्यक्ति हुन्।
प्रतिक्रिया दिनुहोस !
