कालीगण्डकी नदीमा हाम फालेका युवक अझै बेपत्ता

बागलुङ : प्रहरीले पक्राउ गर्न खोज्ने क्रममा कालीगण्डकी नदीमा हाम फालेका एक युवा अझै बेपत्ता छन् । पर्वतबाट बागलुङ तर्फ ट्याक्सीमा आउँदै गरेका बागलुङको काठेखोला गाउँपालिका-८ कादेशका १८ बर्षीय सुनिल पुन मंगलवार साँझदेखी नदीमा बेपत्ता भएका हुन् ।
प्रहरीले मालढुङ्गा चेकपोष्टमा पुग्दै गर्दा लागुपदार्थ दुव्र्यसनीमा सम्लग्न भएको आंशकामा सोधपुछ गर्न थाले पछि पुन ट्याक्सीबाट निक्लेर भागेका थिए । भाग्ने क्रममा प्रहरी र म्यादी प्रहरीले पछ्याए पछि आत्तिएर नदीमा हाम फालेका पुनको निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।
नदीमा हाम फाल्न बाध्य पारेको र हाम फालेपछि पनि उद्धार तथा खोजीका लागी प्रहरी प्रशासनले कुनै प्रयास र पहल नगरको भन्दै बेपत्ता पुनका आफन्त घटनाको बिरोधमा आन्दोलित भएका छन् । उनीहरुले अहिले बागलुङ बन्दको आव्हान गरेका छन् । आकस्मिक रुपमा बन्द आव्हान गरिए पछि बजार पसल बन्द हुन थालेका छन् भने विभिन्न स्थानमा जाने र बजार भित्रिने सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
बेपत्ता पुनको बिहीबार बिहानैदेखि खोजी प्रयास जारी राखिए पनि फेला पार्न नसकिएको प्रहरी नायव उपरिक्षक अनिल खड्काले बताउनुभयो । खोजी कार्यका लागि सशस्त्र प्रहरी बल (एपिएफ)को टोली र स्थानीय युवाहरुलाई समेत परिचालन गरिएको छ ।
जिल्ला सदरमुकामस्थित अमृत आदर्श उच्च माद्यमिक विद्यालयबाट यसै बर्ष एसइई परिक्षा दिनुभएका पुन असार पहिलो साताको नतिजाको पर्खाइमा हुनुहुन्थ्यो । ट्याक्सी चालक सहित तीन जना गाडीमा रहेकोमा अन्य दुई जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ बजारमा सवारी चालकको काम गर्दै आएका मकवानापुरका भिमसेन लामा र बानपा २ का दिपेन्द्र कार्कीलाई नियन्त्रणमा लिएको र अनुसन्धानका लागि राखिएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस !
