इन्टरनेट प्रयोगकर्ता डेढ करोड नाघे
काठमाडौं : नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या डेढ करोडभन्दा बढी पुगेको छ । मोबाइलमा इन्टरनेट, यसको पहुँच विस्तार र प्रतिस्पर्धी कम्पनीका कारण छोटो समयमा इन्टरनेट प्रयोगकर्ताको संख्या उच्च बनेको हो ।नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट सुरु भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले हालसालै सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांकअनुसार विभिन्न सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या एक करोड ५३ लाख ८८ हजार पुगेको छ । यसमा विभिन्न इन्टरनेट सेवा प्रदायकको संख्या जम्मा एक लाख ९९ हजार भए पनि बाँकी एक करोड ५१ लाख प्रयोगकर्ता सबै मोबाइल डेटाका प्रयोगकर्ता हुन् ।
नेपालमा मोबाइलसँगै सुरु भएको मोबाइल डाटा सेवाको बढ्दो प्रयोग, सेवाको व्यापक कभरेज, प्रविधिको विकाससहितले इन्टरनेटको प्रयोग बढेको पाइन्छ । सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ ।
मोबाइल डाटाको बढ्दो प्रयोगकै कारण यसको प्रयोग गर्ने सेवाग्राहीको पहुँच ५८ प्रतिशत पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार मोबाइलबाट मात्रै इन्टरनेट चलाउने नेपालीको संख्या एक करोड ५१ लाख ८८ हजार पुगेको छ । यो पहुँचमा पनि फरकफरक सेवा प्रदायकको एउटै व्यक्ति सेवा लिएका छन्।
मोबाइलबाहेक इन्टरनेट सेवा प्रदायक (आईएसपी)मार्फत नै सेवा लिनेको संख्या भने जम्मा दुई लाख मात्रै छ । प्राधिकरणका अनुसार आईएसपीबाट लिएको सेवा एउटै घरका चार÷पाँच जनाले प्रयोग गर्न सक्छन् । परिवारका बीचमा सेयर गरेर चलाउने सकिने भएकाले पनि थोरै संख्यामा इन्टरनेटको पहुँच विस्तार भएको देखिए पनि सेवाको पहुँचको दायरा भने फराकिलो भइसकेको छ ।
मोबाइल इन्टरनेटको सेवा प्रदान गर्नेमा सबैभन्दा ठूलो बजार नेपाल टेलिकमकै छ । यसका ८२ लाख ६६ हजार उपभोगकर्ताले त इन्टरनेट नै प्रयोग गरेका छन् । यो कम्पनीले मोबाइलट डाटा, एडीएसएल, वाइम्याक्स, ईभडिीओसहितका सेवा छन् । सेवा प्रदाय धेरै भएकाले पनि यसको बजार हिस्सा ५३ दशमलव ७१ प्रतिशत छ । इन्टरनेटमा मोबाइल डाटामै प्रथमिकता दिएर आफ्नो बजार बढारहेको एनसेलको मोबाइल इन्टरेनटको हिस्सा ४३ दशमवल ८० प्रतिशत छ । यसको कुल प्रयोगकर्ता ६७ लाख ३९ हजार रहेको प्राधिकरणले जानकारी दिएको छ ।
पछिल्लो समय प्रविधिको प्रयोगसँगै इन्टरनेट दैनिक आवश्यकता भैसकेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार हरके काम मोबाइलबाटै हुन थालिसक्यो । मोबाइलमा प्रयोग हुने इन्टरनेको प्रयोगबाट नेपालकीको दैनिकी सहज पनि हुन थालेकाले यसको प्रयोग बढ्नु सामान्य भएको उहाँको बुझाइ छ ।
