जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

जर्मन राजदूत कार चढेर स्वदेशतर्फ

काठमाडौं :  विदेशी राजदूत हजारौं किलोमिटर कार चढेर आफ्नो मुलुक फर्कन लागेको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । नेपालमा तीन वर्ष सेवा गरेका जर्मन राजदूत कारमा स्वदेश फर्कने तयारी गरेका छन् ।

जर्मन राजदूत माथियस मायर तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कंदै हुनुहुन्छ । ११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजना रहेको उहाँले सुनाउनुभयो । नेपालमा कार्यकाल सकेपछि कार चढेर स्वदेश फर्कने सम्भवतः पहिलो राजदूत जर्मन राजदूत मायर हुनुहुनेछ ।

योजनाअनुसार शनिबार बिहान ४ बजे ज्ञानेश्वरस्थित जर्मन दूतावासबाट उहाँको कार यात्रा सुरु हुनेछ । दूतावास परिसरमा उहाँको यात्राका लागि मित्सुबिसी कार तयारी हालतमा राखिएको छ । एक जर्मन साथी र आफूले आलोपालो कार हाँक्ने उहाँले सुनाउनुभयो ।

काठमाडौंबाट सुरु हुने उहाँको यात्रा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेर एकरात बिताएपछि दोस्रो दिन महेन्द्रनगर पुग्नेछ । ‘नेपालका मन पर्ने स्थानमा लुम्बिनी पनि एक हो । धेरैपटक लुम्बिनी पुगेर बसेको छु । अर्को ठाउँ मुस्ताङ हो', उहाँले भन्नुभयो ।

महेन्द्रनगरमा एकरात बिताएर सोमबार भारत प्रवेश गर्ने तयारीमा राजदूत मायर हुनुहुन्छ । ‘लामो दूरीको यात्रा गर्ने मेरो सोख हो', राजदूत मायरले भन्नुभयो, ‘मेरो कार यात्राका लागि सबै तयारी भइसकेको छ । आशा छ, यात्रा रमाइलो हुनेछ ।' भारतपछि पाकिस्तानको बलुचिस्तान पुगेर रात बिताउने उहाँको योजना छ ।

पाकिस्तानमा उहाँलाई त्यहाँको सेनाले ‘एस्कर्ट' गर्नेछ । इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै ह्यामवर्ग, जर्मनीमा रहेको आफ्नो घर पुगेर राजदूत मायरको यात्रा टुंगिनेछ । ती मुलुक हुँदै कार यात्रा गर्न उहाँले भिसा लिइसक्नुभएको छ । अफ्रिकी मुलुक लिवियामा राजदूत हुँदा मायरले सहारा मरुभूमिको लामो यात्रा कारमै गर्नुभएको थियो । ‘लामो दूरीको कार यात्रा गर्नु मेरो एउटा सोख नै हो । विदेश सेवाको अन्त्यमा सबैभन्दा लामो कार यात्रा हुँदै छ', उहाँले उत्साहित हुँदै भन्नुभयो ।

जर्मन राजदूत माथियस मायरको कार यात्रा नेपाल, भारत, पाकिस्तान, इरान, टर्की, अर्मेनिया, ग्रिस, इटली, स्विजरल्यान्ड हुँदै जर्मनी पुगेर टुंगिने ।

राजदूत मायरले परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकारीलाई आफू कारमा स्वदेश फर्कन लागेको सुनाउँदा उनीहरू छक्क परेको अनुभव सुनाउनुभयो ।
‘कार चढेर स्वदेश फर्कने मेरो योजना सुनाउँदै गर्दा उहाँहरू छक्क पर्नुभयो', राजदूत मायरले भन्नुभयो । स्वदेश फर्कनु एक दिनअघि उहाँलाई परराष्ट्रले बिदाइ गर्दै छ ।

मायरले आफ्नै निवासमा बुधबार पत्रकारसँग नेपाल बसाइका अनुभव बाँड्दै हुनुहुन्थ्यो । नेपाल बसाइमा सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्यो भन्ने प्रश्नमा राजदूत मायरले भन्नुभयो, ‘दिनहुँ यहाँ हुने कार्यक्रममा सहभागी हुनुपर्ने । खानपिन नै नियन्त्रण गर्न सकिनँ । हेर्नुस् त मेरो पेट बढेर यति ठूलो भइसक्यो ।'

नेपालको दाल, भात, तरकारी र ममः सधैं सम्झिरहने उहाँले सुनाउनुभयो । नेपालीको अतिथि सत्कार गर्ने चलन, यहाँको विविधतायुक्त संस्कृतिले आफूलाई भित्रैदेखि छोएको उहाँले स्मरण गर्नुभयो । ३७ वर्षे विदेश सेवा मायरको नेपालबाटै पूरा हुँदै छ । ‘अवकाश लिए पनि म नेपाल आउनेछु । नेपाललाई सम्झिरहनेछु', उहाँले भन्नुभयो ।

नेपालको पुनर्निर्माणमा जर्मनीलगायत विदेश मुलुकले सहयोग गरे पनि पुनर्निर्माण प्रक्रियाले अपेक्षाकृत गति लिन नसकेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

तीनवर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्कने तयारीमा रहनुभएका जर्मन राजदूत माथियस मायर ११ हजार किलोमिटरभन्दा बढीको दूरी कारमा चढेर स्वदेश फर्कने योजनामा हुनुहुन्छ ।

‘हामीलगायत विदेशी मुलुकका जनताको करबाट आएको सहयोग नेपालले पुनर्निर्माणमा राम्रोसँग प्रयोग गर्न सक्नुपर्ने थियो । तर, यहाँका सरकारी एजेन्सीबाट पुनर्निर्माण सहयोग गर्नुपर्ने भनियो । जुन रकम छिटो-छरितो र राम्रोसँग उपयोग हुन सकिरहेको छैन', उहाँले भन्नुभयो ।

जर्मनी संघीयताको सफल अभ्यास गरिरहेको मुलुक रहेको बताउँदै नेपालमा पहिलो चरणको निर्वाचनमा जनताको उल्लेख्य सहभागितासहित सम्पन्न भएको र संघीयताको सफल कार्यान्वयन अघि बढेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

नेपालको संघीयता कार्यान्वयन, स्थानीय निकायमा बजेट वितरण, स्थानीय तहसम्म राज्यका स्रोत-साधनको पर्याप्ततालगायत विषय चुनौतीपूर्ण भए पनि संघीयताको अभ्यासका क्रममा नेपालले सिक्दै सहज कार्यान्वयन गर्दै जाने विश्वास उहाँको थियो ।

‘नेपालको संविधान कार्यान्वयन, स्थिरता र विकासका लागि स्थानीय, प्रान्तीय र संसदीय चुनाव महत्ववपूर्ण छन् । हामी पुरानो विकास साझेदार हुनुका नाताले यहाँको आर्थिक समृद्धि र स्थिरतामा सहयोग जारी राख्नेछौं' उहाँले भन्नुभयो ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.