वातावरण जोगाउन नयाँ सोच
हाम्रो विद्यालय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमै पर्छ । विद्यार्थी साथीहरू कहिलेकाहीँ घुम्न र बस्न भनेर टाढा जंगलमा जान्छन् । यसो गर्दा उनीहरूको ज्यानलाई खतरा हुन सक्छ । हाम्रो विद्यालयमा ठूलो ठाउँ खाली नै रहेकाले हामी त्यहाँ एउटा सानो बगैंचा र पार्क बनाउन चाहन्छौं । कञ्चनपुरस्थित लक्ष्मी सेकेन्डरी स्कुलमा कक्षा ९ मा पढ्ने सपना नाग्रीको योजना हो यो । लक्ष्मी बाल क्लबकी अध्यक्ष रहेकी सपनाले आफ्ना साथीहरूसँग मिलेर बनाउने पार्कको वरिपरि लिपटिसको रूख लगाइनेछ ।
पार्कमा फूलका बिरुवाका साथै टिफिन खान बस्ने शीतल चौतारी, साना भाइबहिनीलाई खेल्नका लागि खेलकुदका सामग्री आदि पनि राखिनेछ । यो कामको सुरुवात स्वरूपमा प्रत्येक विद्यार्थीबाट ५० रुपैयाँ उठाएर एउटा बिरुवा सबैले रोप्ने र आफूले रोपेका रूखलाई स्याहार्ने जिम्मा उसैलाई दिने । यसरी रूख हुर्किएपछि यसलाई बेचेर आएको आम्दानीले फेरि समाज सेवा र मठमन्दिर बनाउने उनको सोच छ । दोलखास्थित अमर माध्यमिक विद्यालयको लालीगुराँस प्रकृति बाल क्लबकी एलिना कार्की शौचालयमा प्रयोग भएको पानीलाई पुनः प्रयोग गरेर जडीबुटी खेती गर्न चाहन्छिन् ।
गाउँका मानिस बिरामी भए उपचार गराउन धेरै टाढा जानुपर्ने भएकाले आफूले उत्पादन गरेर बेचेपछि आएको कमाइले आफ्नो बाल क्लबको गतिविधिलाई सञ्चालन गर्ने विचार उनको छ । विश्व वातावरण दिवसको दिन पारेर सुरु भएको चौथो राष्ट्रिय बाल क्लब सम्मेलनमा सपना र एलिनाजस्तै धेरैले आफूले बालअधिकार, बालमैत्री विद्यालय, बालमैत्री स्थानीय सुशासन, स्वास्थ्य तथा सरसफाइ, पर्यावरण र दिगो विकासका विषयमा छलफल गरेर भविष्यमा आफूले गर्न चाहेको कामको योजना प्रस्तुत गरे ।
यही क्रममा जाजरकोटस्थित भगवती आधारभूत विद्यालयअन्तर्गतको भगवती बाल क्लबका अध्यक्ष प्रेमबहादुर शाहीले आफ्नो विद्यालयमा एउटा पुस्तकालय स्थापना गर्ने इच्छा देखाए । उनी आफूले बनाउने पुस्तकालयमा विश्वको नक्सा, एसिया महादेशको नक्सा, किताब राख्ने र्याक, कक्षा ६, ७, ८ लाई हुने शब्दकोश, प्रावि र निमाविलाई हुने अंग्रेजी व्याकरण र सामान्य ज्ञानका पुस्तक, बालकविता, बालकथा र बालगीतका पुस्तकहरू होस् भन्ने चाहन्छन् ।
जाजरकोटकै अर्को विद्यालय नेपाल राष्ट्रिय बेसिक स्कुलका प्रसिद्ध चन्द अबदेखि कक्षाकोठामा ढुंगामा बसेर पढ्न नपरोस् भन्ने चाहन्छन् । यही कारणले उनको योजना २४ जोडा बेन्च र डेस्क बनाउने छ । यसको लागि उनी आफ्नो बाल क्लब नेपाल राष्ट्रिय बाल क्लबमार्फत सामुदायिक वनसँग पनि सहयोग माग्ने भएका छन् । यी विद्यार्थीले देखेका सपना साकार पारी उनीहरूको योजनालाई सफल बनाउन वातावरण संरक्षण शिविर (एक्का) ले उत्कृष्ट सात योजनालाई पुरस्कृत गरेको छ ।
पुरस्कृत योजनाले आफ्नो काम सुरु गर्नका लागि २५ हजार रुपैयाँ नगदसमेत प्राप्त गरेका छन् । प्राप्त रकमबाट आफ्नो विद्यालयको वातावरणलाई हरियालीमय बनाउने सोच छ ललितपुरको किटिनी सेकेन्डरी स्कुलकी सविना श्रेष्ठको । हरेक विद्यार्थीलाई आफ्नो जन्मदिनको अवसरमा एउटा रूख रोप्न लगाउने मात्रै होइन, सोही रकमले विद्यालय र समूदायका किशोरीमाझ पुगेर सुरक्षित महिनावारीका बारेमा चेतना पनि दिने उनले बताइन् । तीनदिने राष्ट्रिय सम्मेलनमा सहभागी विद्यार्थीमात्रै होइन शिक्षक प्रतिनिधिमध्येका सरिता घिमिरे र रुद्रप्रसाद संग्रौलाले आफूहरूले बालमैत्री वातावरण निर्माण गर्दै वातावरण संरक्षणमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
एक्काका अध्यक्ष प्रचेतकुमार श्रेष्ठले सहभागीले आफूले सिकेका कुरालाई विस्तृत रूपमा छलफल गरी आआफ्नो ठाउँमा लगेर कार्यान्वयन गर्न सुझाव दिनुभयो । त्यसैगरी कार्यकारी निर्देशक योगेन्द्र चित्रकारले विभिन्न प्रकृति क्लबको सोच र योजनालाई सहज बनाउन शुरुवाती रकम दिइए तापनि बाँकी क्लबका योजनालाई पनि हेरेर सहयोग गरिने बताउनुभयो । १३ बुँदे घोषणापत्र जारी गर्दै सकिएको सम्मेलनमा विभिन्न १४ जिल्लाका ६५ वटा विद्यालयका एक सय तीनजना भाइबहिनीले सहभागिता जनाएका थिए ।
राम्रा योजनाका लागि पुरस्कृत विद्यालय योजना
धुलाबारी से.स्कुल, झापा बाख्रापालन
नेपाल राष्ट्रिय बेसिक स्कुल, जाजरकोट कक्षामा फर्निचर
विद्याधिश्वरी मावि, ललितपुर कफी नर्सरी
लक्ष्मी से.स्कुल, कञ्चनपुर इको गार्डेन
अमर उमावि, दोलखा विद्यालय वातावरण सुधार
किटिनी उमावि, ललितपुर हरियालीमय वातावरण
भगवती बेसिक स्कुल, जाजरकोट पुस्तकालय निर्माण