उहाँका अनुसार प्रविधिको प्रयोग गरेर इन्टरनेट सेवा लिने नेपालीले विभिन्न उपाय आत्मसाथ गर्न थालिसकेका छन् । मोबाइल एप्सको प्रयोग तथा समाजिक सञ्जालको प्रयोगले मोबाइल डाटाको माग बढिरहेको छ भने आईएसपीबाट सेवा लिएर घरपरिवारमा इन्टरनेट चलाउनेको जमात पनि उल्लेख्य मात्रा बढिरहेको छ । पछिल्लो समय सेवाप्रदायकले गुणस्तरीय सेवासहितको फोरजी सेवा दिन थालेकाले पनि मोबाइल डाटाका प्रयोगकर्ता बढाइरहेका छन् ।
दैनिक २० हजार डाटा प्रयोगकर्ता थपिँदै
नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या दैनिक उल्लेख्य रूपमा बढिरहेको छ । प्राधिकरणको तथ्यांकअनुसार दैनिक २० हजार मोबाइल इन्टरनेट प्रयोगकर्ता थपिरहेका छन् । प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एक वर्षको (पुस मसान्तसम्मको) तथ्यांकअनुसार वार्षिक इन्टरनेट प्रयोगकर्ताको औसत संख्या नै दैनिक ६ हजारको अनुपातमा छ ।
पछिल्लो समय नेपाल टेलिकमले पाएको फोरजी सेवाको अनुमतिसँग मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको देखिएको छ । यस्तो संख्या कुनै महिना धेरै र कुनै महिना थोरै हुने पनि प्राधिकरणको भनाइ छ । दूरसञ्चार सेवाप्रदायकले मोबाइलमा आधारित ग्लोबल प्याकेट मोबाइल सर्भिस (जीपीआरएस) मार्फत सहजै इन्टरनेट सेवा दिएको, थ्रीजीसँगै फोरजीसम्मको प्रविधि आत्मसाथ गरेकाले पनि इन्टरनेट प्रयोगकर्ता बढेको उल्लेख छ ।
इन्टरनेट सेवाबाटै वार्षिक १५ अर्ब
नेपालमा विभिन्न इन्टरनेट सेवाप्रदायक (आईएसपी) र दूरसञ्चार कम्पनीले दिएको डाटा प्रयोगबाट आम्दानी वार्षिक १५ अर्ब रुपैयाँ नाघेको छ । मोबाइलमा सामाजिक सञ्जालको प्रयोग गर्ने, इन्टरनेट चलाउनेदेखि विभिन्न अडियो तथा विभियोका लागि पनि मोबाइल इन्टरनेट प्रयोग हुन थालेकाले यो क्षेत्रको आम्दानी उल्लेख्य बढिरहेको प्राधिकरणको पछिल्लो प्रतिवेदनमा औंल्याइएको छ ।
प्राधिकरणको तथ्यांकअनुसार मोबाइल इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा एनसेलको छ । यसले पछिल्लो एक वर्षमा आठ अर्ब रुपैयाँ डाटा सेवाबाट आम्दानी गरेको छ । नेपाल टेलिकमले पनि पौने पाँच अर्ब रुपैयाँ डाटा सेवाबाट गतवर्ष आम्दानी गरेको देखिएको छ । विभिन्न इन्टरेनट सेवा प्रदायकको हिस्सा पनि वार्षिक करिब साढे दुई अर्ब छ । दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार सक्रिय सेवा दिने इन्टरनेट सेवा प्रदायकको संख्या दुई दर्जन छ ।
डाटा प्रयोगकर्ता
कम्पनी प्रयोगकर्ता (संख्यामा) आम्दानी (रुमा)
एनसेल ६७ लाख ३९ हजार ८ अर्ब ३ करोड
टेलिकम ८२ लाख ६६ हजार ४ अर्ब ७९ करोड
आईएसपी १ लाख ९९ हजार २ अर्ब २९ करोड
स्मार्ट टेलिकम १ लाख २० हजार २२ करोड १८ लाख
यूटीएल ६३ हजार ४ लाख ८७ हजार
जम्मा १५ अर्ब ३५ करोड स्रोत : नेपाल दूरसञ्चार प्राधिकरण ।