नेपालगन्जमै अड्किए यात्री

नेपालगन्ज : नेपालगन्जस्थित राँझाको विमानस्थल । विमानस्थलको मूलगेटदेखि नै राता-नीला ठूल्ठूला झोलाहरुको थुप्रो देखिन्छ । यात्रु भवनको काउन्टर हलभरि मानिसहरु खचाखच छन् । कोही बाहिर बसेर, ‘हरे शिब...' भजन गाइरहेका छन् । कोही बाहिर खुल्ला ठाउँमा ‘योगा' गरिरहेका छन् । कोही पेटीमै निदाएका छन् । कोही रुद्राक्ष माला गन्दै यताउता टहलिइरहेका छन् । केही दिनदेखि भारती तीर्थयात्रीहरुले खचाखच भइरहेको नेपालगन्ज विमानस्थलको दृश्य आजभोलि यस्तै छ ।
मानसरोबर यात्राका लागि आएका भारतीय तीर्थयात्रीहरु सातादेखि नेपालगन्जमै छन् । मौसममा आइरहने खराबीका कारण जहाज उड्न नसकेपछि उनीहरु यहीँ बस्न बाध्य भएका हुन् । कैलाश मानसरोबर हिन्दूहरुका लागि पवित्र धार्मिक स्थल हो । वर्षेनी यो सिजनमा लाखौं भारतीयहरु मानसरोबरका लागि तीर्थयात्रा जान्छन् ।
केही दिनदेखि मौसममा आइरहेको खराबी अनि उडानको समस्याका कारण उनीहरु पुग्नुपर्ने समयमा मानसरोबर पुग्न सकेका छैनन् । केही दिनअघि गोमा एयरको एउटा जहाज लुक्लामा दुर्घटना भएपछि तीन दिनसम्म गोमाले सबै उडान बन्द गरेको थियो । त्यसपछि दुई दिनअघि हुम्लाको सिमिकोट विमानस्थलमा स्थानीयले आन्दोलन गरे । त्यसपछि लगातार मौसममा खराबी आयो । त्यसैका कारण उडान हुन नसकेपछि भारतबाट आएका तीर्थालुहरु नेपालगन्जमै थुप्रिएका छन् ।
यात्रुहरुको चाप बढेपछि सबैजसो एयरलाइन्सहरुले हुम्लामा जान मिल्नेजति जहाज नेपालगन्ज विमानस्थलमै तयारी अवस्थामा राखेका छन् । तर, मौसमले साथ दिइरहेको छैन । मंगलबार बिहान केही उडान त भए । तर, सबै उडानहरु हुन सकेनन् । बुधबार पनि दिनभरि जसो हुम्लामा जहाज जान सकेन । गोमा, सीता, तारा, सिम्रिक एयरलाइन्सले आफ्ना सबैजसो जहाजहरु नेपालगन्ज विमानस्थलमै राखेका छन् । ‘मौसममा सुधार आउनासाथ धामधम उडान भर्ने तयारीमा छौँ' नागरिक उड्यन प्राधिकरणका नेपालगन्ज प्रमुख प्रतापबाबु तिवारीले भन्नुभयो ‘दैनिक करिब एक हजारभन्दा धेरै यात्रुहरुलाई हामीलाई व्यवस्थापन गर्न गाह्रो भइरहेको छ, त्यसैले मौसममा सुधार आउनासाथ उडान हुन्छ ।'
चीनको तातोपानी नाका भुकम्पपछि बन्द भएपछि नेपालगन्ज-सिमिकोट-हिल्सा हुँदै मानसरोबर जाने तीर्थयात्रीहरुको संख्या ह्वात्तै बढेको छ । यद्यपि यो रुटमा सधै यात्रुहरुको चाप उत्तिकै हुन्थ्यो तर, विगत तीन वर्षदेखि थेगिनसक्नु चाप बढेको नेपालगन्ज विमानस्थलले जनाएको छ । ‘मौसममा कतिबेला सुधार हुन्छ अनि उडान हुन्छ केही थाहा हुँदैन, कुरेरै बस्नुपर्छ' तिवारीले भन्नुभयो ‘त्यसैले पनि जहाज कुर्नकै लागि धेरै यात्रुहरुको भीड यहाँ जम्मा हुन्छ ।'
उडानहरु अनिश्चित भएपछि बिहानै ५ बजे उठेर विमानस्थल जाने र दिनभरि त्यही बसेर कुर्नु तीर्थयात्रीहरुको लागि दैनिकीजस्तै बनेको छ । ‘६ दिन भइसक्यो नेपालगन्ज बसेको, जहाज नै उड्दैन' दिल्लीबाट मानसरोबर यात्राका लागि आएका गोपाल चौधरी आफ्नै भाषामा भन्नुहुन्छ ‘बिहानै उठ्यो एयरपोर्ट आयो, उडान हुँदैन अनि फेरि रातिमा होटेल फर्किनेमात्रै काम भएको छ ।'
नियमित उडान नहुँदा यात्रुहरु थुप्रिन थालेपछि अहिले नेपालगन्जका होटेलहरु सबैजसो भरिएका छन् । यही बीचमा थपिने यात्रुहरुले ‘राम्रा' होटेलहरु नपाएपछि ‘काम चलाउ' होटेलमा समेत रात बिताउनुपर्ने बाध्यता छ । कतिपय ट्राभल एजेन्सीहरुले आफ्ना यात्रीहरुलाई कोहलपुर तथा वर्दियाको ठाकुरद्वारासम्म लगेर बसाएका छन् । अहिले नेपालगन्जमात्रै होइन, कोहलपुरका होटेलहरुसमेत सबै भरिएका छन् । कतिपय होटेलहरुले एउटै कोठामा चार-पाँचजनासम्म यात्रु राखिरहेका छन् । ‘बिहानै उठेर एयरपोर्ट आउँछौँ, जहाज उडिहाल्छ कि भनेर होटेलका कोठा पनि चेकआउट गर्नुपर्छ' भारतको मध्यप्रदेश इन्द्रोरबाट आएकी ज्योति गर्ग भन्नुहुन्छ ‘बिहानै चेकआउट भएपछि साँझ जाँदा होटेलको कोठा नै पाइन्न, फेरि सुत्नै समस्या हुन्छ ।'
धेरै दिन यहाँ बस्नुपर्ने बाध्यताले तीर्थयात्रीहरुलाई खर्चको समेत समस्या उस्तै छ । ‘नियमित उडान नहुँदा यात्रु बाहिरिन सकेका छैनन्, बुक भएको समयभन्दा पनि धेरै बस्नुपर्ने भएका कारण होटेलमा पनि म्यानेज गर्न गाह्रो छ' होटेल कल्पतरु नेपालगन्जका म्यानेजिङ डाइरेक्टर सरोज चन्दले भन्नुभयो ‘एक महिना अघिबाट होटेल बुक भएका हुन्छन् समयमा फ्लाइट नहुँदा यस्तो समस्या भएको हो ।' भारतबाट ट्राभल एजेन्सीमाफर्त आएका तीर्थयात्रीहरुले एकमुष्ठ रकम एजेन्सीलाई दिन्छन् । खर्चका लागि निश्चित रकमबाहेक धेरै रकम बोक्न पाइँदैन ।
रुट अनुसार कहाँ कति दिन बस्ने भन्ने आंकलन पहिला नै एजेन्सीले सुनाएको हुन्छ । त्यसैको आधारमा निश्तिक रकम बोकेर आएकाहरुको यहाँ धेरैदिन बस्नुपर्दा रकम अभावले सताउन थालेको छ । चार दिनदेखि एयरपोर्टमै दिन बिताइरहेकी शोभा भुतडा भन्नुहुन्छ ‘हामीले धेरै पैसा पनि ल्याउन पाइँदैन, यहाँ यतिधेरै दिन बस्नुपर्छ भन्ने नै सोचिएन, अब प्रकृतिले यस्तो गर्छ भन्ने के थाहा र ? ' उहाँका अनुसार अहिले भारतबाट आएका धेरै यात्रीहरुको खर्च रकम सकिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !
