' ओबिओआरको सफलता चीनमै निर्भर रहन्छ '

' ओबिओआरको सफलता चीनमै निर्भर रहन्छ '

काठमाडौ  : भारतको जवाहरलाल नेहरु विश्वबिद्यालयका प्राध्यापक चिन्तामणि महापात्रले चीनले छिमेकी मुलुक लगायत अन्य देशसँग छलफल र परामर्श नगरी एकतर्फी रुपमा ‘वान बेल्ट वान रोड (ओबिओआर)' परियोजना अघि बढाएकाले यस परियोजना सफल हुने या नहुनेमा आशंका उब्जिएको बताउनुभएको छ ।

साउथ एसियन डाइलग अन इकोलोजिकल डेमोक्रेसिले शुक्रबार काठमाडौमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा प्राध्याक महापात्राले भन्नुभयो ‘यो चिनियाँ महत्वाकांक्षी परियोजना हो । ओबिओआरको सफलता चीनले आर्थिक प्रगति कायम राख्न सक्ला या नसक्ला त्यसमा भर पर्छ । चिनियाँ अर्थतन्त्र मजबुत भए यो परियोजना सफल हुन्छ । अन्यथा यसले नयाँ संकट पैदा गर्छ ।'

प्राध्यापक महापात्राले नेपाल जस्ता अति कम विकसित मुलुकमा भौतिक पुर्वाधार विकास कम भएकाले उनीहरु चीनको ओबिओआर परियोजनाबाट ऋण सहयोग लिएर पूर्वाधार निर्माण गर्न उत्साहित भएको बताउनुभयो । ‘तर ओबिओआर अन्र्तगत बन्ने परियोजनामा चिनियाँ सर्तहरु कस्ता हुन्छन् भन्ने यी मुलुकले ख्याल गर्नुपर्छ' उहाँले भन्नुभयो ‘यो रणनीतिक परियोजनाले आर्थिक समृद्दि मात्रै ल्याउँछ भनेर सोच्नु गलत हो ।'

अन्र्तराष्ट्रिय मामिलाका प्राध्यापक रहनुभएका महापात्राले पाकिस्तान नियन्त्रित कस्मिरको गिल्गिट बाल्टिस्टान बाट ओबिओआर परियोजना अन्र्तगतको चीन—पाकिस्तान इकोनोमिक करिडोर निर्माण गरिएको र यसले भारतको सार्वभौमसत्तामाथि आँच आएको बताउंदै भन्नुभयो ‘यही कारण भारत ओबिओआरमा सहभागि नभएको हो । चीनले आफ्नो स्वार्थ पूर्ति गर्न र मुलुकमा जम्मा भएको अथाह पुँजी विश्वभर लगानी गरेर आफ्नो प्रभाव बढाउन यो परियोजना ल्याएको हो ।'

महापात्रले चिनियाँ ओबिओआर अन्र्तगत ऋण लिएर भौतिक पूर्वाधार बनाएका मुलुकहरु ऋण तिर्न नसकेर अप्ठ्यारो अवस्थामा पर्न सक्ने खतरा औंल्याउनुभयो । चीनले आफ्नो सामारिक र रणनीतिक स्वार्थ पूर्तिका लागि ओबिओआर परियोजना अघि सारेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वराजदूत हिरन्यलाल श्रेष्ठले भारतले चीनको ओबिओआर परियोजनाको बिरोध भन्दा पनि चीन र पाकिस्तानबीचको संबन्ध विकास भएकोप्रति बिरोध गरेको हुनुपर्ने बताउनुभयो । ‘पाकिस्तान बिरोधी भावना भारतमा ज्यादा देखिन्छ । चीनको ओबिओआर परियोजनामा भन्दा पनि पाकिस्तानसँगको भारतको आक्रोश बढी हो कि भन्ने लाग्छ' उहाँले भन्नुभयो । उहाँले चीन र भारत नेपालका निकट मित्र मुलुक भएकाले दुवैले गर्ने विकासबाट नेपालले लाभ लिनुपर्ने धारणा राख्नुभयो ।

पूर्वराजदूत डा. दिनेश भट्टराईले कनेक्टिभीटीका परियोजनाबाट नेपालले लाभ लिनसक्ने संभावना भएपनि ओबिओआरको रणनीतिक पक्ष पनि हेर्नुपर्ने बताउनुभयो । ‘चीनले नेपालमा एकतर्फी निर्यात हुने तर हामीले उता निर्यात गर्न नसक्ने जस्तो एकतर्फी काम हुनुहुँदैन । यो दुईतर्फी र दुवैका लागि हितकर हुने गरी ओबिओआरमा सहकार्य हुनुपर्छ' उहाँले भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.