प्रेक्षा जसले ११ वर्षकै उमेरमा भलिबलमा डेब्यू गरिन्

काठमाडौः त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा जारी आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा ११ वर्षीया प्रेक्षा राईको ‘डेब्यू' चर्चित बनेको छ । भर्खरै ६ कक्षा सकेर सातमा पुगेकी प्रेक्षा शनिबार जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा न्यु डायमन्ड क्लबका तर्फबाट मैदानमा ओर्लिएकी थिइन् ।
टोलीकी प्रमुख खेलाडी पनामिका राईको स्थानमा दोस्रो सेटमा मैदान प्रवेश गरेकी उनले ओपन स्पाइकबाट दुई अंक पनि हासिल गरिन् । उनले हानेको बलले म्याट छुँदा कभर्डहलमा उपस्थित भलिबल प्रेमीले मजैले ताली बजाएर प्रेक्षालाई हौसला दिएका थिए । प्रतियोगितामा प्रेक्षाभन्दा तीन दशक बढी उमेर भएका पाका खेलाडी पनि सहभागी छन् । तर, ती सबै खेलाडीलाई छायामा पार्दै ११ वर्षीया प्रेक्षाले चर्चा बटुलिन् ।
सानै उमेरमा ठूलो प्रतियोगितामा सहभागी गराउँदा आत्मविश्वास बढ्ने भएकाले उनलाई टोलीमा सहभागी गराइएको न्यु डायमन्डका प्रशिक्षक कुमार राईले जानकारी दिए । यसअघि विभिन्न प्रतियोगितामा सहभागी जनाइसकेकी रिया कुँवरको तालिमका क्रममा हात भाँचिएपछि प्रेक्षाले टोलीमा अवसर पाएकी थिइन् । प्रतियोगितामा सहभागी हुनुभन्दा केही दिनअघि रियाको हात भाँचिएपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराइएको हो ।
‘ट्रेनिङकै क्रममा रियाको हात भाँचियो । डाक्टरले एक वर्षसम्म खेल्न नसक्ने भनेपछि उनको स्थानमा प्रेक्षालाई सहभागी गराएका हौं', न्यु डायमन्डका प्रिन्सिपलसमेत रहेका राईले भने । प्रेक्षाले भलिबल खेल्न थालेको भने दुई वर्ष मात्र भयो । कक्षा चारमा अध्ययन गर्दादेखि भलिबल खेल्न थालेकी उनी विभिन्न प्रतियोगितामा टोलीको सदस्य भए पनि अहिलेसम्म कुनै ठूला प्रतियोगिता खेलेकी थिइनन् ।
दुई वर्षको अवधिमा प्रेक्षाले खेलमा निकै प्रगति गरेकी छन् । सोचेअनुरूप हाइट नबढेकाले भविष्यमा टोलीमा स्थान बनाउन समस्या पर्न सक्छ ।
कुमार राई, प्रशिक्षक न्यु डायमन्ड
दुई वर्षको अवधिमा खेलमा निकै प्रगति गरे पनि सोचेअनुरूप उनको उचाइ नबढेको प्रशिक्षक राईले बताए । ‘दुई वर्षको अवधिमा प्रेक्षाले खेलमा निकै प्रगति गरेकी छन् तर सोचेअनुरूप हाइट नबढेकाले भविष्यमा टोलीमा स्थान बनाउन समस्या पर्न सक्छ', राईले अन्नपूर्णसँग भने । न्यु डायमन्ड एकेडेमीलाई महिला भलिबल खेलाडी उत्पादनको केन्द्रभन्दा फरक पर्दैन । पुरानो नैकापस्थित सामान्य टहरोमा कक्षा सञ्चालन गर्दै आएको यो विद्यालयले नेपाली महिला भलिबलको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
यो विद्यालयले राजधानीमा सञ्चालन भइरहेको आरबीबी-एनभीए महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फ फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगितामा न्यु डायमन्डले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्नेछ । पछिल्लो समय विभागीय टोलीलाई कडा टक्कर दिँदै आएको न्यु डायमन्ड टोलीमा पाँच कक्षादेखि स्नातक तहमा अध्ययनरत विद्यार्थी सहभागी छन् । तुलनात्मक रूपमा होचा कदका खेलाडी सम्मिलित उक्त टोलीले हरेक प्रतियोगितामा दर्शकको अपार साथ पाउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
