२३ वर्ष पुरानो मुद्दामा निर्दोषलाई जेल

२३ वर्ष पुरानो मुद्दामा निर्दोषलाई जेल

बर्दिबास : महोत्तरीको महोत्तरी गाउँपालिकाका (साविकको महोत्तरी गाविस १) का ५२ बर्से ऐनुल राइन जेठ ८ गते खेतमा काम गर्दै हुनुहुन्थ्यो । मुठ्ठी छरेर मानो उब्जाउन धानको ब्याड लगाउन खेतमा काम गर्दै हुनुहुन्थ्यो । वैशाख-जेठको उखरमाउलो गर्मीमा उहाँ खेतमा काम गर्दा निकै थकित हुनुभएको थियो । एक्कासि खेतमै आफूसामु प्रहरी टोली टुप्लुक आइपुगेको देखेर उहाँ छक्क पर्नुभयो । उहाँलाई लाग्यो, कुनै कामले प्रहरी खेतबारीमा हिँडीरहेका होलान । तर प्रहरीले उहाँलाई दोषी रहेको भन्दै पक्राउ गर्न आएको बताएपछि उहाँ डराउनुभयो र आश्चर्यचकित पनि हुनुभयो।

भनिन्छ कहिलेकाहीं खाँदै नखाएको विष पनि लाग्छ । हो, त्यस्तै भयो ऐनुलको जीवनमा जेठ ८ गते । आफ्नै भाइ जैनुल राइनले गरेको अपराधमा दोषी ठहर गर्दै सजायका लागि अदालतबाट आएको आदेशका आधारमा प्रहरीले जैनुलका दाजु ऐनुललाई पक्राउ गर्‍यो । खेतमा काम गरिरहेका बेला पिपरा प्रहरी चौकीबाट आएको टोलीले ऐनुललाई अदालतको कैद भुक्तान र जरिवाना तिर्नु पर्ने भन्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी पुर्‍यायो ।

‘प्रहरीले खेतबाटै मलाई पक्रियो । हात खुट्टा हिलै थिए, धुन पनि दिएनन् । पक्राउ गरेर सिधै जिल्लामा ल्यायो । जिल्लाबाट अदालतमा बुझायो । सोहि दिन अदालतले मलाई केही नबुझी कारागार चलान गरिदियो', ऐनुलले भन्नुभयो, ‘म त तीनछक्क परें । मैले कुनै अपराध गरेको थिइनँ । प्रहरीले मेरो कुरो सुन्दै नसुनी अदालत लग्यो ।' प्रहरीसँग उहाँले आफूविरुद्ध त्यस्तो कुनै पनि मुद्दा नरहेको बिलौना गर्नुभयो, तर प्रहरीले कुरै नसुनी पक्राउ गरे । प्रहरीले आफ्नो कुनै कुरा नसुनेकोमा ऐनुलले आक्रोश व्यक्त गर्नुभयो ।

जिल्ला अदालत महोत्तरीबाट प्राप्त फरार अभियुक्तको सूची अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरी मातहतको पिपरा चौकीबाट गएको टोलीले जेठ ८ गते जैनुल राइनको साटो ऐनुल राइनलाई पक्राउ गरि बुझाएपछि अदालतले घटनाको मिशिल अध्ययन नै नगरि उहाँलाई कारागार चलान गरेको थियो ।

जिल्ला अदालत महोत्तरीको २०५१ साल जेठ १५ गतेको फैसला अनुसार साविकको महोत्तरी गाविस वडा नं. ८ बस्ने (हाल महोत्तरी गाउँपालिका) विष्णुदेव मण्डल धानुकलाई कुटपिट गरेको मुद्दामा दोषी ठहर गर्दै ऐनुलको भाइ जैनुल राइनलाई दुई हजार पाँच सय जरिवाना र एक महिना कैद सजाय फैसला गरेको थियो । सो व्यहोरा अदालतको मिशिलमा स्पष्ट उल्लेख रहे पनि अदालतले त्रुटिपूर्ण निर्णय गर्दै जैनुलको ठाउँमा ऐनुललाई नै जरिवाना तिराएर तोकिएको कैद सजायका लागि जलेश्वर कारागार चलान गरेको थियो ।

अदालतको फैसलापछि जैनुल फरार भए । अदालतको फैसला अनुसार दोषी ठहरिएका जैुनल एक वर्षदेखि अपहरण मुद्दामा सुनसरीको झुम्का कारागारमा कैदी जीवन बिताइरहेको पीडित ऐनुलले बताउनुभयो । अदालतले प्रहरीलाई पठाएको फरार अभियुक्तको सूची अनुसार जैनुलको ठाउँमा ऐनुल उल्लेख छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी दीपक पोखरेलले अदालतबाट प्राप्त सूचीमा रहेका ऐनुल राइनलाई पक्राउ गरेर अदालत पठाएको पुष्टि गर्नुभयो । २३ वर्ष अघिको मुद्दामा पक्राउ गरेर प्रहरीले अदालतमा उपस्थित गराएपछि अदालतले पनि उहाँलाई कैद भुक्तानका लागि कारागार चलान गर्नेे आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले भन्नुभयो, ‘सम्मानित अदालतले पठाएको नाम अनुसारको व्यक्ति पक्राउ गरेर अदालतमा उपस्थित गरायौं । अदालतले के गर्‍यो हामीलाई थाहा छैन । के गर्नु हामीले थुनेको होइन ।'

ऐनुलले आफूले कुनै कसुर नै नगरे पनि किन पक्राउ गरेको पटक पटक सोधे पनि प्रहरीले उहाँको कुरा नसुनेकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘मैले गर्दै नगरेको अपराधको सजाय स्वरुप कैदमा बस्नु पर्‍यो । मेरो मानहानी भयो, १५ दिन थुनियो । यसको क्षतिपूर्ति कसले दिन्छ ? ' भन्दै उहाँले आफ्नो पीडा सुनाउँदै भक्कानिँदै भन्नुभयो, ‘मेरो इज्जत र मानमर्यादा आज धुलोमा मिल्यो ।'

ऐनुलले आफ्नो नागरिकता अदालतमा बुझाएपछि मिशिल अनुसार उहाँ फरक व्यक्ति ठहर भएपछि सोमबार उहाँलाई कारागारमुक्त गरियो । त्यसपछि उहाँले पत्रकारसँग भेटेर आफू निर्दोष हुँदाहुँदै थुनिनु परेको पीडा सुनाउनुभयो । मानव अधिकार रक्षाको लागि आवाज उठाइदिन उहाँले मानवअधिकारकर्मीसँग पनि अनुरोध गर्नु भएको छ ।

प्रहरी र अदालतको लापरवाहीको कारण अनाहकमा निर्दोषलाई जरिवाना पनि तिर्नु परेको र १५ दिन सम्म कैदमा समेत वस्नु परेकोले क्षतिपुर्ति पाउनु पर्ने माग पिडित ऐनुलको रहेको छ । प्रहरी र अदालतको यस गतिविधिले आफनो सामाजिक मान प्रतिष्ठमा समेत ठेस पुगेकाले क्षतिपुर्ति पाउनु पर्ने माग पिडितको माग छ । महोत्तरीका मानवअधिकारकर्मी अजय कुमार साहले कानुनी रुपमा निदोर्ष मान्छेलाई थुन्नु मानवअधिकारको हन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पीडितको मानवअधिकार हन्न भएको छ । सम्बन्धीत निकायले क्षतिपूर्ती दिनु पर्छ ।'
समाचारको लागि फोटो पनि पठाएको छु ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.