विषाक्त खानाका कारण २७ जना बिरामी
दमक: पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका-१० स्थित माइधारका २७ जना बिरामी परेका छन्।
स्थानीय नेत्र दाहालको घरमा भतेर खाएका एकैसाथ बिरामी परेका हुन्। माइधारका स्वास्थ्यकर्मी दीपक पौडेलले भतेर खाएकालाई लगातार बान्ता हुने, पखाला चल्ने र पेट दुख्ने समस्या देखिएको बताउनुभयो।
बिरामी हुनेहरुमा चार वर्षीय बालकदेखि ६० वर्षीय वृद्धसम्म छन्। हाल उनीहरुको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । केहीको माइधारका विभिन्न निजी क्लिनिकमा उपचार भइरहेको छ।
बिरामी पर्नेहरुमा आसिष लिम्बू, सोमप्रसाद राई, विजय राई, सोनु राई, एस्तर राई, अनिता श्रेष्ठ, धनबहादुर राई, सोममाया राई, विद्या भण्डारी, बन्दना लिम्बू, इशा कार्की, निशा कार्कीलगायत रहेका छन्।
भतेरमा गएकाहरुले पुलाउ, मासु र चिसो पेय पदार्थ खाएका थिए। आम्दा अस्पतालका डा आलोक कुमारका अनुसार बिरामीहरुको प्रारम्भिक परीक्षणबाट ‘फुट पोइजन’कै कारण स्वास्थ्यमा समस्या आएको देखिएको छ। रासस