थापागाउँ र गोदावरीमा ‘भुवनेश्वरी यन्त्र' राखिने

थापागाउँ र गोदावरीमा ‘भुवनेश्वरी यन्त्र' राखिने

काठमाडौं :  ‘भुवनेश्वरी यन्त्र' राखेपछि भूकम्प आउँदैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तान्त्रिक शक्तिबारे जानकार यस्तो तान्त्रिक यन्त्र, मन्त्र र तन्त्रले सिद्ध गरेर राखे भूकम्प नआउनेमा विश्वस्त छन् । भारतका आधा दर्जन प्रमुख ठाउँमा प्रयोगमा आइसकेको भुवनेश्वरी यन्त्र अब राजधानीको थापागाउँ र गोदावरीमा राखिँदैछ । यन्त्र स्थापनापछि आसपासका १५ देखि २० किलोमिटर आसपाससम्म भूकम्प नआउने विश्वास गरिएको छ ।

अखिल भारतीय स्वामी सामाथ्र्य गुरुपीठ त्रयंबकेश्वरबाट आएको टोलीले थापागाउँ सुधार समितिसँगको समन्वयमा थापागाउँस्थित राधाकृष्ण मन्दिर र गोदावरीस्थित फुल्चोकी माई मन्दिरमा भुवनेश्वरी यन्त्र राख्न लागेको हो । गुपीठको विश्वभर ६ हजार केन्द्र रहेको र नेपालको राजधानीमा पनि एउटा केन्द्र खोल्न लागिएको जानकारी दिँदै श्री स्वामी समर्थ सेवा केन्द्र नेपालका संयोजक एवं पूर्वमहासेनानी अभिराज आचार्यले सबै यथार्थ सुझबुझसाथ मन्त्र र तन्त्र सिद्ध गरेर विधिपूर्वक भुवनेश्वरी यन्त्र राख्न लागिएको जानकारी दिनुभयो ।

यन्त्र स्थापनाका लागि राधाकृष्ण मन्दिरमा बिहानैदेखि पूजा भइरहेको छ भने गोदावरीमा भोलिदेखि हुनेछ । यन्त्र स्थापनाका लागि गणेश यज्ञ, रुद्री र वैदिक पारायणको काम भइरहेको हो ।

गुरुपीठअन्तर्गत ज्योतिष, वास्तु, आयुर्वेद, कृषि, बालसंस्कार, युवा प्रवद्र्धन, कानुन अभिमुखीकरण, महिला सशक्तीकरण, वेद संशोधन तथा यज्ञ, युवा स्वरोजगारलगायत ११ वटा विभाग छन् । यन्त्र स्थापनाको काम वेद संशोधन तथा यज्ञ विभागअन्तर्गत भइरहेको हो । उहाँले शुक्रबार अन्नपूर्णसँग भन्नुभयो, ‘वैदिक र तान्त्रिक विधिबाट ज्योतिष र विज्ञान समेतका आधारमा यन्त्र स्थापना गरेपछि प्राणप्रतिष्ठा हुनेछ, यसपछि दैनिक पूजाआजा हुन्छ भने वर्षमा एकपटक जागरण गर्ने काम हुनेछ ।'

काठमाडौं आएका गुरुपीठका देश तथा विदेश प्रमुख पराग झाले मन्त्र र यन्त्र सिद्ध गरी भुवनेश्वरी यन्त्रलाई विराजमान गरेपछि भूकम्प नआउने दाबी गर्नुभयो । ‘पशुमाथि जब क्रूर ढंगले अत्याचार हुन्छ र हत्याहरू हुन्छन्, अझ गौहत्या हुन्छ तब भूकम्प आउँछ', उहाँले भन्नुभयो, ‘भारतको उडिसामा भुवनेश्वरी माताको मन्दिर छ, माताको यन्त्रमा नियमित पूजा हुन्छ, यसमा धेरै देवीदेवताको मन्त्रोच्चारण पनि गरिन्छ । यसरी विराजमाग गराएर विधिपूर्वक काम गर्दा भूकम्प आउँदैन ।'


अखिल भारतीय स्वामी सामाथ्र्य गुरुपीठ त्रयंबकेश्वरबाट आएको टोलीले थापागाउँ सुधार समितिसँगको समन्वयमा थापागाउँस्थित राधाकृष्ण मन्दिर र गोदावरीस्थित फुल्चोकी माई मन्दिरमा भुवनेश्वरी यन्त्र राख्न लागेको हो ।

उहाँले भूकम्प कुनै कारणले आइहाले पनि मानव र पशु कसैको पनि क्षति नहुने दाबी गर्नुभयो । उहाँका अनुसार भारतको गुजरातको भूज, मध्यप्रदेश, जम्बू, बैंङलोर र देहरादूनमा यस्तो भूवनेश्वरी यन्त्र राखिएको छ । उहाँले थप्नुभयो, ‘भुवनेश्वरी यन्त्र राखिएको एक महिनापछि जम्बू आसपास क्षेत्रमा भूकम्प आयो तर जम्बूमा आएन ।' तर, यन्त्र स्थापना गर्दा सबै विधिविधान गर्नु र मिल्नुपर्ने हुन्छ । भारतीय गुरु मौली आन्नासाहेब मोरेले गरेको तान्त्रिक विधिबाट गरे भूकम्प नआउने उहाँको भनाइ छ । गुरुको निधन भइसकेको छ ।

गोदावरीमा १ महिनाअघि यज्ञ गरिसकिएको छ । थापागाउँ सुधार समितिका अध्यक्ष दिपक थापाका अनुसार, फूलचोकी माइमा एक महिनाअघि यज्ञ, बालसंस्कार, ज्योतिष र वास्तुको सेवा १५ सयभन्दा बढीलाई प्रदान गरिएको छ भने बिहीबारमात्रै सोही ठाउँमा चण्डी र गणेश यज्ञ गरिएको छ । उहाँले भन्नुभयो, ‘शनिबार गोदावरी र थापागाउँमा भुवनेश्वरी यन्त्र स्थापना हुँदै छ ।'

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले आफूलाई विश्वास नलाग्ने बताउनुभयो । सम्पदा उत्खनन गर्दा आजसम्म कुनै कहीँ-कतै त्यस्तो यन्त्र फेला नपरेको बरु निर्माणमा गुणस्तरीयता खोज्नु सही हुने तर्क उहाँले गर्नुभयो । तान्त्रिक विषयमा दक्खल राख्ने नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति सहप्राध्यापक विदुर पौडेलले भुवनेश्वरी तन्त्रबारे संस्कृत र अन्य भाषामा पनि कृति प्रकाशन भएको र तिनमा लेखिएअनुसार सम्पूर्ण विधिविधानले निरन्तर लामो साधनाका साथ मन्त्र र तन्त्र सिद्ध हुनेगरी काम गरे संभव हुने जानकारी दिनुभयो ।

थापागाउँ र गोदावरीमा स्थापना गर्न लागिएको सन्दर्भ कति गहन हो, सोबारे आफू अनभिज्ञ भएको बताउँदै थप्नुभयो, ‘युद्धमा तन्त्र र मन्त्र सिद्ध हुँदा पर्शुरामले गणेशको दाँत भाँचेको सबैले थाहा पाएकै कुरो हो । तान्त्रिक शक्तिले मरेको मान्छे पनि बचाउन सकिन्छ भन्नेमा ममा एक इन्च पनि शंका छैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.