पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित

पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित

रामपुर: मैदी खोलामा निर्माणाधीन पक्की पुल निर्माण नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। तीन वर्ष अगाडिदेखि काम सुरु गरिए पनि कामले तीव्र रुपमा गति लिन नसकेपछि स्थानीयवासी आक्रोशित बनेका हुन् ।

गजरकोट र साँखर जोड्ने यस मैदी खोलामा पुल निर्माणका लागि निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरी २०७१ साल जेठबाट पुल निर्माण कार्य सुरु गरेको हो। साढे ३७ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ रहेको मोटरेवल पुल १८ महिनामा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीले जिम्मा लिएर काम सुरु गरेको हो।

सडक डिभिजन कार्यालय पोखराको रु तीन करोडको लागतमा निर्माणाधीन यस मोटरेवल पुल २०७२ को मङ्सिरमै सम्पन्न गर्नुपर्ने योजना रहे पनि काममा ढिलासुस्तीका कारण पुनः २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने गरी म्याद थपिए पनि सो समय अवधिभित्र पुल निर्माण सम्पन्न हुन सकेन ।

पुनः म्याद थप गरी २०७३ माघभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाए पनि पुल निर्माणको काम भने कछुवाकै गतिमा रह्यो। विसं २०७४ जेठ मसान्तसम्म पुल निर्माण कार्य सम्पन्न गर्ने गरी पुनः सम्झौता गरी काम सञ्चालन गरिए पनि निर्माण कार्यले गति लिन सकेन। केही समय अगाडि खोलामा आएको वर्षासहितको पानीले पुल निर्माणका लागि खोलामा बनाइएको ड्याम फुटेर निर्माण कार्यमा ठूलो नोक्सान पुर्‍याएको छ ।

पुलको मुख्य ढलानको काम अन्तिम तयारीमा रहेको अवस्थामा पानीको सतह बढ्न गई ड्याम भत्किँदा ढलानका लागि बिच्छ्याइएका छड, काठ, पाइपलगायतका सबै सामग्री खोलाले बगाउँदा रु ६० लाख बराबरको क्षति हुन पुगेको निर्माण कम्पनी सन्तोषी नागार्जुन जेभी कन्स्ट्रक्सन प्रालिका ठेकेदार तेजप्रसाद बरालले जानकारी दिनुभयो।

ठेकेदार बराल पुलको ढलानका लागि सडक डिभिजन कार्यालयले समयमा नै डिजाइन नगर्दा काम लम्बिन पुगेको बताउनुहुन्छ । “फागुनको अन्तिममा मात्र आएर डिभिजन कार्यालयले सडकको डिजाइन छनोट गरेर पठाएपछि मात्र ढलानको काम अगाडि बढ्यो” – ठेकेदार बरालले भन्नुभयो ।

ढलानका लागि डन्डी बाँध्न एक महिना र सिलिङ गर्न १५ दिन गरी डेढ महिनाको समयावधिमा सबै काम सम्पन्न गरी ढलानको तयारीमा रहेका बेला एक्कासि ड्याम फुटेर काम सबै लथालिङ्ग हुन पुगेको उहाँ बताउनुहुन्छ ।

स्थानीयवासीले भने निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेका कारण काम समयमा नै सम्पन्न नभएको आरोप लगाएका छन् । यस क्षेत्रका स्थानीय बासिन्दा यस वर्षको वर्षायाममा पनि पुल निर्माण नहुने भएपछि आक्रोशित बनेका छन्।

ठेकेदार कम्पनीले ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान जस्तो पाराले काममा तदारुकता नदिँदा निर्माण कार्यले गति लिन नसकेको स्थानीय बासिन्दा कमलप्रसाद अधिकारी बताउनुहुन्छ । ठेकेदारले धेरै ठाउँका योजनाको जिम्मेवारी लिँदा काम समयमा नै सम्पन्न हुन नसकेको स्थानीयवासीको आरोप छ ।

यस खोलामा समयमा नै पक्की पुल निर्माण नहँुदा बर्सेनि यहाँका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले ठूलो समस्या भोग्दै आएका छन् । पुलकै कारण बर्खायाम ९असार, साउन र भदौ० मा रामपुरदेखि, भीमाद, दमौली, नारायणघाट, पोखरा, काठमाडौँसम्मका सवारी साधन बन्द हुने गर्छ ।

कालीगण्डकी नदीको दोभानमा निर्माणाधीन यस पुलको आसपासमा नदीमा पानीको बहाव बढेर आउँदा छोटो तथा लामो दूरीका सवारी साधन बीचमै रोकिन पुग्दा यात्रुले निकै सास्ती भोग्नु परिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.