फेरि ब्युँतियो हनुमन्ते खोलाको बहाव फर्काउने प्रयास

फेरि ब्युँतियो हनुमन्ते खोलाको बहाव फर्काउने प्रयास

भक्तपुर : स्थानीय निकायमा जनप्रतिनिधि आएलगत्तै जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिकाको सीमा हनुमन्ते खोलाको बहाव फर्काउने प्रयास पनि ब्युँतिएको छ ।

केही भूमाफियाहरुले शुक्रबार राती पाँचवटा डोजर प्रयोग गरी हनुमन्ते खोलाको प्राकृतिक बहाव फर्काउने प्रयास गरेका थिए । स्थानीय वासिन्दाको विरोधले रोकिएको विगत चार वर्षदेखिको खोला फर्काउने प्रयास शुक्रबार राती पुनः व्युँतिएको हो ।

साविक मध्यपुर थिमी नपा १५ र बालकोट गाविस ३ र ९ को सिमाना हनुमन्ते खोलाको बहाव फर्काउन बालकोटतिरका केही भूमाफियाहरु सक्रिय भएका हुन् ।

भूमाफियाहरुले प्राकृतिक रुपमा बग्दै आएको हनुमन्ते खोलालाई मध्यपुर थिमीतर्फ फर्काउन खोजेपछि शनिबार बिहान पनि सो क्षेत्र तनावग्रस्त बनेको थियो । स्थानीय बासिन्दाले अनधिकृत रुपमा खोला फर्काउन लागेको विरोधमा भक्तपुर–काठमाडौं ६ लेन सडक बन्दसमेत गरेका थिए ।

उनीहरुले शनिबार बिहान मध्यपुर थिमी नपाको चार दोबाटोस्थित ६ लेन सडक अवरुद्ध गर्दै खोला फर्काउने कार्यको विरोध जनाएका हुन् । स्थानीयको विरोध भएपछि प्रहरी प्रशासनले खोला फर्काउने कार्यसँगै आन्दोलनकारीहरुलाई हटाएर ६ लेन सडक खुलाएको थियो । अनधिकृत रुपमा खोला फर्काउने कार्य भएपछि शनिबार नै मध्यपुर थिमी नगरपालिकाको आकस्मिक बोर्ड बैठक बसेको छ ।

बैठकले खोला फर्काउने कार्यको दीर्घकालीन समाधान गर्न सूर्यविनायक नगरपालिकासँग संयुक्त बैठक बस्ने निर्णय गरेको छ ।
त्यस्तै खोला फर्काएको नगर क्षेत्रको डीलमा ढुंगाको मेसिनरी पर्खाल लगाउने निर्णय भएको मध्यपुर थिमी नपाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

अनधिकृत रुपमा अतिक्रमण गरिएको मध्यपुर थिमी नगर क्षेत्रको खोलामा ढुंगे पर्खाल निर्माण गर्न नपाको २६ औं नगरपरिषद्ले नै बजेट विनियोजन गरिसकिएको थियो ।

तर हालसम्म पर्खाल बनाउने कार्य नहुँदा शुक्रबार भूमाफियाहरुले पुनः खोला फर्काउने प्रयास गरेको स्थानीय बासिन्दा बताउँछन् ।

सर्वदलीय निर्णय पालना नहुँदाको परिणाम !
चार वर्षअघि नै भूमाफियाहरुले उक्त खोला फर्काउने प्रयास गरेका थिए । तर स्थानीय प्रहरी प्रशासन, राजनीतिक दल र स्थानीय वासिन्दाको विरोधmले त्यसबेला उक्त कार्य थामथुम भएको थियो । त्यस वर्ष खोला फर्काउने र फर्काउन नदिने दुई पक्षबीच भिडन्तसमेत भएको थियो । उक्त भिडन्त रोक्न गएका सुरक्षाकर्मीसमेत घाइते भएपछि खोला फर्काउने कार्य रोकिएको थियो ।

त्यसको एकवर्षपछि पुनः फेरि खोला फर्काउनेहरु क्रियाशील भएर खोला फर्काउने कार्य गरेका थिए । त्यसवर्ष पनि स्थानीय प्रहरी प्रशासन, राजनीतिक दल र नागरिक समाजको प्रयासमा उक्त कार्य रोकिएको थियो ।

यसरी वर्षदिन नहुँदै खोला फर्काउने प्रयासले निरन्तरता पाउन थालेपछि २०७१ कार्तिकमा मध्यपुर थिमी नपामा बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकले नापी कार्यालय भक्तपुरको प्राविधिक सहयोग लिई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सबै राजनैतिक दलको सहयोगमा खोला फर्काउने कार्यलाई सदाको लागि टुंग्याउने निर्णय गरेको थियो ।

तर उक्त सर्वदलीय बैठकको निर्णय कार्यान्वयनमा नआउँदा शुक्रबार पुनः भूमाफियाहरुले खोला फर्काउने प्रयास गरे । त्यसबेला भएको सर्वदलीय बैठकमा मध्यपुर थिमी नगरपालिकाका नवनिर्वाचित प्रमुख मदनसुन्दर श्रेष्ठले समेत हस्ताक्षर गर्नुभएको थियो । उक्त सर्वदलीय बैठकमा श्रेष्ठ नेकपा एमाले मध्यपुर नगर संयोजकको रुपमा सहभागी हुनुभएको थियो । त्यस्तै उक्त बैठकमा नेपाली कांग्रेसका तत्कालीन मध्यपुर थिमि नगर सभापति अष्टकुमार कवेले समेत हस्ताक्षर गर्नुभएको थियो । उहाँ गएको स्थानीय तहको निर्वाचनमा मदनसुन्दर श्रेष्ठसँग मेयर पदमा पराजित हुनुभएको थियो ।

त्यस्तै एकीकृत माओवादीका कृष्णलाल गोजा श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका केदार खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका भुवन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पञ्चकृष्ण श्रेष्ठ, नेकपा–माओवादीका बालकृष्ण श्रेष्ठ, नेकपा मालेका चन्द्रगोपाल श्रेष्ठलगायतले उक्त निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

तर आफूहरुले गरेको निर्णय कार्यान्वयन भए नभएकोतर्फ हेक्का नराख्दा एउटै समस्या पटकपटक उब्जिएको छ । आफूहरुको निर्णय तीन वर्षभित्र पनि कार्यान्वयन नहुँदा दलका नेताहरु के गरेर बसेका छन् भनी शनिबार खाृला फर्काउने कार्यविरुद्ध उत्रिएका स्थानीय बासिन्दाहरुले टिप्पणी गरेका थिए ।

उनीहरुले हिजो दलको तर्फबाट खोला फर्काउने कार्यलाई दीर्घकालीन रुपमा समाधान गर्ने निर्णयमा हस्ताक्षर गर्नुहुने मदनसुन्दर अहिले मध्यपुर थिमी नगरपालिकाको प्रमुख भएपछि कार्यान्वयन हुनेमा समेत आशंका व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.