हवाई म्युजियम

हवाई म्युजियम

भविष्यमा के बन्छौ तिमी ?

अक्सर जो कोहीबाट हामीलाई यस्तो प्रश्न आउँछ । अनि जवाफमा हामीमध्ये कत्तिले भन्छौं होला, 'म त पाइलट बन्छु ।' साँच्चै हवाईसेवा सबैभन्दा सुरक्षित र प्रभावकारी आवागमनको माध्यम हो । मानिसलाई बोकेर चराझैं उड्ने उडानको संसार निकै आकर्षक छ । अहिले संसारमा एक लाख ३० हजारजना विमान चालक (पाइलट) छन् ।

उनीहरू हरेक दिन संसारको एक कुनाबाट अर्को कुनासम्म मानिस तथा सामान ओसारपसार गरिरहेछन् । अबको १८ वर्षपछि संसारमा विमान चालकको संख्या ६ लाखभन्दा बढी आवश्यक पर्ने विश्व नागरिक उड्डयन संघले जनाएको छ । यसलाई हेर्दा पाइलट बन्छु भन्नेको भविष्य उज्यालो देखिन्छ है!

thumbnail_model-1

पाइलटमात्र होइन, हरेकका लागि हवाई संसार एउटा रोचक विषय हो । यसबारे सबैजनामा केही न केही जान्ने बुझ्ने जिज्ञासा रहिरहन्छ । आम मानिसको यही अभिरुचि बोध गर्दै एकजना नेपाली पाइलटले काठमाडौंमा हवाई म्युजियम बनाइरहेका छन् । अबको ६ महिनाभित्रमा उक्त म्युजियम सञ्चालनमा आउने बताइएको छ । हवाईजहाजभित्रै हुने उक्त म्युजियममा उडानबारे सम्पूर्ण जानकारी पाइनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मिलेर वेद उप्रेती ट्रस्टले उक्त म्युजियम सञ्चालनमा ल्याउन लागेको हो । यो ट्रस्ट पाइलट वेद उप्रेतीले आफ्नो नाममा स्थापना गरेका हुन् ।

टर्किस एयर ३३० भित्र नेपाल तिमीले काठमाडौंमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै चाबहिल सडकमा यात्रा गर्‍यांै भने सडकमुनि एउटा विमान देख्छौ । हो, टर्किस एयरको ३३० मोडेलको यही विमानभित्र त्यस्तो संग्रहालय बन्न लागेको हो । दुई सय आठ फिट लामो यस विमानभित्र दुई तला हुनेछन् । तल्लो तलामा ठूलो हल हुनेछ । अनि यस हलमा निरन्तर उड्डयनसम्बन्धी वृत्तचित्रहरू प्रदर्शन भइरहनेछन् । वरिपरि राइट ब्रदर्सले बनाएको विमानदेखि संसारमा हालसम्म चलेका सम्पूर्ण विमानका नमुनाहरू यहाँ अवलोकन गर्न सकिनेछ । यसका साथै नेपाली आकाशमा उडेका हरेक विमानका नमुना पनि यस संग्रहालयमा देख्न सकिनेछ । यसको अगाडि हुने ककपिटमा तिमी पाइलटको पोसाक लगाएर पाइलटको सिटमा बस्न सक्नेछौ । अनि हवाई सञ्चारका विभिन्न प्रविधिका आवाजहरू सुन्न तथा विमान उडाएको अनुभूति गर्न पाउनेछौं ।

thumbnail_Visitors-in-Air-craft-Meseum

विमानको माथिल्लो तलामा भने एक झलकमा नेपाल हेर्न सकिनेछ । अर्थात् नेपालका महत्वपूर्ण धार्मिक, सांस्कृतिक, प्राकृतिक दृश्यहरू यसमा समेटिनेछ । यो संग्रहालय तयार पार्न ६ करोड लाग्ने उप्रेतीले बताए । टर्किस एयरको यो ठूलो विमान ८ महिनामात्र उडेको थियो । त्रिभुवन विमानस्थलमा अवतरण क्रममा घाँसेमैदानमा धस्सिएर यसको दुर्घटना भएको थियो । त्यसपछि यसका काम लाग्ने इन्जिन झिकियो । अनि यसको बडी संग्रहालय बनाउन लागिएको हो ।

धनगढी अगाडि क्याप्टेन उप्रेतीले काठमाडौंमा भन्दा अगाडि सुदूरपश्चिमको धनगढीमा यस्तै म्युजियम सञ्चालनमा ल्याइसक्नुभएको छ । तीन वर्षदेखि सञ्चालनमा आएको यो म्युजियम धनगढी सहरको एक आकर्षणको रूपमा रहेको छ । 'एयरक्राफ्ट म्युजियम' नाम दिइएको यस संग्रहालयमा सुदूरपश्चिमका सम्पूर्ण सांस्कृतिक, प्राकृतिक तथा धार्मिक सम्पदाका दृश्यको अवलोकन गर्न सकिन्छ । बुडर छहरा, मैलौली भगवती, पहाडकी रानी डँडेलधुरा, शैलेश्वरी, उग्रतारा, त्रिपुरा सुन्दरी, वैद्यनाथ मन्दिर, कर्णाली पुललगायतका थुप्रै महत्वपूर्ण स्थान विशेष तथा मन्दिर र प्राकृतिक दृश्य यहाँ छन् । यसका साथै राइट ब्रदर्सको पालादेखिका दुई सयभन्दा बढी प्रकारका विमानका नमुनासमेत रहेको संग्रहालयकी कर्मचारी रुविना शाहीले बताउनुभयो ।

thumbnail_model-air-craft

संग्रहालयभित्र आराम गर्न, चियापान गर्नका लागि पनि ठाउँ छ । यो पनि काम नलाग्ने विमानको बडी प्रयोग गरेरै बनाइएको हो । यसलाई काठमाडौंबाट धनगढी पुर्‍याउन तीनवटा लरीलाई पाँच दिन लागेको थियो । को

हुनुहुन्छ वेद उप्रेती ?

वेद उप्रेती पेसाले पाइलट हुनुहुन्छ । उहाँ २०४० सालमा नेपाली सेनामा प्रवेश गर्नुभएको थियो । सेनाबाटै पाइलट अध्ययन गरी यही पेसा अपनाउनुभएका उहाँले १२ वर्ष सेनामा काम गर्नुभयो । त्यसपछि नेकोन एयर, भारतीय विमान सेवा किङ फिसर र डेकोन एयर हुँदै अहिले उहाँ इन्डोनेसियाको विङ्स एयरमा प्रशिक्षक पाइलटका रूपमा कार्यरत हुनुहुन्छ ।

डँडेलधुरा पुख्र्यौली घर भएका उप्रेतीको बाल्यकाल धनगढीमै बितेको थियो । पढाइमा तीक्ष्ण उहाँले उपसेनानीबाट सेनामा काम थाल्नुभएको थियो । आफ्नो भेगको पर्यटन विकासका लागि धनगढीमा म्युजियम सुरु गरेको उहाँले बताउनुभयो । यात्रा र फोटोग्राफीमा रुचि राख्नुहुने उप्रेतीले संग्रहालयका लागि आवश्यक तस्बिर आफैं खिच्नुभएको हो । उहाँले संसारका थुप्रै स्थानको भ्रमण गरिसक्नुभएको छ । त्यसैगरी उहाँले नेपालको प्रकृति, पर्यटन तथा हिमालयका बारेमा पुस्तक पनि लेखिसक्नुभएको छ । देशका लागि केही गर्ने उद्देश्यले विमान संग्रहालयको सिर्जनात्मक कार्य गरेको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.