९० वर्षीय वृद्धमाथि हतियार प्रहार गरी हत्या

नवलपरासी : अन्धाधुन्ध खुर्पा प्रहारका कारण नवलपरासी मध्यविन्दु नगरपालिका –१४ द्वारीका गाउँका ९० वर्षीय इन्द्रबहादुर पछाईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएकी छिन् ।
स्थानीय होमबहादुर दर्लामीले शनिवार साँझ धारिलो खुर्पा लिएर गाउँलेमाथि जाई लागेका थिए । जसका कारण रातिसम्म गाउँको जनजीवन आतंकित बनेको थियो ।
सुस्त मनस्थितिका दर्लामीले खुर्पा लिएर दौडिन थालेपछि गाउँलेहरु भागाभाग भएका थिए । वृद्धावस्थाका कारण भाग्न नसकेका इन्द्रबहादुर माथि दलार्मीले खुर्पा प्रहार गरेका थिए । खुर्पा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीका नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो।
इन्द्रबहादुरमाथि जाई लागेपछि दर्लामीले खुर्पा नचाउँदै अगाडी बढेका थिए । सो क्रममा घर बाहिर बसेकी ७४ बर्षीया तिलसरा सोमै मगरमाथि दलार्मीले पुन ः खुर्पा प्रहार गरेका थिए । घाइते भएकी तिलसराको कावासोतीमा उपचारका लागि ल्याइएको नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । घटनास्थल राजमार्गको अरुणखोलाबाट तीन घण्टा पैदल दुरीमा छ । वर्षाका कारण प्रहरी टोली राति अबेर मात्र पुगेको थियो ।
अन्धाधुन्ध खुर्पा प्रहार गरेर आतंक मच्चाएपछि गाउँलेले नियन्त्रणमा लिन खोज्दा दर्लामी भागेका थिए । जंगलमा भागेका अभियुक्तको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । राति भएका कारण सबै नाकामा प्रहरी परिचालन गरेर निगरानी बढाइएको थापाले बताउनुभयो ।
यसैबीच जग्गा विवादका कारण कावासोती–१२ पिठौलीमा एक व्यक्ति खुर्पा प्रहारबाट घाईते भएका छन् । प्रहरीका अनुसार जग्गा विवादका कारण स्थानीय मायादेवी महतोले प्रेमबहादुर गुरौमाथि धारिलो खुर्पा प्रहार गरेकी हुन् । टाउकोमा गम्भीर चोट लागेका गुरौंको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
