राजपालाई हस्ताक्षर बुझाउन तीन दिनको समय

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लगायत छुटेका दललाई स्थानीय तह निर्वाचनमा उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर बुझाउन तीन दिनको समय तोकेको छ।
संसदले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेकै भोलीपल्ट आयोगले पार्टीका उम्मेदवारलाई टिकट दिने आधिकारिक व्यक्तिको हस्ताक्षर बुझाउन दलहरुलाई जेठ २९ गतेसम्मको समय निर्धारण गरेको हो।
‘ऐनको नयाँ व्यवस्था अनुसार आयोगले तीन दिनको समय तोकेर हस्ताक्षर बुझाउन दलहरुलाई आग्रह गरेको छ,’ आयोग प्रवक्ता सुर्यप्रसाद शर्माले अन्नपूर्णसँग भन्नुभयो।
राजपालाई चुनावको तयारीका लागि थप समय दिन भन्दै स्थानीय तह निर्वाचन ऐनमा विहीवार पहिलो संशोधन गरिएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार उक्त ऐन प्रमाणीकरण गर्नु भए लगत्तै आयोगले हस्ताक्षर बुझाउन थप समय निर्धारण गरेको हो।
उम्मेदवारलाई टिकट दिने पार्टीका नेताको हस्ताक्षर चुनाव हुनु १५ दिन अगावै आयोगमा बुझाउनुपर्ने ऐनको व्यवस्था हटाएर आयोगले तोकेको समयभित्र बुझाए हुने व्यवस्था संशोधनमार्फत गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !
