मुसहर बस्ती अब ‘नमुना वैज्ञानिक गाउँ

मुसहर बस्ती अब ‘नमुना वैज्ञानिक गाउँ

बर्दिबास : पुस्तौनी रोग, भोक र शोकले थला परेको महोत्तरीको बर्दिबास नगरपालिका —१ को एकीकृत नमुना मुसहर बस्ती ‘नमुना वैज्ञानिक गाउँ'तर्फ अघि बढेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटार ललितपुरले धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्मित नमुना मुसहर बस्तीलाई नमुना वैज्ञानिक गाउँ बनाउन कार्यक्रम सुरु गरेको हो ।

बस्तीलाई वैज्ञानिक गाउँ बनाउन पहिलो चरणमा नास्टले बस्तीका स्थानीयलाई मुढा बनाउने र सिलाइकटाइ तालिम सञ्चालन गरेको छ । दोस्रो चरणमा बाख्रापालन एवं कृषि खेतीको कार्यक्रम सञ्चालन गर्ने योजना छ । काभ्रेको पोखरी नारायणस्थानको यांगवेल गाउँ र महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीलाई पहिलो चरणमा नास्टले नमुना वैज्ञानिक गाउँ बनाउन कार्यक्रम लागू गरेको नास्टको नमुना वैज्ञानिक गाउँ कार्यक्रमका संयोजक डा. तीर्थ घिमिरेले बताउनुभयो।

जंगलबाट दाउरा ल्याएर जीविकोपार्जन गर्दै आएका १० जना महिलाले मुढा बनाउने तालिम पाएपछि जंगल जान छाडेर मुढा बनाएर आम्दानी गर्दै छन् । ‘घर बसीबसी आम्दानी गर्ने सीप हामीले सिक्यौं,' मुढा बनाउँदै गरेकी ३५ वर्षीया आशा सदाले भन्नुभयो, ‘ श्रीमानले कमाएको रुपैयाँ बचत हुन्छ । मैले मुढा बेचेर कमाएको रुपैयाँले नुनतेल र छोराछोरीको पढाइ खर्च पुग्छ ।' आशाका श्रीमान् बिल्टु सदा एकीकृत नमुना मुसहर बस्ती घुम्न आउने पर्यटकलाई टिकट बच्ने काम गरेर घरै बसीबसी मसिक १० हजार तलब लिन्छन् ।


काभ्रेको यांगवेल गाउँ र महोत्तरीको एकीकृत नमुना मुसहर बस्तीलाई नास्टले पहिलो चरणमा नमुना वैज्ञानिक गाउँ बनाउन लागेको हाे।

एक सातादेखि बस्तीका सातजना महिलालाई नास्टले दुईमहिने सिलाइकटाइको प्रशिक्षण सुरु गरेको छ । जंगलबाट दाउरा ल्याउने, रातुखोलामा ढुंगा ओसार्ने र दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका महिला लुगा सिउने सीप सिक्दै छन् । ‘सिलाइ गरेर आएको आम्दानीबाट छोराछोरीलाई पढाउने र बचत गर्छु', सिलाइ सिक्दै गरेकी २२ वर्षीया देवकला सदाको कुरामा अनिता सदाले थप्नुभयो, ‘सिलाइ सिकेर गाउँमै कपडा सिउने पसल खोल्छु । गाउँलेको लुगा सिलाएर जीवन चलाउँछु ।'

नास्टले वैज्ञानिक गाउँ कार्यक्रम सञ्चालन गर्दा त्यसको प्रत्यक्ष पाइदा बस्तीका बालबालिका, किशोरकिशोरी, युवकयुवती, वृद्धवृद्धाहरुले लिइरहेका छन् । अहिले बर्दिबासको मुसहर बस्तीका बासिन्दा देशदुनियाँसँग नजिकिएका छन् । देशविदेशको हालखबरबाट बेखर रहने गरेका यहाँका स्थानीयलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्न नास्टले बस्तीको सामुदायिक भवनमा ५० इन्चको एलसीडी जडान गरिदिएको छ । एलसीडीमा डिस होम जडान गरिएको छ ।

‘एलसीडीमा पेनड्राइभ लगाएर बालबालिकालाई प्रविधिको प्रयोग गरेर पढाउँछौं', ट्युसन पढाउँदै आएका बस्तीका मञ्जय सदाले भन्नुभयो, ‘गीत बजाएर बालबालिकालाई नृत्य सिकाउँछौं । समयसमयमा विभिन्न टीभी च्यानल लगाएर बालबालिकाले समाचार हेर्छन् ।'

शिक्षाबाट वञ्चित एक सयभन्दा बढी बालबालिका धुर्मुस-सुन्तलीको प्रेरणाबाट अहिले नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्दै छन् । ‘मुसहर बस्तीका बालबालिकालाई लक्षित गरेर हामीले विद्यालयमा आधुनिक शिक्षा प्रदान गर्न ४८ लाख रुपैयाँ लागतमा बालमैत्री वातावरण निर्माण लागि भौतिक संरचना निर्माण गर्दैछौं', विद्यालयका प्रधानाध्यापक दिलीप तिवारीले भन्नुभयो ।

सामुदायिक सूचना नेटवर्कले (सीआईएन)ले बस्तीका ५० वटै घरमा समाचार सुन्न एक÷एक थान रेडियो प्रदान गरेको छ । बस्तीका बासिन्दाले बिहानबेलुकाको समाचार नबिराई रेडियोमा सुन्ने गरेको ४५ वर्षीय वासुदेव सदाले बताउनुभयो । बस्तीलाई सूचनामैत्री बनाउन युनाइट नेटवर्कले निःशुल्क नेटको व्यवस्थासमेत गरिदिएको छ । बस्ती घुम्न आउने पर्यटकले बस्ती घुमेर वि श्रामस्थलमा बसेर थकाइ मार्दै फेसबुक, ट्वीटरलगायत समाचारमूलक बेवसाइटसमेत चलाउन सक्नेछन् ।

वैशाख १० गतेयता एकीकृत नमुना मुसहर बस्ती अवलोकन गर्न आएकासँग प्रतिव्यक्ति २० र ५० को बस्ती प्रवेशको टिकट विक्री गरेर एक लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको बस्तीका सदस्य करियामाझी मुसहरले बताउनुभयो । ‘हामी यसपटक १० देखि १५ बिगाहा खेत ठेक्का लिएर धानखेती गर्ने योजनामा छौं । ब्याड पनि राखिसक्यौं । संकलित रकममध्ये २० हजार रुपैयाँ खेती गर्न लगानी गरेका छौं', उहाँले भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.