पेलेर चुनाव गरिए देशका लागि घातक : महतो

विराटनगर : राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ मा गर्ने निर्णय गरेर सरकारले मुलुकलाई अकल्पनीय दुर्घटनातर्फ लैजान खोजेको आरोप लगाउनु भएको छ । चुनावका नाममा मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने काम सरकारले गरिरहेको उहाँको आरोप छ ।
विराटनगरमा आइतबार राजपाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले भन्नुभयो, 'चुनाव लोकतन्त्रलाई बलियो बनाउने आधार हो । तर जुन संविधानको विरोध भइरहेको छ त्यही संविधानलाई टेकेर चुनाव गर्न खोज्नु दुरनीयत हो । जनताका लागि बन्न नसकेको संविधानका आधारमा निर्वाचन गर्न खोज्नु भनेको मुलुकलाई झन जटिलतातर्फ लैजानु हो ।'
विवादित संविधान संशोधनका सवालमा उठाइएका मुद्धा र आवाजलाई दवाउन सरकारले चुनावको सहारा लिएको महतोको आरोप थियो । 'संविधान संशोधन विना चुनाव गरिन्छ भने मुलुक संकटको भुमरीमा फस्छ,' उहाँले भन्नुभयो, 'सरकारलाई राजपाको माग सम्बोधन गरेर मात्र चुनाव गराउन आग्रह गरिरहेका छौं ।' चुनावका नाममा देशलाई वर्वाद गर्न नहुने बताउँदै उहाँले मधेस आन्दोलनमा उठाइएका सवाललाई सम्वोधन गरेर मात्र चुनाव गर्नु उपयुक्त हुने दावी गर्नुभयो ।
जनसंख्याको आधारमा मुलुकको संरचना सुधार गरेर निर्वाचन नभए राजपाले असहयोग गर्ने महतोको भनाइ छ । 'राजपाको सहभागिता विनाको चुनावलाई जनताले स्वीकार गर्न सक्दैनन्,' उहाँले भन्नुभयो, 'माग पूरा नगरिकन चुनावलाई अगाडि बढाइन्छ भने आन्दोलनको आँधीबेहरी ल्याउनेछौं ।' मधेसमा अधिकार प्राप्तिको आन्दोलन चलिरहेका बेला त्यो आन्दोलनको सम्मान नगरिकन चुनावलाई आगोमा घिउ थप्ने माध्यम बनाइएको भन्दै महतोले आक्रोश व्यक्त गर्नुभयो ।
२२ वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा मुलुक द्वन्द्वमा फसेको बताउँदै उहाँले भन्नुभयो, 'फेरी देउवा जी प्रधानमन्त्री हुनुहुन्छ । मुलुकलाई अर्को द्वन्द्वमा फसाउने कोसिस नहोस भन्ने हाम्रो सुझाव हो ।' तत्कालीन माओवादीले ल्याएका मुद्धाको सुनुवाई नहुँदा मुलुक त्यतिबेला द्वन्द्वको सिकार हुनु परेको उहाँको भनाइ छ । 'हाम्रो पनि मागको सम्बोधन भएन भने मुलुकमा अर्को द्वन्द्व निम्तने निश्चित छ,' महतोले भन्नुभयो, 'हाम्रो पनि चाहना अर्को पटक मुलुक द्वन्द्वमा नफसोस भन्ने नै हो ।'
मधेसीले उठाएका मागको सम्बोधन नगरिकन चुनाव गर्न खोजेर सरकार नै द्वन्द्व निम्त्याउने खेलमा लागिरहेको उहाँको आरोप छ । बल प्रयोग गरेर चुनाव गर्छौ भन्ने भ्रममा नपर्न सरकारलाई आग्रह गर्दै महतोले भन्नुभयो, 'मुलुकलाई गृहयुद्धमा धेकेल्न त्यो भन्दा खतरनाक कुरा अरु कुनै हुनै सक्दैन ।' उहाँले आफूहरुका माग र चुनावका सवालमा सरकारसँग आइतबार पुःन वार्ता गरिने र वार्ताबाट पनि कुनै निस्कर्ष निस्कन नसकेसाँझ आन्दोलनको घोषणा गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस !
